Village Highland Resort

टुट,फुट र गुटको राजनीतिले कहाँ पुगिएला कमरेड ?

टुट,फुट र गुटको राजनीतिले कहाँ पुगिएला कमरेड ? image

पृष्ठभूमी
जनयुद्ध के का लागि ? 

नेपालमा नयाँ जनवादी राज्य सत्ता स्थापना गर्ने मुल उद्देश्यका साथ २०५२ साल फाल्गुण १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा जनयुद्ध सुरु भयो । जनयुद्धको बाटोमा अघि बढौं भन्ने मुल नारा दिएर रोल्पा हुदै देशका विभिन्न ठाउँबाट बिद्रोेहको संखघोष गरियो । मुलुक बदल्नका लागि गरिएको जनयुद्धले नेपालको राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक तथा विकृति र विसंगति, अन्याय, अत्याचार र शोषण दमनका विरुद्ध लडिएको थियो ।

विभेदको चरम उत्पीडन भोगिरहेका समुदायको मुक्ति, एकात्मक र सामन्तवादी राज्य व्यवस्था विरुद्ध गणतन्त्र स्थापना र जनताको शासन स्थापनाका निम्ति जनताले युद्ध लडेका थिए । समाजवाद हुदै साम्यवाद सम्म पुग्ने उद्धेश्य बोकेर प्रचण्डको नेतृत्वमा ग्रामिण क्षेत्रबाट सहर केन्द्रित भएर करिब करिब देशको ८० प्रतिशत भूगोलमा जनताले जनवादी शासन जनयुद्धको जगमा स्थापना गरेको सर्वविदितै छ । विभिन्न आरोह अवरोह पार गर्दै जनयुद्धले उठाएका एजेण्डा क्रान्ति होस या जनआन्दोलन दुवै बाटोमा देश दौडिरहेको थियो ।

जनमुक्ति सेना स्थापना गरेर सामन्तवादी साज्य व्यवस्था विरुद्ध जनताका छोराछोरी लामवद्ध भएर लडेको सबैलाई जगजाहेर नै छ । १० वर्षे जनयुद्धको यात्रामा १७ हजार भन्दा बढी जनताका छोराछोरी ज्यान गुमाए, लाखौं अंगभंग भए, हजाराैं अझै वेपत्ता छन्, लाखाैं घाइते छन् । राष्ट्रको आर्थिक, भौतिक पूर्वार्धार नष्ट भएको कुरा कसैले विर्सन हुदैन । विद्रोेह समाप्तीको दशक र १९ दिने जनआन्दोलनको यतिलामो कालखण्ड वितिसक्दा पनि अझै देशले कोल्टो फेर्न सकिरहेको छैन ।

राजतन्त्रको अन्त्य, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेसीता र जननिर्वाचित प्रतिनिधिमार्फत जनयुद्ध र जनआन्दोलनबाट स्थापित मुल्यमान्यताहरु अझै संक्रमणकालबाट गुज्रिरहेको अवस्था छ । नेता र नेतृत्वका कारण आज नेपालमा १० वर्षे जनयुद्ध इतिहास बनेको छ । परिवर्तन जे जति भए पनि ति सबैको मुख्य आधार नै जनयुद्ध हो । परिवर्तन त भयो तर शान्ति प्रक्रियापछि जनयुद्धको जुन सम्मान हुनु पथ्र्यो त्यो किन हुन सकिरहेको छैन ? कम्युनिष्ट पार्टीले सत्यलाई स्वीकार गर्न नसक्दा परिवर्तनको एजेण्डाले आज गतिलिन नसकेको तितो यथार्थता हामी सामु छ । आफ्ना एजेण्डामाथि प्रतिबद्ध नहुँदा नेपालको कम्युनिष्ट आन्दोलन नै धरापमा परिरहेको जनताले महशुस गरिरहेका छन् ।

माओवादी पार्टी भित्र टुटफुट र विभाजन
इतिहास हेर्दा विश्वको कुनै पनि कम्युनिष्ट सिद्धान्तमा नभएको संविधान सभाको नारा लिएर खुल्ला राजनितिमा आएको नेकपा माओवादी पहिलो संविधान सभादेखि दोस्रो संविधान सभासम्म आउदा विभाजनको चक्रमा परिणत भयो । काँक्रो चिरे जस्तै दुई चिरा परेका माओवादी पार्टी पछिल्लो समय सम्म आउदा अनेकौं चिरामा चिरिन पुग्यो । सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एक ठाँउमा ल्याएर १० वर्षे जनयुद्ध र जनआन्दोलबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पर्ने बाटोलाई गति दिनुको साटो पार्टीलाई नै टुक्रा टुक्रा बनाएर नेतृत्वले नेपाली जनताको सपना चकनाचुर पार्ने खेल खेल्न पुग्यो । जनयुद्ध र जनआन्दोलनमा शहिदले बगाएको रगतको अवमुल्यन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई नै धुजा धुजा पार्ने काम नेता र नेतृत्वकै कारण भएको छ ।

मोहन बैद्य किरण, रामबहादुर थापा बादल, मातृका यादव, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लब पार्टी छोडेर चिरिनुमा दोष कस्को ? कार्यकर्ता को कि नेर्तत्वको ? प्रचण्डलाई छोडेर अलग पार्टीमा चिरा पर्नुको कारण के हो ? यसको खोजीनीति कस्ले गर्ने ? टुट फुट र विभाजन भएपछि मुल धारको पार्टी नेकपा (माओवादी केन्द्र) पनि एमालेमा विलय भयो । नत माओवादी केन्द्र रयो नत एमाले रयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भनेर कहलिए । इतिहास भइसकेको पार्टी फेरी राजनैतिक नाटक मञ्चनले व्यूताइएको छ । कैयाैं टुक्रा मध्य अलग्गै टुक्रामा परिणत भएको विप्लव माओवादीले पनि आफ्नो एजेण्डा छोडेर केपी ओली राजनीतिमा रुपान्त्रण भयो । नेपालमा कम्युनिष्ट पार्टीहरु किन फूट्छन ? के साँच्चै जनताको स्वार्थका लागि फुटेका हुन कि व्यक्ति स्वार्थका निम्ति फुटेका हुन ?

यो कुनै अनुसन्धानले पनि निश्कर्ष लगाउन नसक्ने अवस्था भएको छ । तर जनताको आँखाले भने सहजै निक्र्यौल गरिसकेका छन् । माओवादी पार्टीको फूट केवल पद प्रतिष्ठा र खोक्रो आडम्वर बाहेक अरु केहि होइन भन्ने कुराको प्रमाण जनताले देखेका छन् । अरु पार्टीले जे गरेपनि राता वस्तीहरु चहारेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले त १७ हजार भन्दा बढी नेपाली जनताको वलिदानबाट स्थापित भएको कुरा हेक्का राख्नु पर्ने थियो तर उ आफै किन कुहिरो भित्र अलमलिएको काग जस्तै बनिरहेको छ ? सोचनीय विषय छ । शसस्त्र विद्रोह सुरु गर्ने आवाज उठाएको विप्लब नेकपाले राजनैतिक बजार जसरी तताएको थियो त्यो पनि संसदीय राजनीति भित्रै रुमलिन आउदा अब जनता भ्रमबाट माथि उठिसकेका छन् ।

नेता, नेतृत्व, जनमुक्ति सेना र कार्यकर्ताबीच देखिएका समस्या
हिजो प्रचण्डले निर्देशन दिने बित्तिकै बत्तिमा पुतली होमिए जसरी लडाईको मोर्चामा हाम फाल्थ्ये नेपालका युवाहरु । आफ्ना योजना भन्दा देशको राजनैतिक परिवर्तनका योजनामा हाम फाल्ने युवाहरु आज भोका पेटका लागि खाडी मुलुक धाउन पुगेका छन् । आफ्नो योजना साकार पार्ने सबैभन्दा पहिलो र सजिलो बाटो भनेको बैदेशिक रोजगार ठान्छन् उनीहरु । त्यसैले होला ५० प्रतिशत भन्दा बढी युवाहरु बैदेशिक रोजगारमा पसिना र रगत बगाइरहेका छन् । दुश्मनका बंकरमा हाक्का हाकी पसेर हतियार खोस्ने युवाहरु आज यो अवस्थामा आइपुग्नु कसको कमजोरी ?

युद्धमा निशुल्क शिक्षा, व्यवहारीक ज्ञान, काम अनुसारको माम र बेरोजगार भएर बस्न पर्दैन भनेर लडेका युवाहरु अहिले नेता र नेतृत्वको वर्वरताका कारण १६ वर्ष नपुग्दै खाडीमुलुकमा गैटी विल्चा बझार्ने सपना बुन्न किन विवस छन् ? अरु कुरा के गरौं ? माओवादी युद्ध लडेका जनमुक्ति सेनामा आवद्ध युवाहरु यतिवेला मलेसिया, दुबई, कतार, साउदीलगायतका मरभुमिमा भेडा चराइरहेका छन् । गैटीबील्चा र सेक्यूरिटी गार्ड बनेर पेट पाल्ने परिस्थितिमा गुजारा चलाईरहेका छन् ।

युद्ध र जनआन्दोलनपछि सबै भन्दा बढी खुशी हुनु पर्ने युवा अर्थात जनमुक्ति सेना किन परिवर्तनबाट निराश भए ? यसको उत्तर न त नेतृत्वले खोज्यो ? नत नेताले नै खोजे । कार्यकर्ता र सेनाको अवस्था त उस्तै हो । न्याय, समानता र अधिकारको पाठ सिकाउनेहरु आज आफै यस्तो अवस्थामा आउदाको संग भन्ने ? २०६३ सालमा शान्ति सम्झौता हुँदै गर्दा सबैकुरा भूलेका नेता र नेतृत्वकै कारण आजको यो परिस्थि भएको हो भन्ने हेक्का राख्न जरुरी छ ।

नेताको कार्यशैली, व्यवहार र बोलिको भिन्नता
शान्ति सम्झौतामा हस्ताक्षर गरेकै दिन देखि नेता र नेतृत्वको जीउने शैलीमा परिवर्तन देखिन थालेको थियो । जनयुद्ध माथि अपमान भईरहेको छ भन्ने कुरा लाग्दा लाग्दै पनि किनाराको साँची भएर उभिन तत्पर भए । कोट पाइन्ट लागाएर शहर पसेपछि अनि मन्त्री भएर झण्डावाल गाडीमा शैयर गरेपछि कम्युनिष्ट हौं भन्ने शब्द समेत भुले । आलोचान र आत्मआलोचना समेत विर्सिए । जनताको अगाडि गल्तीको महशुस गर्नु पर्ने तर कहिल्यै गरेनन् । मुल नेतृत्वले गल्ति ग¥यो त्यसमा देखेर पनि नदेखै झै गर्नु र हो मा हो मिलाउँदै अगाडि बढ्ने नेताहरुको झन ठूलो गल्ति हो । हुनत नेतृत्व भन्दा हाम्रा नेताहरु कहाँ कम थिएर ? त्यहि भएर नै हो मा हो मिलाए ।

२०६१ सालदेखि नै युद्धको गतिमा ओरालो लाग्ने अवस्थामा आइसकेको महशुस गरेर युद्धलाई सेफ ल्यान्डिगं नगर्ने हो भने पेरुकै अवस्था हुने अनुमान नेतृत्वले गरिसकेको थियो । त्यहि भएर होला २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनमा उठाएको एजेण्डालाई नेतृत्वले अलि अगाडि सा¥यो । गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभाको माग गर्नुको रहस्य नै त्यहि थियो । जनयुद्धमा रोल्पा, रुकुम, कालिकोट, अछाम, दैलेख, जाजरकोटका जनताको जति योगदान थियो शहरी मध्यम वर्गिय जनता शिक्षक, व्यापारी, डाक्टर, वकिल लगायत सबैको उत्तिकै योगदान थियो ।

गाऊँ शहर, युवा, महिला, जनजाति, क्षेत्री, दलित, वाहुन सबैको समान सहभागिता थियो । विज्ञानको चमत्कारीक विकाससंगै सूचना संचारमा नेता र नेत्वत्वको ध्यान जान सकेको छैन । फेसबुक, टुइटर जस्ता समाजिक संजालले गर्दा अब पहिलेकै जस्तो बानी व्यवहारले हुने वाला छैन त्यहि अनुरुप बदलिन पनि जरुरी छ । नेपाल प्रहरी, विषेश प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना सबै सुचना संचारमा आफूलाई परिमार्जन गर्दै छन् तर हाम्रा नेताहरु यससंग खासै ध्यान नदिदा मोवाइल ट्रयाकिगंबाटै के गरिरहेका छन् सबै कुराको जानकार अरुनै भइरहेका छन् ।

विश्व कम्युनिष्टको केन्द्र नेपाल बन्छ की भन्ने डर विदेशी शक्तिकेन्द्रलाई छ । ति शक्तिकेन्द्रहरूले आफू अनुकुल नै प्रयोग गर्न चाहन्छन् र नेपालमा अइस्थीरता बनाइराख्न चाहन्छन् । त्यहि अनुरुप नेता र नेतृत्व चलिरहदा कसरी कम्युनिष्ट आचरण अगाडि बढ्ला ?  देशकाे उभाेगति लाग्ला । नेता र नेतृत्वले जनता देखि कट्ने आफ्नालाई पोष्ने र कार्यकर्तालाई छिछि र दुरको व्यवहार गर्नुले याे अवस्था भोग्नु परेको थाह छ कि छैन ?  अर्काे कुरा नेतृत्वमा व्यक्तिवादी प्रवृति हावी भएका कारण अहिले जनता भ्रममा परेका छन् ।

कम्युनिष्ट पार्टीका लिडरलाइ जनता र कार्यकर्ताले सहजै भेट्न पाउनु पर्ने हाे तर, राजा महाराजाले जस्तै दर्शन भेट गर्नु पर्ने जस्ताे परिस्थिति किन निम्त्याइयाे ? सर्वहारा वर्गका मानिसकाे सिधै सम्पर्क हुनु पर्नेमा भेट्नलाइ पनि चाकडी गर्नु पर्ने बाध्यता किन ? यस्ताे बाध्यतामा सर्वहारा वर्गकाे नेतृत्व हाे भनेर कसरी भन्ने ? सवाल यही छ । जनताले सहजै भेट्न नपाउने नेतृत्व जनताकाे नेतृत्व भनेर कसरी भन्ने ? त्याे  नेता  नेता हाेइन, त्याे त सामन्तकाे नाइके हाे । त्यसैले यसलाइ नेता बन्न चाहनेले सच्याउन जरूरी छ ।

नेकपा फुट
करिब दुई तिहाईको संघीय सरकार र ६ प्रदेशमा एकल सरकार बनाएको नेकपा नेतृत्व मातको उनमादले अब इतिहास जस्तो बन्ने भएको छ । २०७४ को निर्वाचनअघि तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको चुनावी तालमेल र त्यसपछि बनेको पार्टी एकताबाट विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा नेकपाले वैधानिक रुपमा सत्ताको बागदोर सम्हाले पछि सर्वहारा वर्गमा खुशीको सिमा नै थिएन । तर नेकपा नेतृत्व भित्रको आन्तरिक द्वन्द्व र कर्मचारी व्यवस्थापनमा असफल भएपछि लोक हँसाउन कृयाकलापमा नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नै भंग गरिदिए ।

आफ्नो स्वार्थ पुरा नभएपछि पार्टीभित्रको आन्तरिक विवाद भनेर कुर्सीको रक्षाका लागि देशलाई नै संकट पु¥याए । निर्वाचन आयोगले निर्णय गर्नु पर्नेमा आफै अनिणयको बन्दी निर्वाचन आयोग बनिरहेका बेला सर्वोच्च अदालतले निर्णय बदर गरिदिएर पार्टी पुन एमाले र नेकपा –माओवादी केन्द्र)मा फर्किए । सडक र सदनमा रहेको नेकपाले विश्वलाई नै हँसाउने खेल खेलपछि जनता निरास भएका छन् । ४४१ जनाको केन्द्रीय समिति मध्ये दुई तिहाइ सदस्य प्रचण्ड–माधव समूहमा गए भने अर्का अध्यक्ष केपी शर्मा ओली समूहमा १२० जना रहे ।

तर कानुनको कुनै निरुपण नहुँदै गरिएको निर्णयले जटिल्ता भएको पत्तै भएन । २०७४ को चुनावी तालमेल, २०७५ मा दुई ठूला पार्टीको एकता र आन्तरिक कहललाई व्यवस्थापन गर्न नसक्दा अढाई वर्षमै विभाजित भएको नेकपा फेरी पनि सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद तथा विदेशीकाे शोषण र उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने अनि जनताको जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गरेर न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्य बीच बाटोमै अलपत्र पार्ने काम के जनताले गरेका थिए र ? सर्वहारा, श्रमजीवी जनताको प्रतिनिधि दाबी गर्ने कम्युनिस्ट पार्टी टुटफुट र विभाजन कसका कारणबाट भयो ? यस प्रश्नको जवाफ नेतृत्वले दिनै पर्दछ ।

कम्युनिस्ट पार्टीको फुट र जुटले पुष्पलाल गिज्यायो
भारतको वनारसमा २००६ साल वैशाख १० गते (सन् १९४९ अप्रिल २२) मा महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको कम्युनिस्ट पार्टी अहिले सम्म आउदा जति मजवुत बन्नु पर्ने थियो त्यो हुन सकेन । राणाशासनको विरुद्धमा स्थापनाकालदेखि नै आन्दोलनको झण्डा उठाएको नेकपाले ३० वर्षे निर्दलीय पंचायती व्यवस्था र राजतन्त्रविरुद्ध सशस्त्र जनयुद्ध समेत लडेको इतिहास छ । तर टुटफुट र विभाजन हुँदै जानुको कारण के हो ? चीनलाई मान्ने कि रूसलाई ? यौनकाण्डका विवाद, भाबन्डा, शनकीपन लगायतका नेतृत्व जन्मिनुका कारण नेपालका कम्युनिस्ट पार्टी जहिले पनि फुटको शिकार हुँदै आएको छ ।

जनतामा झाँगिदै जानुको सट्टा गुट उपगुट र विभाजन त परम्परागत नै बनिसकेको छ । २०१७ साल पुष १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि पहिलो पटक फुटेको नेकपा २०२३ सालमा अवसानको संघारमा पुग्यो । फेरी २०२५ सालमा टुटेर गयो । २०२८ सालमा सिपी मैनाली नेतृत्वले झापा विद्रोह सम्प पुग्यो भने मोहनविक्रम सिंह भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध आन्दोलन गर्ने उद्घोष गर्न थाले । दर्जनौँ पटक फुटेर एक दुई पटक जुटेको नेकपा आज सम्म आउदा धेरैपटक फुट र जुटमा नै समय व्यतित गरेको छ । २०३५ साल साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो । महासचिव पुष्पलाल श्रेष्ठको निधनअघि पनि मदन भण्डारी, वामदेव गौतमहरु विभाजित भएका थिए । अझ झापाको विद्रोही समूहले त पार्टीलाई नै परिमार्जन गरी अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाउन समेत भ्याए । २०३५ पुष ११ गते सिपी मैनाली नेकपा (माले)मा समाहित भए । साम्यवादी लक्ष्य छोडेर संसदीय व्यवस्थामा प्रतिस्पर्धा गरेर फेरी मनमोहन र सिपी मैनालीबीच एकता भइ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो । महासचिवमा मदन भण्डारी छानिए । भण्डारी महासचिव बनेपछि बहुदलीय व्यवस्थामा चुनावी प्रतिस्पर्धा गरी समाजवादतर्फ जाने निर्णय गरेसंगै २०५० जेठ ३ गते मदन भण्डारीको दास ढुंगामा हत्या गरियो ।

पछि माधवकुमार नेपाल महासचिव बने । भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र मतभेद चलाए । माधवकुमार नेपाल र केपी ओली एकातिर वामदेव गौतम अर्को तीर लागे । अन्ततः गौतमले २०५४ सालमा एमाले फुटाएर नेकपा माले खोले । पाँच वर्षपछि फेरि गौतम एमालेमै फर्किए । सिपी मैनाली सानो समूह नेकपा मालेमै रहेर अस्तीत्वमा छन् ।

चौम देखि माओवादीसम्म विभाजन
२०३६ सालको जनमत संग्रहलाई मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले बहिष्कार गर्यो । जनमत संग्रहलाई लिएर पार्टीभित्र मतभेद सुरू भयो । निर्मल लामापक्षले जनमत संग्रहलाई उपयोग गर्नुपर्छ भन्ने विचार राख्यो भने मोहनविक्रम त्यसको विपरीत गए । २०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) स्थापित गर्यो भने मोहनविक्रम पक्षले पार्टीको नाम नेकपा मसाल राख्यो र महामन्त्री मोहनविक्रम सिंहबने । नेकपा मसालको पाँचौं महाधिवेशन पनि फुटमा परिणत भयो । विभिन्न  आरोप प्रत्याराेपका कारण सिंहलाई कारबाही गरियो ।

त्यही बेला कमरेड प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन अघि सारे । जुन प्रतिवेदनले मशालमा फुटको चरण सुरु भयो । त्यो प्रतिवेदनले गर्दा सिंह र प्रचण्डमा कहिल्यै मेल नहुने इतिहास बन्यो । जसका कारण २०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य (किरण) निर्वाचित भए । यता आफूलाई कारबाही गरेको शनकमा मोहनविक्रम सिंहले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी नेकपा मसाल बनाए भने वैद्य नेतृत्वको पार्टीको नाम नेकपा (मशाल) भयो ।

पातलो मसाल र मोटो मशालमा विभाजित भएका कम्युनिष्ट घटक अलमलिरहेका बेला २०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो । माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गरेर रणनीति नै परिवर्तन गर्यो । बरु फुट्दै गए तर २०४६ सालको आन्दोलनमा उनीहरू मदन भण्डारी र मनमोहन अधिकारीको संयुक्त वाम मोर्चामा जान मानेनन् । नेकपा (मशाल), नेकपा (मसाल) यीनिहरुको कार्यदिशा गलत छ भन्ने सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी) मजदुर र किसानहरूको पक्षमा उभियो । नेमकिपा र नेकपा (चौम) लगायत मिलेर संयुक्त जनआन्दोलनमा सहभागी भए ।

बहुदलपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बन्यो । मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि एकता केन्द्रमा आए । एकता लगतै पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर फेरि चर्को मतभेद भयो । निर्मल लामाले एकता छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेल मिलेर छुट्टै ने.क.पा. (एकताकेन्द्र) गठन गर्न पुगे भने प्रचण्ड नेतृत्वले एकता केन्द्र नाम फेरेर नेकपा (माओवादी) राख्यो र त्यहि नामबाट जनयुद्धको बाटो तय गर्यो ।

नेपालमा १० वर्षसम्म जनयुद्ध चलाएर संसार भरी प्रचण्ड स्थापित बन्न पुगे । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शानस व्यवस्था जस्ता अहिलेको राजनीतिक उपलब्धीमा माओवादी जनयुद्धको निर्णायक भूमिका हुन्छ । जनयुद्ध चलिरहेकै बेला २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भयो । मिलेको केही समयभित्रै फेरि मतभेद सुरु भयो र २०६३ सालमा फेरि फुटे । फुटेपछि श्रेष्ठ नेकपा एकता केन्द्रको एक समूह ल्याएर जनयुद्धको नेतृत्व गरेको नेकपा (माओवादी) सँग गाँसिए । त्यसपछि पार्टीको नाम एकीकृत नेकपा (माओवादी) राखियो ।

जनयुद्ध र २०६२/२०६३ को जनआन्दोलन
२०२८ सालमा छुट्टिएका कम्युनिस्ट धारहरू २०४६ सालसम्म सोझो आँखा हेर्नै सक्दैन थिए । एक अर्कालाई तीखा बाण प्रहार गर्दै थिए । एउटा धारको मूल पार्टी तत्कालिन नेकपा एमाले, जसले संसदीय व्यवस्था रोजेको थियो । अर्को धारको माओवादी, जसले सशस्त्र युद्धबाट जनवादी क्रान्ति सम्पन्न गरेर कम्युनिस्ट शासन व्यवस्था रोजेको थियो । अरु कम्युनिस्ट पार्टीहरू पनि फुट्दै जुट्दैमा समय फालिरहेका थिए ।

रोहित नेतृत्वको नेपाल मजदुर किसान पार्टी त यी कोही पनि कम्युनिष्ट होइनन् भन्दै युद्ध होस या सदनमा रहेका पार्टीसंग वैचारिक खण्डनमा लागेको थियो । २०६२/०६३ को जनआन्दोलनपछि जनयुद्ध छोडेर माओवादी शान्तिपूर्ण प्रतिस्पर्धात्मक व्यवस्थामा ओर्लियो । २०६४ को पहिलो संविधान सभा चुनाव लड्यो तर, मोहन वैद्यले पार्टी फुटाए । जनताको आधारभुत आवाश्यक्ता पनि पुरा हुन सकेन भनेर उनले पार्टी विभाजन गरे । बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलन नै छोडेर नयाँ शक्ति नेपालकाे संयोजक हुँदै जनता समाजवादी पार्टीमा विलिन हुन पुगे ।

यता वैद्य नेतृत्वको पार्टीबाट नेत्रविक्रम चन्द बाहिरिएर र नेकपा माओवादी बनाए । केही समय नवित्दै सरकारले प्रतिबन्ध लगायो । गोपाल किराँती पनि माओवादीबाट छुट्टिए ।

ओली – प्रचण्ड एकता र फुट
जनयुद्ध ताका काँग्रेस खोजी खोजी, एमाले रोजी रोजी कारबाही थालेको माओवादीले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठनबन्धन गरेर चुनाव लडे । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) २०७५ जेठ ३ गते पार्टी एकता गर्न पुगे । जसको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भनेर राखे । अन्य पार्टीले भाइभाई मिले, सिद्धान्त एकै थियो, अनेक बहानामा मात्र बाहिर गएका थिए तर अहिले एक भए भनेर आलोचना गरिरहेका छन् ।

निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत पाएका दुई पार्टीले एकता गरे । सूर्य चिन्हबाट चुनाव लडे । एकताको सर्त आलोपालो सरकार र पार्टी चलाउने सहमति गरे । स्थायी सरकारको नारा लगाउँदै एकतामा बाँधिएका दुई कम्युनिस्ट पार्टीबाट बनेको नेकपामा दुई अध्यक्ष रहने व्यवस्था मिलाए । सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र पार्टीको नेतृत्व प्रचण्डले गर्ने सहमति गरे । यसो गर्दा धोका हुन सक्छ है भनेर प्रचण्डलाई पार्टी कार्यकर्ताले सजग गराए तर प्रचण्डले मानेनन् ।

पछिल्लो समय ओलीले गुट चलाए भनेर प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ सडकमा आए भने ओली समूहले पनि प्रचण्ड माधव झलनाथले काम गर्न दिएनन्, आफ्नै नातागोतालाई पोष्नेकाम गर भनेर धक्कु लागए भन्ने आरोप लगाए । दुई धाराले आरोप प्रत्यारोप लगाउदै गालिगलोचमा नै उत्रिए । दाउपेचको राजनीतिमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरे भने यता सर्वोच्व अदालतले भंगको निर्णय बदर गरिदियो । यतिमात्र कहाँ हो र नेकपा नै भंग गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनःस्थापना गरिदियो । जसका कारण नेकपा (नेकपा) रहेन ।

शत्रुता कि मित्रता ?
ऐनामा हेर्दा दाग देखिएपछि अनुहार पुछ्ने कि ऐना पुछ्ने ? अनुहार पुछ्नुको साटो ऐना पुछ्नेहरूको संख्या धेरै भएर नेपालको कम्युनिष्ट आन्दोलनमा यस्तो नियती भोग्न परिरहेको छ । राजनीतिक दलका नेता र नेतृत्वमहरूमा त झन ऐनालाई नै दोष दिने अभ्यास भइरहेको छ । आफ्नो दोष र कमजोरीको समीक्षा गर्दा जनताले थाहा पाउलान् कि भनेर होला परन्तु दोष अरुलाई नै थोपरिरहेका छन् ।

अवसर पाएर पनि जनताका पक्षमा काम नगर्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू संघीयताका मूल शत्रु हुन् भन्न ठान्ने नेता पनि छन् । निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार गर्नुको साटो जनताको सेवा सुविधामा ध्यान दिएको भए अहिले कसैले पनि संघीयताविरुद्ध आवाज उठाउने आँट गर्ने थिएनन् । विलासी सुविधा अपरिहार्य ठाने नेताहरुले ।

आचरण सुधार्न जरुरी
नेता र नेतृत्वलाई मान्ने हो र सहि कम्युनिष्ट पार्टी बनाउने हो भने नेता र नेतृत्वले आफ्नो आचरणमा व्यापक सुधार गर्न आवश्यक छ । मपाई भन्नु भन्दा पनि जनमतको कदर गर्न आवश्यक छ । जनयुद्ध र जनआन्दोलनमा कार्यकर्ता र जनताले गरेको बलिदान र योगदानको सम्मान र सस्थागत गर्न जरुरी छ । पार्टीभित्र ईमान्दार, शालिन र त्यागी नेतालाई जहिले पनि हेप्ने र कार्यकर्तालाई रैती ठान्ने प्रवृतिका विरुद्ध लड्न आवश्यक छ । धम्की, घुर्की, बार्गेनिङ र धुर्तता प्रदर्शन गर्नेहरुको मात्र सुनुवाई गर्ने र इमान्दार कार्यकर्ताको सुनुवाई नगर्ने हो भने रामराम भन्नु बाहेक अर्को विकल्प हुने छाँट देखिदैन । नेतृत्वमा आएको विचलनले नै पार्टी धुजाधुजा भएको भान सवैले गरेकै छन् ।

माओवादी आन्दोलनको रक्षा, कार्यकर्ताको व्यवस्थापन नहुनु र नेताहरुले आफ्नै पारिवारिक स्वार्थमा पार्टीलाई होम्नुले यो परिणाम भोग्नु परेको हो । कम्युनिस्ट सिद्धान्त दर्शनले साम्यवादी व्यवस्थाको कल्पना गर्दछ, तर नेता र नेतृत्वको हालको व्यवहारले वर्ग विभाजन गरिरहेको छ । हिजो तपाईहरुले नै भन्ने गरेको होइन, नेताको घर, गाडी निजी केही हुँदैन । रूस, क्यूबा, नकराबा, चीन, लाओस, भियतनाम, उत्तर कोरिया, भेनेजुएला, कम्बोडिया आदि देशमा क्रान्ति भयो । सबै देश सम्पन्न भए । आर्थिक रूपमा चीनसंसार टप्दै छ तर हाम्रो देशका नेताहरु जनताले दिएकाे म्याण्डेट पनि भूल्दै छन् ।

कार्ल मार्क्सको सिद्धान्त परिवर्तनमा आधारित छ तर, किन व्यवहारमा लागू गर्न नेता र नेतृत्व पछि हटेका छन् । लेनिन, स्टालिन र माओले यो विचारधारा अँगाल्दै व्यवहारमा ल्याएको पाइन्छ । साम्यवादी व्यवस्थामा मालिक कोही हुँदैन, जनता नै सबै हुन्छ, कुनै किसिमको वर्ग हुँदैन, कुनै भेदभाव हुनु हुँदैन, कोही ठूलो–सानो हुँदैन, साम्यवादमा सरकार हुँदैन, कुनै शासन–व्यवस्थाको जरुरत पर्दैन भन्दै अझ ठूला ठूला गफ फलाकेर हिड्ने तपाईहरु नै होइन ? साम्यवादी व्यवस्था त छोडौं, समाजवादी व्यवस्थामा जान पनि तपाईहरुको व्यवहारले दिदैन कारण तपाईहरुको व्यक्तिवादी सोचाई र यशआरामको जीवन शैलीले । त्यसैले अहिले फुटेर टुक्रा टुक्रा हुनेबेला होइन एक भएर अघि बढ्ने बेला हो ।

हामी को हौं भन्ने कुरा जनतालाई तपाईहरुले नै प्रस्ट पारिसक्नु भएको छ । यही कारण नेपालमा राजनीतिक चिन्तन भन्दा पनि व्यक्ति स्वार्थका कारण पार्टीको पछि लाग्नेहरूको संख्या बढी छ । जसले गर्दा पार्टी भित्र राजनीति सिद्धान्त भन्दा पनि अवसरवादी झुण्ड हावी भएको छ । त्यसैले सकिन्छ भने एक पटक ढिलो चाँडो जनताले यसकाे , एउटा स्वतन्त्र शक्तिशाली आयोग नै बनाएर नेता, कर्मचारी देखि न्यायधिस तथा सम्बन्धित सबै क्षेत्रकाकाे सम्पत्ति छानबिन गराैं र श्रोत नखुलेका, ब्रम्हलुट गरेका सम्पत्ति प्रमाणित भए जफत गरेर राज्य कोसमा दाखिला गरौं । जसले गर्दा राजनीति व्यापारमा परिणत हुनबाट जाेगाउन सकिन्छ ।

दलको पछाडि लाग्ने, नेताको पुच्छर बन्ने र व्यक्ति स्वार्थ पुरा गर्ने अनि ठेक्का पट्टामा गुट मिलाउनुपर्ने अवस्थाबाट पार्टी जोगिनु पर्छ । पार्टीलाई कमाइखाने, लुट्ने माध्यम बनाउनेहरुबाट नेतृत्व चनाखो बन्नै पर्छ । कमाउनेहरुलाई उद्योग धन्दा, व्यवसाय गर्न तिर लगाऔं । चुनावका बेला राम्रो उम्मेदवारलाई छानौं । काम काज छाडेर राजनीति र नेताका पछाडि कुद्ने, चाकडीमा विश्वास गर्ने, उनीहरूको दास बन्ने प्रवृति त्यागौं । यसाे गर्दा देशकाे भविष्य माथि खेलबाड गर्न रोकिने छ  ।

सरकार अस्थिर हुँदा देशले कति मार खाइरहेको छ अझै हेक्का नराख्ने ? अब गाउँघरहरू, पाखा पखेराहरू, खेतबारीहरू पलटिङ्ग गर्न रोकेर उर्वर भूमि बनाउनै पर्छ । इतिहासको आवश्यक्ता र परिष्थितिलाई मध्यनजर गर्दै पूर्वमाओवादी र माधव नेपालसहित फुटेका सबै कम्युनिष्ट शक्तिहरु एक ठाँउमा ल्याउन जरुरी छ । देशका असी प्रतिशत भूगाेलका जनता कम्युनिष्ट पार्टीकाे पक्षमा उभिएका थिए । अहिले तिनीहरूलाइ समेटेर अघि बढ्नु नै उत्तम विकल्प हुनजान्छ ।

फेरी कुरा के हाे त भन्दा इतिहासकाे आवश्यक्ता अनुसार प्रचण्डको नेतृत्वमा फेरी पनि चिरा परेका र धुजाधुजा भएका कम्युनिष्टहरु एक ठाउँमा आएर समिक्षा गर्दै जनतामा जानुको विकल्प छैन । नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि फुटेर होइन जुटेर जानु नै अहिलेको आवश्यक्ता हो । शान्ति प्रकृयाको एकमात्र जीवित हस्ताक्षर कर्ता भएको नाताले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढ्न आवश्यक छ । किन भन्दा यसो नगरे फेरी युद्ध र जनआन्दोलनबाट प्राप्त गरेका सबै उपलब्धि गुम्ने खतरा छ । त्यो सबैको बचाउ र नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पनि प्रचण्डकाे नेतृत्व जरूरी छ । नेता र नेतृत्वले यस विषयमा गहन ढंगले बुझ्न जरूरी छ, नत्र भएको साख पनि गुम्ने खतरा छ, चेतना भया ।

तुलसी डागी ‘मिलन’ (लेखक पूर्व जनमुक्ति सेना नेपाल पाँचाै डिभिजनकाे सुनिल स्मृति व्रिगेडका कमाण्डर तथा जनयुद्धमा प्रचण्डका प्रमुख सुरक्षा कमाण्डर थिए, पछिल्लाे समय विकृति, विसंगति विरूद्वमा  तीब्ररूपमा कलम चलाएका छन्)

याे पनि हेर्नुहाेस्

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने image

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा–मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको...

  • वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप image

    वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप

    महोत्तरी । अव्यवस्थित बसोबास व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेलगत्तै जिल्लामा वन क्षेत्र अतिक्रमण गर्नेले जग्गा दर्ता गराउन राजनीतिक दौडधुप शुरु गरेका छन् । जिल्लाको बर्दिवास नगरपालिका–१...

  • राजधानीको महत्वपूर्ण पर्यटकीय स्थल रानीकोट, जंगल सफारीको मज्जानै बेग्लै .. image

    राजधानीको महत्वपूर्ण पर्यटकीय स्थल रानीकोट, जंगल सफारीको मज्जानै बेग्लै ..

    भक्तपुर । के तपाइलाई थाहा छ राजधानी नजिकैको सुन्दर पर्यटकीय गन्तव्य कुन हो भनेर ? पक्कपनि थाहा पाउनुभएको छैन भने एक पटक आफैलाई सोध्नुहोस् त कुन होला ? यो...

  • ‘भविष्य यसरी सिध्याए’ image

    ‘भविष्य यसरी सिध्याए’

    काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा अरुको राजनीतिक भविष्य सिध्याइदिने धम्की दिनेकै बिजोग भएको बताएका छन् । आइतबार काभ्रेमा समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले फ्लोर...