भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

नागरिक र नेपाली विशिष्ठताको गणतन्त्र

नागरिक र नेपाली विशिष्ठताको गणतन्त्र image

विश्वभर कोरोना भाइरस रोगसँग जोडदार संघर्ष गरिरहेका आम नागरिक समूदाय सहित समग्र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७७ सालको हार्दिक मङ्गगलमय शुभकामना । जनताका छोराछोरीहरु शासन सत्ताको उच्च तहको पँहुचमा पुगेमा आम नागरिकहरुको हितमा विशेष ध्यान दिन सक्लान र समाजको तल्लो तहमा पारिएकाहरुले आफ्नो पहिचान सहित राज्यमा विशेष भूमिका खेल्न सक्ने छन भन्ने अभिलाष सहित दुर दराजका नागरिकहरुले आफ्ना चर्के फुटेका हातबाट जनताका प्रतिनिधिहरुको चुनावमा भोट खसाएका थिए ।

यिनका जाति, वर्ण र समूदायका नागरिकहरुलाई आफ्ना प्रतिनिधि भनेर निर्वाचन पश्चात खुशी पनि नभएका कहाँ थिए र ? नौलो संघीय गणतान्त्रिक राज्य व्यवस्थाको अभ्यास भएकोले नेपाली नागरिकहरुले विविधखाले करहरु राज्यलाई तिर्नुपर्ने स्थिति बन्यो ।  नेपाली नागरिकहरुले करको दायरालाई व्यापक रुपमा अवलम्वन गरिरहनु पर्ने भएकोले हरेक पेशा र व्यवसायमा संलग्नहरुले राज्यलाई विभिन्न करहरु तिरिरहनु परेको अवस्था देशमा विद्यमान छ ।

वि.सं. २०७६ सालको पुष महिना (डिसेम्बर, २०१९ सन्) मा मध्य चीनको वुहानबाट विश्वमा फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) बाट यो आलेख तयारपार्दा सम्म विश्वभरमा करीव १ लाख ६० हजार ८ सय १८ मानिसको मृत्यु भईसक्दा नेपालमा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, वि.सं.२०७७ को पूवाद्र्धमा । राज्यले २०७६ चैत्र १० गतेदेखि लागु गरेको देशबन्द राख्ने कार्य (लकडाउन) तेस्रो पटक लम्बिएर २०७७ सालको बैशाख १५ गतेसम्मका लागि जारी गरिएको छ ।

”हाल आएर नागरिकहरुले कडा सास्ती र बन्दको पीडा भोग्नु परिरहेको अवस्था विद्यमान छ । यस आलेखमा जनताको व्यापक समूहलाई चुनावताका ललिपप र असीमित आश्वासन बाँडेर भोट संकलन गर्न तल्लीन राजनीतिक दल र तिनका कार्यकर्ताहरुमा राजनीति नागरिकले आफ्नो योग्यता र क्षमताले निस्वार्थ गर्ने जनताको सेवा हो भन्ने तथ्यको अभावको कारण देश र जनताले विविध संकटसँग जुध्नु परिरहेको छ । नेपाल र नेपालीको वृहत हित शासन सत्तामा विदेशीपूँजीका दलाल, उद्योगपति तथा देशघातीहरु रहेसम्म हुने छैन, जबसम्म उच्च नैतिक आदर्श भएका नेपाली जनताका असल सन्तानहरु देशको शासनसत्तामा पुग्ने छैनन्, तबसम्म देशमा विद्यमान विविध प्रकारका शोषणको अन्त्य समेत हुने छैन भन्ने तथ्यलाई स्पष्ट गरिएको छ ।”

यसमा, जनहित र राज्यको सेवा प्रवाह, जिम्मेवार नेतृत्व, पारदर्शी वितरण प्रणाली, बौद्धिक समूदायको भूमिका र प्रविधिमैत्री समाजका विविध पक्षमा उल्लेख गरिएको छ ।

जनहित र राज्यको सेवा प्रवाह
सेवागर्ने स्थलमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुको अभाव भएपछि र राज्यले नागरिकहरुको जिउधनको सुरक्षाका लागि खास पहल गर्न नसक्दा नेपालका विभिन्न जिल्लामा गएर काम गर्ने कामदारहरु तथा विदेशबाट नेपालमा आउने नागरिकहरुको विचल्ली भएका खबरहरुले संचार माध्यमहरुमा छाएको छ ।

”नेपाली नागरिकहरुले देशका विभिन्न स्थानहरुमा भोगेका सास्तीहरु तथा नेपाल सरकारका आम सञ्चार माध्यमहरुमा आएका खबरहरुको विश्लेषण गर्ने हो भने अचेल यो देशमा जिम्मेवार निकाय तथा सरकारको प्रभावकारी कार्यसम्पादनको खट्किंदो अभावलाई पुष्टी गरिरहेको छ ।”

सिन्धुपाल्चोकबाट पाँचदिनको पैदलयात्रा गरी नवलपरासी पुगेका श्रमिकहरुले भने, “गरीबको आफ्नो श्रमबाहेक कोही नहुने रहेछ, खुट्टामा डामबस्ने गरी हिंडिरहँदा पनि सरकारले वास्ता गरेन । यिनिहरु भन्दा त राजाको शासन कयौं गुणा जनमुखी रहेछ, चुनावमा हिसाब किताब गरौंला ।” त्यस्तै साझा खबरका अनुसार कतार तथा मध्य एशियाका देशहरुमा कामदारको रुपमा रहेका नेपालीहरुले भने, “हामीसँग खाने पैसा पनि छैन, उपचार गर्नका लागि यहाँको स्थानीयहरुले विदेशी नागरिकहरुलाई मतलब पनि गर्दैनन । हामीलाई उद्धार गरी नेपाल लैजानका लागि दवाव दिन सबैले पहल गरिदिनु पर्यो ।

दुताबासमा फोन गर्दा फोन उठाउने कार्य समेत त्यहाँका कर्मचारीहरुले गर्दैनन ।”दोलखा, सिन्धुपाल्चोक, म्याग्दी र नवलपरासीमा निर्माणका क्षेत्रमा कार्यरत दैलेख, कालिकोट र अछाम लगायतका स्थानका नाागरिकहरुले भने, “हामी राज्यलाई कर तिर्छौ र राज्यका हरेक नीति नियमहरुको अनुसरण पनि गर्दछौं । तर राज्यले हामीलाई गैह्र नागरिकको भुमिकामा राख्यो र हामीप्रति सौतेनी आमाको व्यवहार देखायो ।

”हुनेखानका लागि सरकार छ, प्रशासन छ तर कमजोर व्यक्ति तथा नागरिकहरुका लागि भने यहाँ न सरकार छ न जिम्मेवार अभिभावकको भूमिका खेल्ने निकाय । उल्लिखित दृष्टान्तहरुलाई मनन गर्ने हो भने नेपालको राजनीति, सरकारको निर्माण र सञ्चालन तथा निर्देशन र कार्यपद्दतिमा विशिष्ट कमीकमजोरीहरु रहेको स्पष्ट देखिन्छ ।”

हरेक देश र जनताको उत्थान तथा पतन त्यस देशमा रहेका नेतृत्व तहका व्यक्तिहरुको उच्च मनोवल तथा विचारवानरुपमा काम गर्ने शैलीमा निर्भर रहने गर्दछ । नैतिकता विनाको समाज र नेतृत्वले नागरिकहरुको हितमा खासै काम गर्न सक्दैन । देश र जनताको नाउँमा राजनीति गर्ने व्यक्तिहरुको राजनीतिलाई अवसर प्राप्त गर्ने श्रेणीको रुपमा बुझ्ने दृष्टिकोणका कारण नेपालमा विद्यमान राजनीतिक प्रणालीले व्यापक जनताको हित गर्न नसकेको हो । देशका शासकहरु गैह्र जिम्मेवार बनेपछि जनताको हित ओझेल पर्नु स्वाभाविक नै हुन्छ ।

जिम्मेवार नेतृत्व

देशको उन्नति तथा प्रगतिका लागि राज्यको नेतृत्व वर्ग सदैव चलाख तथा चनाखो रहनु पर्दछ । जनतासँग समन्वय तथा सहकार्य गर्न नसक्ने नेतृत्व वर्ग कहिल्यै पनि सफल भएको इतिहास छैन । नेपालमा कोरोनाको प्रभावका कारण सावधानीका रुपमा एसइई र कक्षा ११ र १२ का परीक्षार्थीहरुको तत्काल स्थगन गरिएको थियो ।

”देशलाई बन्द गरी आम नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्दा घरबाहिर मात्र नजाने भन्ने सुचना दिने तर आवश्यक सचेतना सम्बन्धी क्रियाकलापमा चुपचाप रहने राजनीतिक दल र तिनका नेतृत्व तहको दुरदर्शिता माथि नै प्रश्न चिन्ह उठेको छ । जनताको हितमा कार्य गर्ने हरेक राजनीतिक दल र तिनका कार्यकर्ताहरुले बास्तवमा जनतालाई संकट परेको अवस्थामाजनताको घर दैलोमा जानु पर्ने हो ।”

तर वास्तविकता भने अत्यन्तै विपरित रहेको छ । जनताको गाह्रो फारोमा साथ दिनु पर्ने राजनीतिक दल तथा तिनका कार्यकर्ताहरुले लकडाउन भन्दै चुपचाप रहनु नितान्त लज्जास्पद विषय हो भन्नु पर्छ, किनकी आदेशले मात्र हाम्रो जस्तो पुरातन समाजमा केही हुने छैन । कसले के भन्यो भन्नु भन्दा पनि के ग¥यो भन्नेकुराले अर्थ राख्ने गर्दछ ।

पारदर्शी वितरण प्रणाली

नेपालमा वि.सं. २०७२ सालको बैशाख १२ गते गएको महा विनाशकारी भूकम्पले नेपाली जनतामा राष्ट्रिय एकताको वेजोड संयोग गराइदिएको छ । संकटका बेला एकजुट बन्ने र एकताकासाथ काम गर्नेपद्दतिको विकास नेपालीहरुमा हरेक संकटले गराउने गर्दछ ।तर कतिपय व्यक्तिहरुले संकटलाई उपयुक्त अवसरको रुपमा लिने पनि गरेको पाईन्छ । यसले गर्दा देशको राजनीतिमा नाम कमाएका व्यक्ति समेतलाई बदनाम गराउने एक सजिलो वातावरण बन्न पुग्यो ।

नेपाली नागरिकहरु कोरोनाको त्रासमा तडपिरहँदा यस पटक पनि राहत वितरण सम्बन्धमा विभिन्न खाले समाचारहरु सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित भैरहेका छन । वास्तवमा ग्रामीण अर्थतन्त्रमा कोरोनाको प्रभाव न्यून हुँदा पनि राहतको आवश्यकता भने हालसम्म कसैलाई छैन । तर लामो समयसम्म देशबन्द राख्ने हो भने राहतको आवश्यकता प्रत्येक नागरिकहरुलाई हुने छ ।

”राहत समस्यामा परेका नागरिकहरुलाई केही समय कठिनाईबाट छुट्कारा पाउनका लागि गरिने सानो सहयोग हो । त्यसैले समस्यामा परेका र तुलनात्मक रुपमा अति कठिनाईका साथ गुजारा गरिरहेका नागरिकहरुका लागि राहत वितरण गरिनु पर्दछ ।”

राहतका नाउँमा एकाध व्यक्ति वा समूदायमात्र मोटाउने प्रपञ्च भएमा जनकपुर र काठमाडौंको बुढानीलकण्ठ नगरपालिका लगायतका स्थानमा भएका समस्याहरु सडकमा छताछुल्ल हुने छन र सामाजिक द्वन्द्वको विजारोपणको एक माध्यम राहत वितरण हुने देखिन्छ ।

गरिखान सक्ने र स्रोत साधनको व्यवस्थापन गर्न सक्ने नागरिकहरुले राहतमा ¥याल चुहाउने मनसुवा राख्नु अत्यन्तै तुच्छ हुने छ र कसैको जोगाएको सामान्य शाख समेत गुम्न सक्ने खतरा पनि त्यत्तिकै छ । अतः प्राकृतिक न्यायका आधारमा पारदर्शी रुपमा स्वाथ्य उपचारको व्यवस्थापन सहित राहतको वितरण गर्नु आजको नेपाली समाजको प्रमुख आवश्यकता हो ।

बौद्धिक समूदायको भूमिका

समाजको रुपान्तरण बौद्धिक समूदायको सक्रियतामा निर्भर रहन्छ । समाजका सचेत नागरिक भएकोले प्रत्येक सदस्यको कर्तव्य आफू रहेको समाजमा चेतना फैलाउने हो । नागरिकहरुमा कुनै घटनाप्रति स्पष्ट दृष्टिकोणको विकास गराउनेमा समेत बौद्धिक समूदायको अहंम भूमिका रहेको हुन्छ । पुरातन चिन्तन र रुढीग्रस्त समाजमा उन्नत चिन्तन र असल सामाजिक चालचलनको विकास गराउने कार्यमा उल्लेखनीय भूमिका बौद्धिक समूदायले निभाउने गर्दछ ।

”समाजलाई यथास्थितिबाट रुपान्तरण गरी उत्पादनमुलक बनाउनका लागि सचेत अगुवाको भूमिका समेत बौद्धिक समूदायले खेल्ने गर्छन ।”

समाज विज्ञान र चिन्तनका बीचको तादात्म्यताको पहल गरी मानिसको दृष्टिकोण, चिन्तन र व्यवहारमा रुपान्तरण गराउने सकारात्मक कार्यहरुको पहल गर्ने र गराउने काम बौद्धिक समूदायले गर्ने भएकोले हरेक घटनालाई समय सापेक्ष रुपमा आलोचनात्मक चेत सहित व्याख्या र विश्लेषण गर्ने कार्य बौद्धिक समूदायको जिम्मेवारीमा रहेको हुन्छ ।

समाजको राजनीतिक शक्तिमा आएका व्यक्ति तथा समूहको गुणगानहरुमा मात्र अभ्यस्त रहने बुद्धिजीवीहरु भन्दा आलोचनात्मक चेतले समाजमा सक्रिय रहने नागरिकहरुको भुमिका मूल्यवान रहेको हुन्छ । त्यसैले, समाज रुपान्तरणमा बुद्धीजीवि समूदायको भुमिका अपरिहार्य हुने गर्दछ । सचेत नागरिकको भूमिका वास्तवमा सचेत रहनु पर्दछ ।

प्रविधिमैत्री समाज

समाज विभिन्न चिन्तन र व्यवहार भएका नागरिकहरुको समष्टी रुप हो । प्रविधिको उपागमहरुको जानकारी समाजलाई गराउने,कठिनाईबाट समाजलाई कसरी सहज रुपान्तरण गराउने भन्ने कुरा विज्ञान र प्रविधिले सहज बनाउने गरेको हुन्छ । विश्वमा भैरहेका विभिन्न प्रयोग तथा आविष्कारहरुको सामाजिक जीवनमा कस्तो प्रभाव रहन्छ भन्ने सम्बन्धमा विहंगम दृष्टिकोण राख्ने नागरिकहरुको क्षमताको अभिवृद्धि समेत प्रविधिले गराउँछ ।

‘प्रविधि र मानव जीवनबीचको सुमधुर सम्बन्धलाई जीवनोपयोगी बनाउने कार्यमा समेत विज्ञान र प्रविधिको उल्लेखनीय भूमिका रहन्छ । नागरिकहरुका हरेक क्रियाकलापहरुमा प्रविधिको संयोजन भएको खण्डमा मानिसको जीवन एकदमै सहज तथा कठिनाईमुक्त हुन्छ ।’

नागरिक समाजकाविविध क्षमतामा रहेका सबै नागरिकहरुको अथक प्रयास तथा लगानीले सामाजिक रुपान्तरणको आधार तयार गरिरहेका हुन्छन । जवाफदेही सरकार, उत्तरदायी नेतृत्व र पारदर्शी राजनीतिक दलहरु नभएसम्म कुनै पनि समाजको उचित विकास हुन सक्दैन ।

राष्ट्र विकासको वृहत योजना बनाएर र देशबासीहरुले खुल्ला दिलले योगदान गर्ने वातावरणको सृजना गराउँदै समाजका सचेत र गुणस्तरीय जनशक्तिहरुलाई योग्यता र क्षमताको उपयोग गराउने उत्प्रेरणा दिन सकेमा नेपालमा नेपालीहरुको जीवन अत्यन्तै सहज बनाउन सकिन्छ । सबै नागरिकहरुलाई उत्पादनशील कार्यमा सहभागि गराउन सकिन्छ । प्रविधिमैत्री समाजको नारा दलहरुका चुनाबी घोषणापत्रहरुमा मात्र सीमित रहनु हुँदैन । यसले जनताको जीवनपद्दतिमा रुपान्तरण गराउन भूमिका खेल्नु पर्दछ ।

Drkrp

लेखक:डा. कृपाराम विश्वकर्मा

निष्कर्ष

जनताको व्यापक समूहलाई चुनावताका ललिपप र असीमित आश्वासन बाँडेर भोट संकलन गर्न तल्लीन राजनीतिक दल र तिनका कार्यकर्ताहरुमा राजनीति नागरिकले आफ्नो योग्यता र क्षमताले निस्वार्थ गर्ने जनताको सेवा हो भन्ने तथ्यको अभावको कारण देश र जनताले विविध संकटसँग जुध्नु परिरहेको छ ।

”नेपाल र नेपालीको वृहत हित शासन सत्तामा विदेशीपूँजीका दलाल, उद्योगपति तथा देशघातीहरु रहेसम्म हुने छैन, जबसम्म उच्च नैतिक आदर्श भएका नेपाली जनताका असल सन्तानहरु देशको शासनसत्तामा पुग्ने छैनन्, तबसम्म देशमा विद्यमान विविध प्रकारका शोषणको अन्त्य समेत हुने छैन ।”

सर्वोच्च अदालतले नै सरकारलाई कार्यशैली परिवर्तन गर्न बारम्बार आदेश दिनेकार्यलाई सँस्कारको रुपमा विकास नगरौं । नेपाली विशिष्ठताको गणतन्त्रमा नागरिकहरुको हालत यस्तै हुन्छ भन्ने कुरा प्रमाणित गराउन जिम्मेवार निकाय तल्लीन नबनौं ।

”जनताको विचल्ली हुँदा सरकार मुक दर्शक बन्नु किमार्थ उचित होइन । नागरिकहरुका लागि राज्यले संकटमा नै हो अभिभावकीय भूमिका खेल्ने । कोरोना भाइरस रोगसँग नेपाल सरकारको कार्यशैली हाँसोको मसला बन्नु हुँदैन र नागरिकहरुको सुरक्षालाई प्राथमिकता दिन सरकार चुक्नु हुँदैन ।”

जिम्मेवार बनौं र कोरोना भाइरस (कोभिड १९) मुक्त संसार बनाउन यसविरुद्ध सशक्त कार्यपद्दतिको अवलम्बन गरौं ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda