काठमाडौँ, ९ असार । भक्तपुरको भक्तपुर नगरपालिका १ मा सामान्य विवादका क्रममा भएको झैझगडा हिंसात्मक बन्दा एक युवकको मृत्यु भएको छ।

महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने आयुष कार्की, झापा घर भई सल्लाघारी बस्ने दोर्जे शेर्पा र गुल्मी घर भई सल्लाघारी बस्ने रमेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले घटनाको कारण र संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

मुख्य बुँदा

देशभरका विभिन्न स्थानबाट २६ जना पक्राउ।

ट्रामाडोल, डाइजेपाम, फेनारगन र ब्राउनसुगर बरामद।

५५ किलो गाँजासहित एक जना पक्राउ।

काठमाडौँ, मोरङ, सुर्खेत, बझाङ लगायतमा कारबाही।

डिजिटल तराजु र नगद रकम समेत बरामद।

लागूऔषध कारोबारविरुद्ध प्रहरीको अभियान जारी।

काठमाडौँ, १७ जेठ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद रु २० हजारसहित दुई र बझाङको केदारस्युँ गाउँपालिका–९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो ।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट ब्राउनसुगरसहित तीन, सल्ल्यानको बागचौर नगरपालिका–२ खरिबोटबाट ब्राउनसुगरसहित एक, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट खैरो हेरोइन बोकेका दुई जनालाई एउटा डिजिटल तराजु र नगद रु १२ हजार ७१० सहित शुक्रबार पक्राउ गरिएको हो ।

यसैगरी मोरङ, बेलबारी नगरपालिका–१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका–१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका–४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ अमहवाबाट एक, मध्यपुर थिमि नगरपालिका–५ कमेरोटारबाट दुई, बर्दिया, गुलरिया नगरपालिका–८ थपुवाबाट चार, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ छेपारेबाट एक, चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठीबाट एक र सर्लाहीको ईश्वरपुर नगरपालिका–८ रामपुरबाट ५५ किलो गाँजासहित एक जनालाई शनिबार पक्राउ गरिएको हो । रासस

काठमाडौं, ३१ वैशाख । नक्कली गहना धितो राखेर रकम ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका–१ घर भएका ३८ वर्षीय कालीदास धतानी तथा भक्तपुर नगरपालिका–८ बस्ने झापा अर्जुनधारा नगरपालिका–३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले ललितपुरका एक सुनचाँदी व्यवसायीसँग आमा बिरामी परेको र उपचारका लागि तत्काल रकम आवश्यक परेको भन्दै सुन धितो राखेर ५ लाख रुपैयाँ ऋण लिएका थिए।

धितो राखिएको गहना बाहिरबाट सुनको लेप लगाइएको नक्कली रहेको खुलेपछि व्यवसायीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै तीनै जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुन तथा चाँदीजस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।

सर्लाही, २८ वैशाख । सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ : ३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको हो । शव अत्यधिक सडेकाले मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

जुम्ला, २४ बैशाख । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले जबरजस्ती करणी मुद्दाका प्रतिवादी रहेका वडाध्यक्षलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्षमाथि थप अनुसन्धान भइरहेको छ । घटनाबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

विराटनगर, १९ वैशाख । झापामा जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–९ निवासी २३ वर्षीय अमृतधन कुलुङ राईलाई १९ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित युवतीले २०८२ साल माघ २० गते दिउँसो शिवसताक्षी–९ दुधेस्थित पुरानो घरमा लगेर जबरजस्ती करणी गरिएको भन्दै वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन् ।

जाहेरी परेको दुई दिनपछि, वैशाख १६ गते प्रहरी टोलीले राईलाई दुधे चोकबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका राईमाथि झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

 

बुटवल, १६ चैत्र । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ ।

अध्यक्ष चौधरीसँगै राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले मुद्दा दर्ता गरेको हो । ‘भैरहवा–१५’ नाम परिवर्तन गरी दिइएको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको जनाइएको छ ।

मुद्दा दर्तासँगै अध्यक्ष चौधरीको पदसमेत संकटमा परेको छ । यस प्रकरणमा आरोपितमध्ये सन्तकुमार यादव हाल थुनछेकका लागि कारागारमा रहेका छन् । पीडितले २०८१ असोज ६ गते किटानी जाहेरी दिएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यता, अध्यक्ष चौधरीले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् । उनले कानुनी रूपमा मुद्दा लड्ने बताएका छन् ।

काठमाडौँ, ५ फागुन । कैलालीमा एक युवकले श्रीमतीको गोली हानी हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी मा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरायसी विवादका कारण रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली प्रहार गरेका थिए । घटना लगत्तै उनले सोही बन्दुक प्रयोग गरी आफैंलाई पनि गोली हानेका छन् । घाइते अवस्थामा रहेका रामबहादुरको सेती प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतक संजिताको शव घटनास्थलमै रहेको छ । माइती पक्ष आएपछि मात्रै शव उठाउने तयारी गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।