म्याग्दी, ३ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ।

विसं २०६६ मा मार्ग खुलेको सडकको दरवाङ–फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरेको आयोजना लक्ष्यअघि नै सम्पन्न भएको हो। मार्ग खुलेदेखि हालसम्म यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो।

प्रदेश समपूरक शीर्षकमा गाउँपालिकाले चालु आवमा रु एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मङ्गला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजार ४३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको थियो।

आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा १५ दिनअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए। इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद कम्पनीले लिएको जिम्मेवारी समयमै पूरा गरेको उनले बताए।

तीन दशमलव पाँचदेखि चार मिटर चौडाइ भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ। फराकिलो पारेपछि करिब ५०० मिटर दूरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्याबियन, पलम पर्खाल निर्माण र एक ठाउँमा कजवे निर्माण गरिएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाले बताए।

‘यस आयोजनामार्फत ११ हजार घनमिटर भित्ता काट्ने, ४४५ घनमिटर ग्याबियन जालीको पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण गर्ने सम्झौता भएको थियो’, उनले भने, ‘प्राविधिक टोलीबाट नापजाँच र मूल्याङ्कनको चरणमा रहेको छ।’

यसअघिको वर्षमा थापाचौरदेखि देविस्थान जाने घुम्तीसम्मको खण्डमा स्तरोन्नति भएको थियो। यो सडक मालिका गाउँपालिका–४, २, र ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन्।

यो मालिका गाउँपालिकाको चालु आवको प्राथमिकताप्राप्त आयोजना भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताए। रासस

मुख्य बुँदाहरू 

झिनुडाँडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार।

एबिसी पदमार्गमा मोबाइल चार्जिङ, इन्टरनेट र तातोपानी सेवा सहज।

स्थानीय होटल व्यवसायी र पदयात्रीलाई प्रत्यक्ष लाभ।

दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत सामग्री ढुवानी गरेर आयोजना सम्पन्न।

आगामी वर्ष हिमालय क्षेत्रसम्म विद्युत् विस्तार गर्ने योजना।

चालु आवको जेठसम्म अन्नपूर्ण क्षेत्रमा ४ लाख ४१ हजारभन्दा बढी विदेशी पर्यटक आगमन।

भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको तथ्याङ्क।

पूर्वाधार सुधारसँगै अन्नपूर्ण क्षेत्रको पर्यटन थप आकर्षक बन्ने अपेक्षा।

कास्की, ३ असार । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो।

कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र झिनु डाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो। यससँगै वर्षौैँदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत् सेवा पाउने भएका छन्।

यसबाट विशेष गरेर पर्यटन व्यवसायी औधी रमाएका छन्। अन्नपूर्ण ११ झिनुमा विगत २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका जगदीश गुरुङले भने, ‘यहाँ राष्ट्रिय प्रसारण लाइन विद्युत आउनु औधी खुसीको कुरा हो। अव यहाँको पर्यटन अझ प्रवद्र्धन हुने छ।’ उनका अनुसार झिनुडाडादेखि माथिल्लो सिनुवासम्म ठूला साना गरी ६०\७० होटल सञ्चालनमा आइसकेका छन्।

अन्नपूर्ण ११ छोम्रोङका होटल व्यवसायी मिकाश गुरुङले राष्ट्रिय प्रसारण लाइन विद्युत सेवाले पदयात्रीलाई समेत थप सहज बन्ने विश्वास व्यक्त गरे। राष्ट्रिय प्रसारण लाइन पुगेपछि पदयात्रीले मोबाइल चार्जिङ, तातोपानी, इन्टरनेट तथा अन्य विद्युतीय सेवामा थप सहज हुने जनाइएको छ। । होटल व्यवसायीका अनुसार अब पर्यटकलाई चौबिसै घण्टा विद्युत् सुविधा उपलब्ध गराउन सकिने भएकाले सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउनेछ।

नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीवश्री रम्तेलका अनुसार घान्द्रुक बसपार्कबाट झिनु र छोम्रोङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी विद्युत् प्रवाह सुरु भइसकेको छ। उनले भने, ‘घान्द्रुक बसपार्कदेखि माथिल्लो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन। अहिले अपर सिनुवासम्म लाइन विस्तार गरी चार्जसमेत भइसकेको छ र स्थानीयले मिटर जडान गर्न थालेका छन्।’

यस क्षेत्रमा विद्युतीकरणका लागि २०७९ सालमा पहिलोपटक बोलपत्र आह्वान गरिएको थियो। पहिलो बोलपत्रअनुसार छनोट भएको कम्पनीले सम्झौता नगरेपछि पुनः ठेक्का आह्वान गरिएको थियो। बीएनआर महालक्ष्मी जेभी, धनकुटाले लेवर कन्ट्रयाक्टबापत रु दुई करोड २१ लाखको लागतमा आयोजना सम्पन्न गरेको हो।

दुर्गम हिमाली भूगोलका कारण आयोजना कार्यान्वयन चुनौतीपूर्ण बनेको थियो। विशेषगरी छोम्रोङभन्दा माथिल्लो क्षेत्रमा विद्युत् पोल र ट्रान्सफर्मर हेलिकप्टरमार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ।

‘पदयात्रीलाई मोबाइल चार्ज गर्न, पानी तताउन र इन्टरनेट चलाउन समस्या हुन्थ्यो। राष्ट्रिय प्रसारण लाइन पुगेपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन्’, इन्जिनियर रम्तेलले भने। प्राधिकरणले आगामी आर्थिक वर्षभित्रमा एबिसी पदमार्गमा पर्ने हिमालयसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना बनाएको छ। सामग्री अभावका कारण हालका लागि काम रोकिए पनि आगामी वर्ष विस्तारलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ।

स्थानीयवासीका अनुसार विद्युत् पहुँच विस्तारले पर्यटन व्यवसायमात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले आधुनिक विद्युत् सुविधा विस्तारले अन्नपूर्ण पदमार्गको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। ‘पदयात्रीले अब यस क्षेत्रमा पदयात्रामा आउँदा समस्या भोग्नु पर्दैन, यसबाट सहज सञ्चार सुविधाका लागि सहयोग पुगेको छ’, गुरुङले भने।

विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पर्यटकको बसाइमा तथा यात्रा थप सहज, सुरक्षित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ। यसबाट थप पर्यटक आगमन वृद्धि हुने स्थानीयले विश्वास लिएका छन्।

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन्। चालु आवको जेठसम्ममा चार लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। आव २०८१÷८२ मा जम्मा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। चालु आव सकिन अझै एक महिना बाँकी रहेकाले यस वर्ष पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा रविन कडरियाले बताए।

‘गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झन्डै ३०० प्रतिशतले वृद्धि भयो’, उनले भने, ‘भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएको यो पहिलोपटक हो।’ भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको पर्यटन प्रवद्र्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसार आदि कारणले भारतीय पर्यटक बढेको उनले बताए। यस याममा गर्मी छल्न पनि भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन्।

आयोजना कार्यालयको आकडाअनुसार गत जेठसम्ममा भित्रिएका कुल पर्यटकमध्ये तीन लाख १९ हजार ४१९ दक्षिण एसियाली मुलुकका र एक लाख २१ हजार ९९३ अन्य मुलकका रहेका छन्। जेठमा मात्र एक लाख २७ हजार ४५९ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका हुन्। गत वर्ष जेठमा उक्त सङ्ख्या जम्मा ३१ हजार ९५५ मा सीमित थियो। यस वर्ष वैशाख–जेठमा पोखराका होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

मनसुन भित्रनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको उनको भनाइ छ। झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ। पोखरा आउने भारतीय पर्यटकमध्ये झन्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन्। पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने अन्य मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन्। पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्वप्रसिद्ध गन्तव्य मानिन्छ।

अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा पुग्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ। रासस

मुख्य बुँदा

२५ वर्षमा २६ लाखभन्दा बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा

सन् २०२५ मा सबैभन्दा धेरै करिब ३ लाख पर्यटक

कोभिड–१९ र भूकम्पका बेला पर्यटक आगमन घटेको तथ्याङ्क

सन् २०२२ पछि पुनः तीव्र वृद्धि

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वप्रसिद्ध गन्तव्य

प्राकृतिक सौन्दर्य र संस्कृति पर्यटक आकर्षणका मुख्य कारण

कास्की, २६ माघ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३ सय १३ पर्यटक आएकामा सन् २०२५ मा अहिलेसम्मकै बढी दुई लाख ९९ हजार ८ सय ३१ पर्यटक भित्रिएका छन् ।

यो अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १ सय ५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’ को आँकडाले देखाएको छ । कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक  एक लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । उक्त वर्ष एक लाख एक हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।

त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९ सय ३० पुगेको थियो । त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो । सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२२ मा एक लाख २९ हजार ७ सय २३, सन् २०२३ मा एक लाख ९१ हजार ५ सय ५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र गएको वर्ष अर्थात सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

गएको वर्ष आएका पर्यटकमध्ये दक्षिण एशियाली मुलुकका एक लाख ७७ हजार ६ सय २८ र अन्य मुलुकका एक लाख २२ हजार २ सय ३ रहेका ‘एक्याप’ का प्रमुख डा। रबिन कडरियाले जानकारी दिनुभयो । सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उहाँले बताउनुभयो । ‘पर्यटक आगमन बर्सेनि बढ्दो छ, पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म यस क्षेत्रमा आउने गरेका छन्’, उहाँले भन्नुभयो ।

अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ ।

आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । रासस

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारहरूको टोलीले साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण सङ्गीत समूहले आधार शिविरमा नेपाली सङ्गीतको झल्को दिने साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

हार्मोनियम, बाँसुरी, गितार लगायतका नेपाली वाद्यवादनका साधनको सङ्गीतमा फ्रान्सेली कलाकारहरूले राखेको साङ्गीतिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले बताए।

“अन्नपूर्ण आधार शिविरमा पहिलो पटक यस प्रकारको साङ्गीतिक कार्यक्रम आयोजना गरिएको हो, फ्रान्सेली कलाकारहरूको समूहले राखेको यो प्रस्तुतिले आगामी दिनमा हामीलाई आधार शिविरमा साङ्गीतिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ”, अन्नपूर्ण पदमार्गका अभियन्ता समेत रहनुभएका गुरुङले भने ।
कलाकारहरूले नेपालीपन झल्कने सङ्गीत प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्य समेत प्रस्तुत गरेका थिए ।

अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्च कुण्ड ताल परिसरमा प्रस्तुत सङ्गीतमा नेपाली र विदेशी पर्यटकहरूले रुचिका साथ अवलोकन गरेका थिए । हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गर्दै आधार शिविर पुग्नुभएका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सङ्गीतको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने बताए।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा आयोजित हीरक महोत्सवको अवसरमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ । साथै आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिताका साथै मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न गरिएको छ । रासस

म्याग्दी, १४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। विश्वकै दसौँ अग्लो अन्नपूर्ण हिमाल (८,०९१ मि) आरोहणका लागि आएका विदेशी तथा आन्तरिक पर्यटकहरूले आधार शिविर क्षेत्र गुलजार बनाएका छन्।

आरोहीहरू, शेर्पा, पथप्रदर्शक, सहयोगी मजदुर र घुम्न आएका आन्तरिक पर्यटकहरूका कारण आधार शिविर क्षेत्र टेन्टले भरिएको छ। पर्यटन व्यवसायी तेज गुरुङका अनुसार अहिले दैनिक दर्जनौं पर्यटकहरू नारच्याङ हुँदै आधार शिविरतर्फ गइरहेका छन्।

समुन्द्र सतहबाट ४,१०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरसम्मको यात्रा आफैँमा रोमाञ्चक छ। मिस्त्री खोलाको किनारैकिनार, अग्ला झरना, विशाल हिमशृङ्खला, हरियाली पहाड र दुर्लभ वनस्पतिले भरिएको मार्गले यात्रुलाई लोभ्याउने गर्छ। हुमखोलादेखि दुई दिनको पदयात्रामा पुगिने यो शिविर छोटो समयमै प्राकृतिक सौन्दर्यको भरपूर अनुभूति दिन्छ।

पञ्चकुण्ड ताल: थप आकर्षण

अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङ्गको पञ्चकुण्ड ताल पनि पर्यटकको प्रमुख आकर्षण बनेको छ। स्वच्छ जल, हिमाली छायाँ र शान्त वातावरणले यो ताललाई आध्यात्मिक र प्राकृतिक दृष्टिले विशेष बनाएको छ।

स्थानीय पर्यटन व्यवसायमा उत्साह

पर्यटकको चापसँगै स्थानीय होटल, गाइड, र सामान बोक्ने काममा संलग्न व्यवसायीहरू उत्साहित छन्। “कोरोनापछि पर्यटन क्षेत्र बिस्तारै पुनर्जीवित हुँदैछ, यो हामी सबैका लागि सकारात्मक संकेत हो,” व्यवसायी गुरुङ भन्छन्। सरकार र स्थानीय तहले पूर्वाधार विकास र पदमार्ग संरक्षणमा ध्यान दिए अझ बढी पर्यटक भित्र्याउन सकिने सरोकारवालाहरूको भनाइ छ।