Village Highland Resort

सुशासनको अभ्यास र नेपालमा सामाजिक रुपान्तरण

सुशासनको अभ्यास र नेपालमा सामाजिक रुपान्तरण image

विषय प्रवेश
नेपाली समाजमा विभिन्न जातजाती, वर्ग र समूदायको प्रतिनिधित्व रहेको छ । हरेक समूदायका आफ्ना विशिष्ट परम्परा तथा सँस्कारहरुले नेपाली राष्ट्रियतालाई आकर्षक बनाएको छ । हरेक सँस्कार र साँस्कृतिक विभिन्नतालाई संयोजन गरेर नेपाली जनसमूदायको हित गरी समाजमा व्याप्त विकृति तथा विसङ्गतिहरुको अन्त्यका लागि सक्रिय रहेको, जनताको व्यापक हितका लागि राजनीतिक दलको नेतृत्व गर्ने र समाजमा शान्ति तथा विधिको शासन कायम गर्ने लक्ष्यका साथ दलका नेतृत्वमा स्थापित रहेका व्यक्तिहरुको नैतिक आचरण तथा कार्य सम्पादनको प्रकृतिले नेपालमा राजनीतिको आवरणमा मौलाएको राजनीतिक अपराधिकरणले सीमा नाघि सकेको छ ।

जनताको आधारभूत आवश्यकता एकातिर हुने तर राजनीतिक दल तथा दलका नेता र कार्यकर्ताहरुको व्यवहार फरक हुनुले जनता, पिछडिएको समूदाय तथा क्षेत्रको उन्नति एकादेशको कथा सावित भएको छ । सिद्धान्त र व्यवहारको तालमेल नभएको कारण आज देशमा जात, जाती, वर्ग र लिङ्गको विभेद कायमै रहेको छ । राजनीतिक दलहरुमा इच्छाशक्तिको अभाव वा बेइमानी जे भने पनि राजनीतिक आडमा धार्मिक तथा साँस्कृतिक विभेदहरुले जरा गाडिरहेका छन, जसबाट समाजमा शान्ति होइन विकृति र विसङ्गतिहरुले मौलाउने उचित वातावरण प्राप्त गरेका छन । अरुलाई अर्ति दिने तर आफूले बलमिच्याई गर्ने र व्यवहारमा लागु नगर्ने नियतिको कारण शाब्दिक रुपमा ‘केही व्यक्तिको चुरीफुरी’ बढेता पनि वास्तवमा समाजमा विधिको शासन स्थापना हुन सकेको छैन, एक शासकीय विकृतिको रुपमा ।

नेपालमा धेरै राजनीतिक दल तथा दलका नाउँमा नेता भनिनेहरुले शासन गरिसकेका छन । हरेकका शब्द तथा लयमा परिवर्तन आयो तर नागरिकहरुको जीन्दगीमा खासै परिवर्तन आएको देख्न पाईएन । बेपारी, जग्गा दलाल, कमिशनखोर तथा ठेकेदारहरुको राजनीतिमा भएको बिग्बिगीको कारण राजनीतिलाई जसरी समाज रुपान्तरणको नैतिक आचरणको रुपमा लिइएको पाईन्थ्यो, व्यवहारमा पाउन निकै मुश्किल हुँदै छ । केही समय यता नेपालमा राजनीति ‘बलियो कमाउधन्दा’ बनेको छ भने समाजमा विधिको शासन स्थापना गर्नका लागि केही राजनीतिक दलका क्रियाकलापहरु अवरोधक समेत बनेका छन ।

साँस्कृतिक विविधता र विकास
बहुसाँस्कृतिक देश नेपालमा हरेक नागरिक समूदायको चालचलन र रितिरिवाजमा पृथकता हुनु स्वाभाविक छ । एक अर्काको सँस्कारलाई बुझ्न नसक्दा साँस्कृतिक विरोधाभाष भई समाजमा असामञ्जस्यता भएको पनि पाईन्छ । हरेक प्रकारका साँस्कृतिक गतिविधिहरुले राज्य व्यवस्थाका अन्तरनिहित क्रियाकलापहरुलाई प्रतिबिम्वित मात्र गर्ने होइन, समाजलाई स्पष्ट पहिचानका लागि समेत भुमिका खेलिरहेका हुन्छन ।

बाटोघाटो लगायत मानिसका लागि आवश्यक पर्ने आधारभुत आवश्यकताको व्यवस्थापनमात्र विकास होइन, समाजका नागरिकहरुको चिन्तन तथा व्यवहारमा आउने परिवर्तन समेतले विकासको अवधारणामा योगदान गरेका हुन्छन । विविध सँस्कार र साँस्कृतिक विविधताका कारण दखिने विरोधाभाषले सामाजिक संरचनाको परिवर्तनका कार्यमा अवरोध निम्त्याएका पनि हुन्छन । चिन्तनमा आउने पृथकताले गर्दा मानिसको दृष्टिकोणमा समेत फरक ल्याईदिएको हुन्छ । साँस्कृतिक स्तरमा आउने पृथकताबाट विचार तथा कार्यशैलीमा फरक देखिन्छ । अरुसँग समन्वय नगर्ने चिन्तन र व्यवहारले गर्दा समाजमा मानिसहरुका आवश्यकता भन्दा एकाध व्यक्ति तथा समूहको ‘मनोरञ्जनयुक्त विकास निर्माणका योजनाहरु’ सञ्चालनमा रहँदा समाजको वृहत विकास होइन, केही व्यक्ति तथा तिनका सहयोगीहरुको हित तथा मनोवलमा अभिवृद्धि हुन्छ र समानुपातिक विकासको कार्यमा यस्ता गतिविधिहरुले अवरोध सृजना गरेका देखिन्छन । नेपालमा समस्या स्रोत साधन व्यवस्थापनको होइन, मूल समस्या भनेको नै अपारदर्शी कार्यशैली र हरेक क्रियाकलापबाट फाईदा लिन खोज्ने मनोवृति हो ।

आवश्यकता अनुसारका योजना बनाई इमान्दारीपूर्वक कार्यान्वयन गरेमा देशमा बन्ने विकास निर्माणका योजनाहरुबाट आम नागरिकहरुले उल्लेखनीय फाईदा पाउन सक्थे । तर, ‘मै ठीक र मेरोबाटो नै ठिक’ भन्ने मनोवृतिले गर्दा नेपालमा समानुपातिक विकास हुन नसकेको हो । अर्कोतिर, कुनै पनि कार्यमा अपनत्व राख्न सक्ने समुदायको प्रतिनिधितव हुन नसकेमा जुनसुकै प्रकारका कामहरुले खासै स्थान लिन सकेको हुँदैन । सिद्धान्त एकातिर हुन्छ र काम गर्नेशैली अर्कोतिर हुन्छ भने यस्ता प्रवृतिले आम नागरिकहरुको मन वा विश्वास जित्न सक्दैन । यसकारण, चिन्तन र व्यवहारमा एकरुपता हुनु अत्यावश्यक देखिन्छ । भनाई र काम गराईमा संशोधन गर्नेहरुलाई आम नागरिकहरुले समयमा पहिचान गर्नु जरुरी हुन्छ ।

देश विकासका सवालहरु
नेपालमा प्राकृतिक सम्पदाहरु प्रचुर मात्रामा रहेका र ति स्रोत साधनहरुको उचित उपयोग तथा उत्खननले मात्र नागरिकहरुको जीवनपद्धतिमा रुपान्तरण ल्याउने देखिन्छ । देश विकासका नाउँमा जनप्रतिनिधिहरुका सुविधाहरु बढाउन तल्लीन नेपालका राजनीतिक दलहरु स्रोत साधनको बहुउपयोगमा तल्लीन हुनु भन्दा पनि भ्रष्टाचार तथा कमिशनको खेलमा अभ्यस्त भएकाले जनताको हित भन्दा व्यक्तिगत जोडघटाउमा बढी केन्द्रित भएका कारण देशमा नागरिकहरुले व्यक्तित्व विकासका उचित अवसर प्राप्त गर्न नसकेको हो । मै खाउँ र मैं लाउँको प्रवृतिमा अभ्यस्त बनेकाहरुबाट न देशको विकास हुन्छ न हुन्छ पिछडिएको समुदाय तथा वर्गको उत्थान । पश्चिमा अध्ययेताहरुले त्यत्तिकै ‘नेपालीहरु सुनको थालीमा सुतेर चाँदीको सिरानीमा आनन्द लिन्छन’ भनेका होईनन ।

नेपालमा आन्तरिक तथा अन्तर समूदाय विभेदीकरणको अन्त्य नगरी समाजमा समानता तथा समन्यायको परिकल्पना समेत गर्न सकिंदैन । सन् २०२० को डिसेम्बर महिनामा चीनको वुहान प्रान्तबाट देखा परेको कोरोना भाइरस (Covid-19) भन्दा खतरनाक जातीय विभेदको संक्रमण नेपाली समाजमा अद्यापि कायम छ तर जातीय छुवाछुत र सामाजिक विभेद (कसुर तथा सजाय) ऐन २०६८ को हवाला दिने प्रचलन पनि विद्यमान नै छ । राज्यका जिम्मेवार पात्रहरु सामाजिक कुरीतिहरु अन्त्य भएको फलाको पनि जोडतोडका साथ गरिरहेकै छन ।

देशमा नीति नियमहरुलाई भजायर नागरिकहरुको हुर्मत लिने कार्यहरु निरन्तर जारी छन । देशभर नागरिकहरु संविधानले सुनिश्चित गरेका आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित भैरहेको बेला अस्पतालमा अक्सिजनको हाहाकारबाट दिनदिनै नेपालीहरुको मृत्युदर उकालो लाग्दै छ । शासकहरुको कारोना भाईरस विरुद्दको खोपमा समेत ३५ लाख कमीशनको खेल नमिल्दा नेपालीहरु खोपबाट बञ्चित रहेको सार्वजनिक भएको छ । राज्य मुक दर्शक बनेर अपराधीहरुको संरक्षण गरिरहेको छ र समाजका अनैतिक तथा जघन्य अपराधमा संलग्न व्यक्तिहरु सरकारको महत्वपूर्ण जिम्मेवारीमा रहेर शान देखाउँदै छन । कोरोना संक्रमितहरुको उपचारका लागि प्रभावकारी भूमिका सरकारले खेल्न सकेको देखिएन ।

शासकहरुको रबैयाले सामाजिक न्यायमा खासै उपलब्धी हुन सकेको छैन । समाजमा रहेका चलाख वर्ग, नेताका आसेपासे तथा शासकहरुमा रहेको चाप्लुसी प्रवृतिले राज्यका मुलभूत क्षेत्रमा कब्जा जमाएको कारण वास्तविक लक्षित वर्गले समाजमा प्राथमिकता पाउन नसकेको हो । यस्ता प्रवृतिले नेपाली समाजको वृहत्तर विकासमा भूमिका खेल्न सक्दैन ।

समाज रुपान्तरणको सवाल
नेपाली समाजको नेतृत्व गरिरहेका अधिकाँश व्यक्तिहरुमा रुढीवादी तथा पुरातन चिन्तन हाबी भएको कारण तिनीहरुले समाजमा भैरहेका नवीन क्रियाकलाप तथा प्राविधिक उन्नयनका रचनात्मक कार्यहरुलाई सहज रुपमा अवलम्वन गर्न सकेनन । देशमा साँस्कृतिक विभेद, जातीय विभेद लगायतको अन्त्य गरी समता तथा स्वावलम्बन अभिवृद्धिका क्रियाकलापहरुको प्रवर्धन गर्नतिर खासै चासो देखिदैन । धेरै व्यक्तिहरुले कुरा समानताका गर्ने तर व्यवहार सामन्ती देखाउने, पिछडिएको क्षेत्र र जनताका नाउँमा विकासका योजना प्रस्तुत गर्ने तर परिचालन अमूक दलका नेता तथा तिनका आसेपासेहरुबाट गर्ने परिपाटीले जनताको हितमा काम हुन सकेन । नागरिकहरुलाई शब्दजालमा अल्झाएर कल्पनाका आधारमा सपनाहरुको वितरण गरिन्छ, आश्वासन तथा ‘आमोद प्रमोदका योजनाको रणनीति’ मात्र अवलम्वन गरिन्छ भने यस्ता क्रियाकलापहरुले नेपाली समाजको संरचनात्मक परिवर्तनका लागि अवरोध सृजना गरिरहने छन । नेपाली समाजमा पूर्ण शान्ति तथा सद्भाव कायम हुन सक्ने छैन । त्यसैले, राजनीतिमा नैतिकता र निष्ठाको भूमिका अपरिहार्य हुन्छ । जसको अभावमा आम नागरिकहरुको जीवन पद्धतिमा रुपान्तरण हुन कदापि सक्ने छैन ।

नेपालमा अरुलाई आदेश दिने, लामा लामा व्याख्यान तथा विष्लेषण गर्ने र अर्ति दिने कार्य यति व्यापक छ कि जुन व्याख्याताहरुले लागु गर्नु आवश्यक देख्दैनन । राज्यमा कानूनको नजरमा सबै नागरिकहरु समान छन भनिन्छ तथापि शासकहरुसँग पहुँच भएका व्यक्तिहरुले कानूनको ठाडो उल्लंघन गर्दा समेत कारवाही गरिनुको सट्टामा राज्यका उच्च पदस्थ निकायमा पुरस्कार स्वरुप जिम्मेवारी प्राप्त गरिरहेका छन । हत्या, हिंसा, अपहरण र बलात्कार जस्ता जघन्य अपराधमा संलग्न रहेका अपराधीहरु विभिन्न बहानामा उन्मक्ति पाईरहेका छन । अस्पतालमा अक्सिजनको हाहाकार हुँदा बढ्दो कोरोनाको संक्रमणका कारण दैनिक मृत्युवरण गर्ने नागरिकहरुको संख्या बढ्दो छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु आफू संक्रमित हुँदाहुँदै पनि नागरिकहरुको उपचार गरी ज्यान बचाउने कसरतमा राज्यको स्वास्थ्य सेवा निकम्मा भएको निराशाजनक उद्घोष गरिरहेका छन । सबै सामान्य समस्याहरुलाई व्यवस्थापन गर्दै राज्यले स्वास्थ्य सेवालाई एकदमै प्रभावकारी बनाउने काममा सरकार चुकिरहेको छ । आम नागरिकहरु कोरोना भाईरससँग जीवन मरणको संघर्ष गरिरहेका बेला देशलाई ‘सिंगापुर र स्वीजरल्याण्ड’ बनाउन उद्घोष गर्ने हाम्रा शासकहरु सत्ताको लुछाचुँडीमा अभ्यस्त छन ।

अन्तमा,
देशमा नागरिकहरु जटिल संकटबाट गुज्रिरहेको बेला राज्यले आफ्नो समपूर्ण सक्षमताको उपयोग गरेर सबैक्षेत्रका नागरिकहरुले एकमनको एकता गरेर मूलभूत समस्यासँग साझा लडाई लड्नु पर्ने हो, जुन नेतृत्वले सोच्न समेत आवश्यक ठानेको देखिएन । कुनै देशको सफलता त्यस देशको नेतृत्व गर्ने व्यक्तिको उच्च आदर्श तथा नैतिक चरित्रमा भर पर्दछ । देश र जनताको हितमा विषम परिस्थितिमा समेत उत्प्रेरणा दिने र नागरिकहरुको रचनात्मक परिचालन गर्ने काम नेतृत्वको हुन्छ । परन्तु, नेपालमा कार्यान्वयनको पक्ष र वास्तविकता विषम रुपमा देखा पर्दैछ । विधिको शासनको उपहास सरकारका जिम्मेवार निकायमा भ्रष्ट तथा आपराधिक प्रवृतिका व्यक्तिहरुको बोलवालाले गरिरहेको छ । त्यसैले, समाजको संरचनात्मक परिवर्तन कुरौटे प्रवृतिले होईन, दृढ इच्छाशक्ति तथा वास्तविक धरातलमा कर्म गर्ने र सार्वभौम चिन्तनको विकासले मात्र गर्न सकिन्छ भन्ने कुरा सबै नागरिकहरुले बुझ्न आवश्यक छ । अन्यथा, काम सिन्को भाँची दुई नगर्ने, तर कुराको सीमाविहीन खेति गर्ने र नागरिकहरुलाई छलकपटको शब्दजालमा मात्र अल्झाउने खेलले ठग तथा छट्टुहरुले फाईदा उठाउने निश्चित देखिन्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्