Village Highland Resort

जात व्यवस्थाको घिनलाग्दो मुकुट: जेठ १० गते भेरीको बगरले रगतले मुख धोयो

जात व्यवस्थाको घिनलाग्दो मुकुट: जेठ १० गते भेरीको बगरले रगतले मुख धोयो image

जात व्यवस्थाको घिनलाग्दो मुकुट
आजका दिनसम्म भेरी नदीमा धेरै पानी बगिसकेको छ । तर पानीको हिसाब कसैले राखेन । बगि जाने पानीको हिसाब राख्न सायद सम्भव भएन होला र कसैले राखेन पनि । तर वि.सं. २०७७ साल यस्तो साल बनेर आयो । जुन साल भेरीमा पानी मात्र बगेन पानीसँगै रगत पनि बग्यो ।

हरेक वर्ष भेरीका बगरले कहिले वर्षात्को धमिलो पानी त कहिले हिउँदको निर्मल पानीले अनुहार धुँदै आएका थिए । तर अघिल्लो वर्ष भने भेरीका बगरहरूले जेठ १० का दिन त्यसलाई बे्रक गरेर रगतले मुख धोए । सारा संसारको ध्यान भेरीका बगरतिर केन्द्रित भयो । लाग्थ्यो भेरीको बगर अब बगर मात्र रहेनन् ती त धर्मशास्त्रमा भनिएकी रक्तभोगी काली नाग हुन् ।

जसको अनुहार हजारौं बलीको रगतले लत्पतिएको छ । तिनलाई भेरीकै पानीले हजारौ वर्षसम्म पखाल्दा पनि बगरहरू रातै हुने छन् । जेठ महिनाको धापिलो गर्मीले तराई आक्रान्त थियो । पहाडका देउरालीहरूमा पलाएका पालुवाहरू किशोरावस्थातिर यात्रारत थिए । चिसोले जाम भएको हिमाल भने भर्खर चलमलाउन लागेको थियो ।

भेरीका बगर रगतले लत्पतिएको समाचार एकाएक यसरी आयो, हामी नेपाल भन्ने देशको न तराईमा छौं, न पहाडमा छौं, न त हिमालमा नै । हामी त सामुन्द्रिक तटमा पो छौं, जहा कुनै संकेत नै नदिइ सुनामी आइरहेको छ । त्यो सुनामीले ल्याएको खबर थियो, ‘अन्तरजातीय प्रेमका कारण नवराज वि.क.सहित ६ जनाको हत्या भयो ।’

विपरीत लिङ्गीप्रति आकर्षण हुने र भावनात्मक उडान भर्ने मनस्थिति भएको अवस्था किशोरावस्था हो । यसै अवस्थामा नवराज र सुस्माको पे्रम सम्बन्ध भयो । समाजको संस्कार, संस्कृति, अर्थ, राजनीति लगायका कुराहरूमा ध्यान दिन आवश्यक नठान्ने उमेरमा उनीहरूकोे पे्रम सम्बन्ध झाँगियो ।

आफूलाई जे मन पर्छ त्यसैमा लागि पर्ने किशोरावस्थामा रहेका उनीहरूले पे्रम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहेपछि नवराज र उनका साथीहरू जेठ १० गते जाजरकोटबाट भेरी पार गरी रुकुम पश्चिमको सोती पुगे । जात व्यवस्थाले गर्दा घटित घटनाहरूले जात व्यवस्थाकै मुकुन्डो उतारिने क्रम सुरु भइसकेको छ ।

आज जात व्यवस्थाका बारेमा भइरहेका छलफल र बहसहरू यसैका लागि हुन् । बुलन्द बन्दै गएका आवाज र उठेका औलाहरू विभेदकारी जात व्यवस्थापको प्रतिरोधका लागि हुन् । उनीहरूको आगमन सोतीमा हुना बित्तिकै सिङ्गो समाज एकसाथ ज¥याकजुरुक उठ्यो । उनीहरूमाथि घरेलु हतियारले सुुसज्जित समाजले सांघातिक हमला ग¥यो ।

मृतकका सुनिएका अण्डकोश, भाँचिएका हातखुट्टा र फुटेका टाउकाहरूका दृश्यहरू अमेरिकाले सिरियामाथि हमला गर्दा देखिएका ददर्नाक दृश्य भन्दा कम थिएनन् । उक्त हमलामा परेका नवराजहरूको रगतले नै भेरीका बगर रक्ताम्य भए । नवराज र सुस्माको पे्रम सम्बन्ध किशोरावस्थामा पुगेका आम किशोर किशोरीहरूको जस्तै थियो ।

तर पनि नवराज र उनका साथीहरूको हत्या भयो । भावनात्मक उडान भर्ने उमेरमा पे्रम वा विवाह गर्न अरुलाई छुट दिएको त्यो समाजले नवराज र सुस्मालाई अन्तरजातीय विवाह गर्ने छुट दिएन । उल्टो डोरीले हात पछाडि बाँधेर नदीमा फालिएका एकएक लासहरू केही दिनसम्म लगातार देखाएर घृणित जात व्यवस्थाले ग्रसित समाजले भनि रह्यो, ‘खबरदार, जसले जात व्यवस्थामाथि धावा बोल्छ उसले भोग्ने नियति भनेको यिनीहरूको जस्तै हो ।’

यस्तै खाले जातीय हमला नेपाली समाजमा यो भन्दा अगाडि पनि नभएका त होइनन् । तर यस हमलाले मानवीय संवेदना भएकाहरूको मथिङ्गल यसरी हल्लादियो कि मानौ नौ रेक्टरको भूकम्प आइरहेको छ र नेपाली समाज जोर जोर हल्लिरहेको छ । यस्ता घटनाहरूको सुरुवात त छोराले अन्तरजातीय विहे गरेका कारण ज्यान गुमाएका दैलेखका सेते दमाइको घटना होस् वा धारमा पानी भरेको निहुँमा मृत्युवरण गरेकी कालीकोटकी मना सार्की घटना होस् योभन्दा अगावै देखि भएको हो ।

आजसम्मका घटनाहरू हेर्ने हो भने घटाहरूको फेहरिस्त लामै बन्छ । जुन फेहरिस्तीले नेपाली समाजलाई अँध्यारो खाडलतिर धकेन्छ ।
ज्ञान, विज्ञानको फराकिलो क्षितिजलाई दक्षिण एसियामा अझ विशेष गरी भारत र नेपालले बहिष्कार गरे । जात व्यवस्थाको आधारमा समाजलाई चलाउन उद्दत रहेका शासकहरूका कारण भारतमा जातीय विभेदकै कारण रोहित भेमुलाहरूको हत्या भइरहेको छ ।

नेपालमा कैयौ नवराज विक, सेते दमाइ, अजित मिजार र मना सार्कीहरूको हत्या भइरहेको छ । आजभन्दा करिब ३५ सय वर्ष अघि ऋग्वेदमा लेखिएको वर्ण व्यवस्थालाई आधार मानेर चलेको नेपाल र भारतको समाजले जातको आधारमा मानवलाई अमानवीय व्यवहार गरिरहेको छ । वर्ण व्यवस्थाले भन्छ, विराट पुरुषको पैतालाबाट जन्मिएको शुद्रले त ब्राह्मण, क्षेत्री र वैश्यको सेवा गर्ने हो ।

अरुको सेवा गर्न जन्मिएको मान्छेले अरुसँग बराबर हुन खोज्नु नै बर्बादीको सुरुवाती हो । यही कारणले जातीय विभेदका घटनाहरू बढ्नमा बल पुगिरहेको छ । जब जात व्यवस्थाको आधारमा बनेको हालको राजनीति सकिने छ, जब जात व्यवस्थाको आधारमा बनेको असमानतालाई स्वाभाविक ठान्ने, बहिष्करणलाई कर्तव्य मान्ने र भेद्भावलाई पवित्र मान्ने संस्कृति भत्किने छ ।

जब जात व्यवस्थाको आधारमा जमिन वा पूँजी नहुने अर्थतन्त्र भत्किने छ, जब भाग्यवादमा बनेको दर्शनशास्त्रलाई भौतिकवादी दर्शनशास्त्रले विस्थापित गर्ने छ । तब जातीय विभेदका घटनाहरू रोकिने छन् । जात व्यवस्थाले गर्दा घटित घटनाहरूले जात व्यवस्थाकै मुकुन्डो उतारिने क्रम सुरु भइसकेको छ । आज जात व्यवस्थाका बारेमा भइरहेका छलफल र बहसहरू यसैका लागि हुन् ।

बुलन्द बन्दै गएका आवाज र उठेका औलाहरू विभेदकारी जात व्यवस्थापको प्रतिरोधका लागि हुन् । प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध । असमानताको जरो जात व्यवस्थाको प्रतिरोध । मान्छेलाई मान्छे हुन नदिने अन्यायविरुद्धको प्रतिरोध । जुन प्रतिरोध समयको माग हो ।

पुष्पा विष्ट (याे लेख  सन्दर्भ : रुकुम हत्याकाण्डको एक वर्ष  भनेर साझा बिसाैनीमा पनि छ)  

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्