भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘युद्ध हतियारले मात्रै होइन, मानसिक तयारीले पनि जित्न सकिन्छ’ भारतसंन नझुकाैं

‘युद्ध हतियारले मात्रै होइन, मानसिक तयारीले पनि जित्न सकिन्छ’ भारतसंन नझुकाैं

‘देशलाई अर्गेलो भएको एक नेपाली युवा, देश छोडी विदेशीएको छ, सत्ताको भत्ता खाएर मात्तिएकाहरुले बेलैमा सोचुन् वाई वाई नेपाल’…. यो मार्मिक वाक्यांश वोलेर जन्मभूमि नेपाल छोडेर श्रम बेच्न विदेश लागेका पूर्व जनमुक्ति सेना नेपाल पाँचौं डिभिजन रोल्पाका प्लाटुन कमाण्डर अर्जुन घर्तिमगरले त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट विदाई हुदा बोलेको कुरा हो । उनले यो वाक्यांश सामाजिक संजालमा पनि पोष्ट गरेका छन् । समाजवादी नेपाल बनाउने सपना सजाएका उनी अन्तत शान्तिप्रक्रिया पछि पार्टी सत्तामा भएकै बेला पेट पाल्नकै लागि खाडी पुगेका छन् । विदाई हुनेवेला आँखाभरी आँशुचुहाएर वाई वाई नेपाल भन्दा उनका आफन्त मात्रै रोएनन्, विमानस्थल नजिक उभिएका नेपालीका गहभरी आँशुले भरिएका थिए । उनै अर्जुन घर्तिसंग कैलाश खबर डट कमका रिर्पोटरले कुराकानी गरेका छन् : सम्पादक

जीवन के हो जस्तो लाग्छ ?
जीवन परिवर्तित समयको रथ हो जस्तो लाग्छ । किन भने समय सापेक्ष सबै भारीहरु बोक्नु पर्ने भएकाले जीवन संघर्षको एउटा आयाम पनि हो। मानिसहरु भन्छन्, जीवन संघर्ष हो । साथसाथै जीवन प्रगती र दुर्गतिको योगफल पनि हो भन्ने लाग्छ।

सार्थक जीवन जीउन विदेश नै ताक्नु पर्ने वाध्यता कि रहर ?
घरपरिवार, समाज र देश भन्दा टाढा रहेर जिउने जीवन कुनैपनि हालतमा सार्थक हुन सक्दैन । इमानदारीका साथ आफ्नो परिश्रममा बाच्नेहरुका लागि यो रहर होइन बाध्यताको विषय हो। उर्जाशील युवाहरु सामान्य जीवन धान्नका लागि विदेशीनु यो जस्तो दुर्भाग्य नेपालका लागि के हुन स्कछ ? नेपालमा मौलाएको दलाल पुँजीवाद नै यसको मुख्य कारक तत्व हो । दलाल पुँजीवादले पैसा नभएपछि बाच्नै नसक्ने परिस्थिति सिर्जना गरिदिएको छ तर स्वदेशकै पैसा कमाउने आधार तयार गरिदिएको छैन ।

हुनत दलाल पुँजीवादको मुख्य विशेषता नै आफ्ना नागरिकको श्रम विदेशीलाई सस्तो मुल्यमा बेचेर नाफा कमाउने र विलासी जीवन बिताउने हो। आज देशका ६० लाख भन्दा बढी युवायुवती रोजिरोटीका लागि ज्यानको सौदा गरेर विदेशीएका छन् । यो सबै बाध्यता नै हो । आफ्नै देशमा बसेर सहज जीवन जिउने रहर कसलाई हुदैन र । श्रम बेचेर पैसा कमाउने अनि खलात भएर नेपाल फर्कदा वृद्धले कसरी सार्थक जीवन जिउला ? नेपाल सरकारले यस विषयमा सोच्न जरुरी छ ।

जनयुद्व लड्दा र अहिले प्रवासी जीवन जीउदाका अनुभवलाई कसरी समेट्नु हुन्छ ?

हिजो जनयुद्ध लड्दा पवित्र मन र उच्च स्वाभिमानका साथ जनता र देशकै बारे अधिकतम सोचिन्थ्यो । आज एउटा मजदुर भएर विदेशी भूमीमा रहँदा देशको माया पहिले भन्दा अहिले अझ बढी लाग्छ । तथापि पेटका लागि सार्थ परिवारको पालन पोषणका लागि पनि उत्तिकै ध्यान दिनुपर्ने बाध्यताले विदेशीनु पर्यो । यो बाध्यता हरेक नेपाली सामु आउनेवाला छ । हिजो जनवाद, समाजवाद हुदै साम्यवादी समाज निर्माणको लागि युद्ध, आन्दोलन भए ।

त्यसको सिपाही भएर कर्तव्य पूरा गर्दा जति खुसी थिए आज परिवारको चुलो बाल्न र हातमुख जोड्न प्रवासमा अर्काको गुलामी बन्दा त्यतिनै दुःखी छु । के गर्नु हाम्रै बुई चढेर सत्ताका मालिक बन्न पुगेकाहरुले नारायण गोपालले गीतमा छाति माथि ढुंगा राखि हाँस्नु पर्याछ भने जस्तै परिस्थिति बनाइदिएका छन्। देश र जनताका खाँतिर युद्ध लड्दा स्वाभिमानले जति छाति चौडा भएको थियो । आज अर्काको भूमिका पसिना र रगत बगाँउदा आजभोलि मुटु त्यतिकै खुम्चिएको महशुस हुन्छ।

पढ्ने र रमाउने उमेरमा बन्दुक समाउनु भयो अहिले आएर विदेशतीर लाग्दा अरू युवाले के पाठ सिक्ने र यो देशको यस्तो अवस्था आउनुमा दोष कस्को देख्नु हुन्छ ?

हो, एकदमै जायज प्रश्न सोध्नु भयो। कमरेड प्रचण्डको नेतृत्वमा जनयुद्ध चलिरहदा वर्तमान शिक्षा प्रणालीलाई बुर्जुवा भनिन्थ्यो । यो शिक्षा हासिल गरेर काम छैन, भोलि सत्ता कब्जा गरेर जनवादी शिक्षा लागू गरिन्छ, जनयुद्धमा कसले कति योगदान पुर्‍याउछ त्यहीँ आधारमा शैक्षिक प्रमाणपत्र दिइन्छ, जनयुद्ध लडे बापत विश्वव्यापी भ्रमण गर्दा यातायात सेवा निस्शुल्क गर्न पाउने प्रमाणपत्र दिन्छौं भनेर प्रशिक्षित गर्दै औपचारिक शिक्षा हासिल गर्न निरुत्साहित गरिन्थ्यो।

हिजो बुर्जुवा शिक्षा भनेर जलाउन लगाइएका किताबकै अक्षरबाट लेखिएका प्रमाणपत्र नहुदासम्म आज योग्य नठहरिनु यो जस्तो विडम्बना अरु के हुन सक्छ ? हिजो संगै लडेका साथीहरु पछि गएर अयोग्य बनाउने को हुन ? अहिले विस्तारै विस्तारै रिजल्ट आँउदै छ । हामीले जे रोप्छौं नि फलपनि त्यहि पाँउछौं । त्यसैले यसको दोष नेतृत्वलाई नै दिन्छु । तिनीहरुलाई जनताले र देशले पनि चिनिरहेको छ । कोही जेल जाँदै छन् । कोही जान ेतरखरमा छन् । जवाफ त रिजल्टले नै दिईरहेको छ । देशका लागि लडेको युवा पेटका लागि श्रम गर्न खाडी पुग्छ भने यो भन्दा अरु के होला र ?

मेरो बाध्यताबाट नेपाली युवायुवतीले के सिक्ने र के नसिक्ने भन्ने विषयमा दिशानिर्देश गर्न सक्ने परिस्थितिमै म छैन । किनकि राजनीति विनाको देश र सत्ता हुदैन । राजनैतिक दलका नेताहरु आफ्नै स्वार्थमा लिप्त छन् । परिवर्तनका लागि गरेका बाचाहरु पूरा गर्ने कुरा त छोडौ, कोसिस गर्न समेत विर्सिएका छन् । यति चाहिँ भन्न सक्छु, म जत्तिकै इमानदार बनेर कुनैपनि राजनीतिक दल र नेताको झोला चाहिँ नबोक्नुस् धोका खाइन्छ। देश यस्तो अवस्थामा आउनु को दोषी त असक्षम र स्वार्थी राजनीतिक नेतृत्व नै हो । अझ इमानदारीपूर्वक जनयुद्ध लडेकाहरुका दृष्टिकोणमा त मुल नेतृत्वनै मुख्य दोषी हो।

बन्दुक बोक्दा माओवादी, बन्दुक विसाउदा नेकपा यो भित्रको वास्तविक्ता के हो भ्रम कि परिवर्तन ?

नेपाल मल्टी पार्टी डेमोक्रेसी भएको देश हो। खासगरी हामीले जनयुद्ध लड्दा युद्धद्धारा राज्यसत्ता कब्जा गर्ने र सर्वहारा वर्गको अधिनायकत्वका आधारमा स्थायी शान्ति स्थापना गर्ने भन्न स्कुलिङ नै थियोे । तर राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हाम्रो अनुकुल नदेखिए पछि नेतृत्वले रणनीतिलाई यथावत राख्दै कार्यनीति परिवर्तन गर्यो । नेतृत्वलाई साम्राज्यवादले श्रीलंकाको लिट्टे जस्तै बनाउला भन्ने धेरै चिन्ता थियो होला । त्यहीँ भएर युटर्न लियो र नेतृत्वकै निर्देशनमा माओवादी भएर बन्दुक बोकियो । नेकपा बनेर विसाइयो।

मुख्यतः बन्दुक बोक्नु र विसाउँनुले पार्टी फरक हुनु र नहुनुले त्यति महत्व राख्दैन । मुद्दाले एजेन्डाको निष्कर्षका आधारमा नेकपा बनेको होला । उद्देश्य पूरा गर्नका लागि सैद्धान्तिक र बैचारिक स्पस्टताको अपरिहार्यता हुन्छ । नेकपा बनेको र सरकार बनेको जम्मा जम्मी २ वर्ष पनि पुगेको छैन नेतृत्वमा देखिएको विभाजित मानसिकताले जनता र कार्यकर्ताहरुमा अन्योलता छाएको सत्य हो । तथापि नेकपाले न्युनतम राजनीतिक मूल्य मान्यतालाई व्यवस्थित गर्दै परिवर्तनकै दिशामा अगाडि बढ्ला भन्ने आशा चाहिँ छ।

विमानस्थलबाट नेपाललाई उहि हालतमा छोड्दा दुखलागेन ?
हामी आमूल परिवर्तनको एजेन्डा बोकेर रण संग्राममा होमिएकाहरुलाई दुःख नलागेर अरु कसलाई लाग्ला र ? हाम्रो सपना थियो व्यवस्थित देश, सक्षम र स्वाभिमानी नागरिक बनाउने । आज देश त्यतातिर उन्मुख भएको देखिदैन यो असाध्यै दुखद कुरा हो । तैपनि आशा गरौं, स्थायी सरकार गठन भएको छ । गुणात्मक नभए पनि क्रमिक उन्नति हुदै जाला भन्नेमा विश्वस्त हुनु वाहेक विकल्प रहेन।

लिपुलेख, लिम्पियाधुरा, कालापानी आफ्नो नक्सामा पारेर भारतले सीमा मिच्दा समेत सरकार मौन छ । यस्तोअवस्थामा युद्धलडेका र अहिले खाडी पुगेका युवाको जिम्मेवारी के हुन्छ ?

एकदमै सही प्रश्न गर्नु भयो । बारम्बार भारतले नेपाली भुमि अतिक्रम गर्दै आइरहेको छ । भारतमा अंग्रेज सरकार हुदा जब अंग्रेज र नेपाल बीच ई.स.१८०१ मा भएको समझदारीको धारा ५ लाई अंग्रेज पक्षले उलंघन गर्दै सन् १८१४ नोभेम्बर १ मा नेपाल विरुद्ध अप्रत्याशित युद्धको घोषणा गर्यो । आफ्नो देश रक्षाका लागि ७० वर्षिय भक्ति थापाले लड्दालड्दै विरगती प्राप्त गरे । पानीको मुहान थुनि दिएपछि बलबद्र कुवरले नाका छोडिए । बम शाहले आत्मसमर्पण गरे यसरी अंग्रेजको ४५ हजार सैन्यबल र त्रियासी तोपका अगाडि न्यून नेपाली सैनिकले टिक्न सक्ने परिस्थिति भएन र अमर सिंह थापा र अंग्रेज पक्षका डेभिड अक्टरलोनी बीच सन् १८१५ मे १५ का दिन एक समझदारी पत्रमा हस्ताक्षर भयो । त्यहीँ यता नेपालको भुमि निरन्तर अतिक्रमण हुदै आइरहेको छ।

सन् १९४७ मा भारत अंग्रेजबाट आजाद भएपछि सन् १९५० मा नेपाल ब्रिटेन बीच भएको सन्धिको आठौं दफा र नेपाल ( भारत बीच १९५० जुलाई ३१ मा भएको शान्ति तथा मैत्री सन्धिको धारा ८ मा ब्रिटिस र नेपाल सरकार बीच भएका सबै सन्धिहरु खारेज हुने कुरा उल्लेख छ । त्यसको मतलब अंग्रेजले हडपेको भुभाग समेत नेपालले फिर्ता पाउने भन्ने हो, तर सरकारको नेतृत्व गरेका नेताहरू देशको पक्षमा भन्दा पनि कुर्सीको पक्षमा उभिएका कारण भारतले भुमि फिर्ता होइन झन् झन् अतिक्रमण गर्दै गयो । त्यसैको निरन्तरता नै अहिले भारतले लिपुलेक आफ्नो राजनीतिक नक्सा भित्र पारेको छ ।

यो सबै नेपाल सरकारको लाचारीपनको प्रतिफल हो भन्ने कुरामा कुनै दुईमत छैन । तथापि वर्तमान सरकारले परराष्ट्र मन्त्रालय मार्फत विज्ञप्ति निकालेको छ । उच्च स्तरीय वार्ताको पनि पहल भैइरहेको खबर आएको छ । तर यतिले मात्रै पुग्दैन, यदि भारतले आफ्नो विस्तारवादी हस्तक्षेपकारी व्यवहार सच्याउदैन भने भारत आणविक देश हो भनेर डराउनु हुदैन । नेपाल सरकारले आफ्ना नागरिकलाई देशका लागि लड्न आह्वान गर्नुपर्छ ।

युद्ध हतियारले मात्रै होइन, विना हतियारको मानसिक तयारीले पनि जित्न सकिन्छ। त्यसैले हरेक हिसाबले देशको पक्षमा उभिनु युवाहरूको आजको मुख्य जिम्मेवारी हो । भारतले आफुलाई ब्याक गर्दैन भने नेपाल सरकारलाई व्यापक दबाब दिएर देशको भुमि फिर्ता गर्ने ढाडस् दिनुपर्छ। यहीँ नै देशभक्त युवाहरूको जिम्मेवारी हो ।

 


Thali Mobile Pvt.Ltd.