काठमाडौं । वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने दिन आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने भएकाले आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मान्ने चलन छ ।
छोराछोरीले आज आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन दिने एवम् मीठामीठा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने गरिन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डदान तथा ब्राम्हणलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाई सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज ठूलो मेला लागेको छ ।
आमा
आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने दिन । माता तीर्थ औँसी । शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ । संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।
तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ।
आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ। प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ ? त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ ।
९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्। हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ।
आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान् ।
मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछुःनेपोलियन बोनापार्ट
नेपोलियनले असल पिता किन मागेनन् ? थाहा छ ? किन कि, संसारमा त्यस्तो कुनै वेद, विज्ञान र व्यक्ति छैन, जो आमाभन्दा असल होस् ।
वैज्ञानिक अब्दुल कलाम
आमालाई सम्बोधन गर्दै भारतका पूर्वराष्ट्रपति एवं वैज्ञानिक अब्दुल कलामले भनेका छन्, जीवनमा एक दिन मात्र त्यस्तो दिन छ, जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउँन् ।
सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस् या सन्तानका हरेक गलत कदममा पहिलो पीडा हुने नै आमालाई हो ।
कसैको सफलतामा कोही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ उसको आमा हुन्छिन्। आमा सिर्फ आमा मात्र हुँदिनन्, एक सन्तानको लागि पहिलो पुस्तक, पहिलो गुरु, पहिलो साथी, पहिलो सल्लाहकार अनि हरेक पीडाको पहिलो सारथी पनि हुन् । आमा पहिलो औषधि हुन् ।
अँध्यारोको दीप पनि आमा नै हुन् । सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यो अद्भुत प्राणीको नाम आमा हो । सन्तानको खुट्टामा काँडाले घोच्दा जसको मुटुमा चस्स पोल्छ ती हुन आमा । संसारका हरेक दुःख, कष्ट झेलेर पनि आफ्ना सन्तानका लागि लडिरहने क्षमता केवल आमामा मात्र हुन्छ। आमा महान् छिन् । त्यसैले आमाको सर्वत्र चर्चा गरिन्छ ।
सन्तानको क्रन्दनमा रुँदा रुँदा सायद एक आमाको आँसु नदी जत्तिकै भिमकाय हुन्छ होला । सन्तानकै बारेमा सोचेर सायद उनका पीडाहरूले गगनचुम्बी पहाडभन्दा बडेमानका ढिस्काहरू बनाउँछन् होला । एक आमाले सन्तानको पीडामा बगाएको आँसु देखिन्थ्यो भने, सायद आठौं महासागर आमा कै नामबाट बन्थ्यो होला। सन्तानका लागि एक आमाले पाएका पीडालाई सङ्गाल्ने हो भने सबैभन्दा अग्लो हिमालको नाम आमाकै नामबाट हुन्थ्यो होला । सन्तान हुर्काउँदा यति पीडा सहन्छिन्, यति आँसु पिउँछिन् तर, त्यसको वहिखाता आमाले कहिल्यै पनि राख्दिनन् । किन कि आमालाई त आफ्नो सन्तानलाई माया गर्न मात्र आउँछ।
आमालाई कखरा त्यति राम्रो आउँदैन तर पनि सबथोक जान्दछिन् । सन्तानलाई परेको चिन्ता । आफ्नो सन्तानलाई परेको पीडा । आमाले मेरा हरेक भावानाहरू मज्जाले पढ्न सक्छिन् । मलाई के चाहिएको छ, त्यो आमालाई प्रष्ट थाहा हुन्छ । मेरा चाहनाहरूको लागि मात्र उनले राप र ताप सहेकी छिन् ।
कहिलेकाहिँ यस्तो लाग्छ, एक सन्तानको सासमा नै एक आमाको सास अड्केको हुन्छ । म हाँस्दा सबै सँगै हास्छन् तर म रुँदा सँगै रुने यो संसारमा सिर्फ मेरी आमा मात्र हुन्छिन् । जब एक बालक जन्मिन्छ, तब उसले नयाँँ संसार देख्छ । तर आमाको अर्को नयाँँ संसार त्यो सन्तान नै हुन्छ । अफ्नो सन्तान आमाको लागि सबथोक हो । पुरै सर्वस्व हो । सन्तान भइसकेपछि एक आमाको त्यो बाहेकको अर्को कुनै संसार हुँदैन ।
अब आमाका हरेक इच्छा, चाहना, सुख सबै यो संसारले खोसिसक्यो । अब आमा आफैँ हासेको कहिल्यै देखिने छैन । अब आमा खुसी भएको कहिल्यै देखिने छैन। किन कि, आमाको हासो, खुसी सबै, उनको संसार आफ्नो सन्तानले हरिसक्यो । अब आमालाई हाँस्नु छ भने सन्तान हाँसेको पर्खिनु छ । सन्तानलाई खुसी देखेपछि मात्र अब आमा खुसी हुन सक्छिन् ।
अब आमालाई आफैँ कहिल्यै भोक लाग्ने छैन । जब सन्तान पेट भरी खान्छ अनि मात्र आमाको भोक मेटिनेछ । आमाको निन्द्रा पनि त्यो उनको नयाँ संसारले लगिसक्यो। जब सन्तान सुत्दछ अनि मात्र आमालाई निन्द्राले च्याप्छ ।
जब एउटा ५ वर्षको बालक आमाको छेवैमा जान्छ र भन्छ, आमा । तब आमाले बुझ्छिन्, सन्तानलाई चकलेट चाहियो । आमाले बगलिबाट सिक्का झिक्छिन् । जब छोरो १६ वर्षको हुन्छ, तब सन्तान छेवैमा गएर आमालाई म्वाई खान्छ र आमा भन्छ, तब आमा भन्छिन् ल भन् कति पैसा चाहियो ?
आमा हुन्, त्यसैले आफ्नो सन्तानको बारेमा हरेको कुराको अवगत राख्दछिन् । आफ्नो सन्तानको बारेमा हरेक कुराको जानकारी राख्ने र आफ्ना सन्तानलाई के मन पर्छ, के पर्दैन, कस्तो खाने कुरा खान मन मान्दछ, सबै आमाले रिसर्च गर्छिन् । यसरी हेर्दा त आमा संसारकै पहिलो पीएचडी स्कलर हुन् ।
जीवनमा सबैभन्दा खुसी आमाकै काखमा मिल्छ । आमाले जस्तो सुकै पीडा सजिलै टार्न सक्छिन् तर आफ्नो सन्तान गुमाएको पीडा उसलाई असह्य हुन्छ । सबैभन्दा बढी रोदन आमालाई सन्तान गुमाउनुमा हुन्छ । त्यतिबेला एक अबला आमालाई यस्तो लाग्दो हो, कालले सर्वस्व हरोस्, बरु मलाई नै हरोस् तर मेरो सन्तानलाई केही नहोस् ।
आमाको अगाडि ब्रह्माण्ड सुक्ष्म हो ।
आफ्ना सन्तानप्रतिको अपार माया देख्दा यस्तो लाग्छ, मिल्थ्यो भने आमाले यतिसम्म गर्थिन्, कालसँग सन्तानको सट्टा आफैँ जान्थिन् । आमाले आफ्ना सन्तानलाई गर्ने माया र स्नेहलाई लेखेर या कुनै शब्दको माध्यमबाट व्यक्त गरेर खुलाउन सकिँदैन। आमाको माया आफ्ना सन्तानप्रति अनुत्तरित हो, विशाल हो । आमाले गर्ने मायाभन्दा ब्रह्माण्डको आकार पनि सुक्ष्म हो।
सायद आमाले दिएको यही स्नेहले गर्दा होला, कतै चोट पर्दा पनि आमा नै उच्चारण आउँछ । खुट्टामा काँडाले घोच्दा होस् या कुनै पीडामा हुँदा होस् एक सन्तानले आमाकै नाम जप्छ । त्यसैले आमा एक आमा मात्र होइनन्, ईश्वरीय रुप हुन्। एक लेखकले त्यसैले क्या खुब सुन्दर भने, भगवान चारैतिर आउन सक्दैनन्, त्यसैले भगवानले आमा पठाए ।
भगवान खोज्न मन्दिर जानु पर्दैन । आमाको चरण ढोगे पुग्छ । धर्म गर्न कुनै दान गर्न पर्दैन, आमालाई खुसी राखे पुग्छ । चार धाम, सबै ताीर्थ आमामै गएर समाहित भएका छन् । तेत्तीसकोटी देवताको सारा शक्ति आमाकै आशिर्वादबाट प्राप्त हुन्छ । हामीले पुज्ने नवदुर्गा भवानी नै आमाको रूप हो । आमाको चरण स्पर्शबाटै स्वर्गको द्वार खुल्दछ। आमालाई गरिने सम्मान, माया नै हरेक संकटको मोचन हो। आमाको आशिर्वाद छ भने सब थोक छ।
आफ्ना सन्तानका निम्ती आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्तिकारको सलाम छ। आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्हनाल बनेको हो । जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनःनिर्माण यात्रा एक दशकमा प्रवेश गरेको सन्दर्भमा “पुनःनिर्माणको एक दशकको पुनरावलोकन” तथा अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक...
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत महिनासम्म समग्र आम्दानीमा ६।२ प्रतिशतको वृद्धि गरेको छ। यस वर्ष चैत मसान्तसम्मको आम्दानी २० अर्ब १२ करोड ५ लाख पुगेको...
काठमाण्डौ । भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले एक नया संकटको मोडमा पुगेको छ। जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा भएको आतङ्ककारी आक्रमणले दुई परमाणु शक्ति सम्पन्न देशहरूको बीचमा तनावलाई अझ चर्काएको छ।...
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले शुक्रबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र क्लिनिकमा सघन उपचार...