जिल्लामा हुनसक्ने सम्भावित विपद्सम्बन्धी घटनाको विपद् प्रतिकार्य योजना तयार

जिल्लामा हुनसक्ने सम्भावित विपद्सम्बन्धी घटनाको विपद् प्रतिकार्य योजना तयार image

मकवानपुर ।  वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालयले विपद् प्रतिकार्य योजना तयार गरेको छ । जिल्लामा हुनसक्ने सम्भावित विपद्सम्बन्धी घटनाको पूर्वअनुमान गरी सोको बचावट र रोकथामको कार्य गर्ने गरी विपद् प्रतिकार्य योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । यसैबीच जिल्ला प्रशासन कार्यालयले तयार गरेको सो योजनालाई जिल्ला विपद् व्यवस्थापन समितिले कार्यान्वयन गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै सरोकारवालाहरुको सहकार्यमा प्रतिकार्य योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न योजना अघि बढाएको हो ।

यसैगरी मकवानपुरमा विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाका तर्फबाट भूमिका निर्वाह गर्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीले पाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्लान इन्टरनेसनलले निर्वाह गर्दै आएको भूमिका रेडक्रसलाई प्रदान गरेको हो । मकवानपुर जिल्लाबाट प्लान इन्टरनेसनल बाहिरिने हुनाले उक्त जिम्मेवारी रेडक्रसलाई प्रदान गरिएको हो । प्लान इन्टरलेसनलले मकवानपुरमा रहँदा गैरसरकारी संस्थाका तर्फबाट विपद्मा उद्धारलगायत विभिन्न सहयोग गर्दै आएको थियो । लामो समय मकवानपुरमा काम गरेको प्लान इन्टरनेसनल यसै वर्षदेखि मकवानपुरबाट बाहिरिँदै छ ।

यस्तै बैठकले जिल्लाका विभिन्न स्थानमा खोलाले बगाएर मृत्यु भएकाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । गत असोज १२ गतेयता खोलाले बगाएर मृत्यु भएका छ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । त्यस्तै बैठकले जिल्लास्थित विभिन्न नदी, खोला, खहरेहरुमा वर्षाका बेला आइपर्ने समस्या न्यूनीकरणका लागि त्यस्ता प्रभावित स्थानबाट नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको छ ।

स्थानीय तहबाट पहिचान भइआएका स्थानहरुमा प्राविधिकसहित स्थलगत निरीक्षण गरी प्रभावित स्थानबाट आवश्यक नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको हो । स्थलगत निरीक्षण गरी रिपोर्ट पेस गर्नेगरी जिससका शाखा अधिकृत भीमलाल महर्जनको नेतृत्वमा जिप्रकाका अधिकृत प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका प्राविधिक प्रतिनिधि र जिससका प्राविधिक प्रतिनिधिसहितको पाँच सदस्यसमिति समेत गठन गरिएको छ ।

प्रहरी उपरीक्षक राठोर सम्मानीत

वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरलाई सम्मान गरिएको छ । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार कार्यमा सघाउ पुर्याएको जनाउँदै सामाजिक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले मङ्गलबार प्रहरी उपरीक्षक राठोरलाई सम्मान गरेको हो । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार, संरक्षण तथा न्यायको क्षेत्रमा मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले काम गर्दै आइरहेको छ ।

नेपाल सरकारले गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी उपरीक्षक राठोरलाई प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरेको सन्र्दभमा हेटौँडामा एक कार्यक्रमबीच संस्थाले सम्मान गरेको हो । कार्यक्रममा प्रहरी उपरीक्षक राठोरले मकवानपुर जिल्लामा भएका विभिन्न घटनामा संलग्न दोषीहरुलाई नियन्त्रणमा लिएर कानूनी दायरामा लिन मकवानपुर प्रहरी सफल भएको जिकिर गर्नुभयो । मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँडले हाल देशका २३ जिल्लामा रहेका केन्द्रका शाखाले बालबालिकाको संरक्षणमा काम गर्दै आइरहेको जानकारी दिनुभयो । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda