भारत र बङ्गलादेशलक्षित नेपालले थाल्याे पर्यटन प्रवर्द्वन अभियान

भारत र बङ्गलादेशलक्षित नेपालले थाल्याे पर्यटन प्रवर्द्वन अभियान image

काठमाडौं । भारत र बङ्गलादेशमा निकै गर्मी बढेपछि त्यसको फाइदा नेपालले उठाउन थालेको छ । भारतको राजधानी नयाँदिल्लीलगायत ठाउँमा ५० डिग्री हाराहारी तापक्रम पुगेपछि गर्मी छल्न भारत र बङ्गलादेशलगायतका पर्यटकहरुका लागि उपयुक्त गन्तव्य नेपाल बन्न पुगेको हो ।

त्यहि मौका छोपेर ‘गर्मीसे बेहालः चलो नेपाल’ भन्ने हिन्दी र बङ्गलादेशी भाषामा नेपालको पर्यटन प्रवद्र्धन गर्न सामग्री बनाएर प्रचारप्रसार अघि सारिएको छ । भारत र बङ्गलादेशमा रहेका परिसङ्घको नेटवर्कबाट यो अभियान सञ्चालन गरिएको परिसङ्घका महानिर्देशक दीपकराज जोशीले बताए । पर्यटन प्रवद्र्धनसँगै पर्यटकको सङ्ख्या बढ्ने भएकाले अभियान सञ्चालन आवश्यक ठानिएको उनको भनाइ छ ।

जोशीले भने, ‘हाल भारत र बङ्गलादेशमा गर्मी भइरहेका बेला मानिसहरुले शीतल ठाउँ कहाँ हुन्छ भनेर खोजिरहेका छन् । त्यस्तो बेला उनीहरुको माइन्डमा नेपाल क्लिक होस् भनेर परिसङ्घले भारतमा अल इन्डिया एसोसिएशन अफ इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज, पिएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग सहकार्य गर्दै आएको छ ।

यस्तै बङ्गलादेशको मेट्रोपोलिटिन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र ढाका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजसँग पनि परिसङ्घले सहकार्य गर्दै आएको छ ।’ यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रवद्र्धन गरिने जोशीले बताए । नेपालको पर्यटन प्रवद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान सञ्चालन गरेको परिसङ्घले जनाएको छ ।

भारत र बङ्गलादेश लक्षित पर्यटन प्रवद्र्धन अभियानले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । बोर्डले यसअघि यस्तै अभियान सञ्चालन गरेको भन्दै क्षेत्रीय गन्तव्यको बजारीकरण र प्रवद्र्धनमा अझ काम गरेर जानुपर्ने बताए । भारतीय पर्यटक मे महिना यता करिब नौ प्रतिशत वृद्धि भएको बोर्डले जनाएको छ ।

गर्मी मौसममा नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले अझ आकर्षित गर्ने परिसङ्घको विश्वास छ । लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान सञ्चालन गरिएको र अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने तर्क बोर्डको छ ।

भारत र बङ्गलादेशको नेपालसँग हवाई सञ्जाल राम्रो र सहज भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज मान्ने गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र बैंङलोर गन्तव्यमा सिधा उडान भरिरहेको छ । सन् २०१९ मा दुई करोड ६३ लाखभन्दा बढी भारतीयले अन्य मुलुकको भ्रमण गरेकोे तथ्याङ्क छ ।

सोही अवधिमा २५ लाख बङ्गलादेशका नागरिक पनि भ्रमणका लागि निस्किएको तथ्याङ्क छ । कोभिडपछि उनीहरु बिस्तारै बाहिर निस्कन थालेकाले नै उनीहरुलाई लक्षित गरी यो अभियानले थप टेवा पुग्ने देखिएको छ । नेपाल भित्रिने विदेशी पर्यटकमध्ये हालसम्मको आँकडामा भारत नै पहिलो बनेको छ ।

कोभिड पहिले वार्षिक दुई लाखको हाराहारी भारतीय पर्यटक नेपाल आउने गरेको रेकर्ड छ । कोभिड महामारीकै दौरानमा पनि सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२० मा दुई लाख ३० हजार ८५, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ तथा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएको देखिएको छ ।

यसमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२०’ मा उल्यख गरिएको छ । सन् २०२० मा ४० हजार ३३६, २०१९ दुई लाख ५४ हजार १५० र २०१८ मा एक लाख ९४ हजार ३२३ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको देखिएको छ ।

यस्तै बङ्गलादेशबाट सन् २०२० मा चार हजार ९१७, सन् २०१९ मा २५ हजार ८४९ र सन २०१८ मा २६ हजार ३५५ पर्यटक नेपाल भित्रिएका छन् । कोभिड महामारीपछि नेपालको पर्यटन बिस्तारै लयमा फर्किंदै गएको छ । पछिल्ला दिनमा पर्यटक आगमन पनि निरन्तर बढिरहेको छ । सन् २०२२ को पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा छ ।

पछिल्लो मे महिनामा ५३ हजार ६ सय ८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैले यो अभियानले पर्यटन प्रवद्धनमा अझ टेवा पुग्ने सरोकारवाला निकायले विश्वास लिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला image

    व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला

    देउखुरी, । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उहाँँ लमही बजारमा बस्नुहुन्थ्यो  । कमाइ केही थिएन । उहाँँका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया जानुभएको थियो  । उहाँले...

  • पोखरीमा डुवेर २४ जनाको मृत्यु image

    पोखरीमा डुवेर २४ जनाको मृत्यु

    सप्तरी, । सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु...

  • तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन image

    तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन

    बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीलाई सम्मन गर्ने निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा...

  • बलात्कार मुद्दा लगाउने धम्की दिने पक्राउ image

    बलात्कार मुद्दा लगाउने धम्की दिने पक्राउ

    दाङ । बलात्कारको मुद्दामा फसाउने भनी धम्की दिएर एक व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको...