धरौटीमा छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी
दम्पती काठमाडौँको मण्डिखाटारबाट पक्राउ
‘न्यायाधीशसँग चिनजान’ भन्दै सेटिङको झूटो आश्वासन
श्रीमतीको खातामा रकम जम्मा गराइएको
ठगी कसुरमा थप अनुसन्धान जारी
काठमाडौँ, १८ चैत्र । प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–मण्डिखाटार बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका र हाल जगन्नाथदेवल (सुनधारा) कारागारमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई धरौटीमा छुटाइदिने आश्वासन दिँदै रकम असुलेका थिए।
हरि बहादुरले सर्वोच्च अदालतका न्यायाधीशसँग आफ्नो चिनजान रहेको र ‘सेटिङ’ मिलाएर छुटाइदिने दाबी गर्दै धरौटी रकम तथा वकिल खर्चको नाममा पीडितसँग पैसा मागेका थिए।
उनकै योजनाअनुसार पीडितलाई उनकी श्रीमती मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाइएको थियो। तर रकम लिएको पछि पनि काम नभएपछि ठगी भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दै दुवै जनालाई नियन्त्रणमा लिएको हो। हाल उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
देशभरबाट १४ जना लागुऔषधसहित पक्राउ
काठमाडौँ, झापा, बर्दिया, सिरहा, दाङ, कैलाली, कञ्चनपुर, सुनसरी लगायत स्थानबाट पक्राउ
खैरो हेरोइन, पोलेन, ट्याब्लेट र गाँजा बरामद
धरानबाट १७ किलो गाँजा सहित दुई जना पक्राउ
नियमित गस्ती र चेकजाँचका क्रममा नियन्त्रण
थप अनुसन्धान जारी
काठमाडौँ, १३ चैत्र । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार र बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित नरसिंह चोकको सिटी हेभन होटलबाट खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादव पक्राउ परेका छन्।
यसैगरी काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना र लहान नगरपालिका–३बाट एक जना पक्राउ परेका छन्।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जना, लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक जना र बेलौरी नगरपालिका–८ पचुईबाट दुई जना पक्राउ परेका छन्।
यस्तै धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जना तथा धरान उपमहानगरपालिका–२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
काठमाडौँ, २२ माघ । काठमाडौँको बौद्ध क्षेत्रबाट एक करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन चोरीमा संलग्न एक जनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।
बौद्धस्थित स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी गरेको आरोपमा प्रेम थारुलाई पक्राउ गरिएको हो। थारु नेपालगञ्ज स्थायी घर भई हाल कलंकीमा बस्दै आएका थिए।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार थारुलाई काठमाडौँको नागार्जुन नगरपालिका–६ क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको हो। गोली थारुको खुट्टामा लागेको र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो थारुले लामाको घरबाट करिब ३० तोला सुन, चाँदीका विभिन्न गहना तथा सिमाला चोरी गरेका थिए। चोरी भएका सम्पूर्ण गहना बरामद गरी मुचुल्का तयार गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
थारु यसअघि पनि चोरी तथा लुटपाटका विभिन्न घटनामा संलग्न रहँदै आएको खुलेको छ। उनी २०७९ सालमा चोरी मुद्दामा पक्राउ परी कारागार चलान भएका थिए भने अदालतबाट पाएको प्यारोल सुविधामा बाहिर रहँदै पुनः आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
काठमाडौँ, ३० पुस । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ मा सञ्चालित एसबीआई बैंकको शाखामा भएको नगद लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
घ्याङलेख गाउँपालिकाको वडा नम्बर–१ बाट चार जनालाई नियन्त्रणमा लिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।लुटपाटमा प्रयोग गरिएको बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ। प्रारम्भिक विवरणअनुसार बैंकको शाखा कार्यालयबाट करिब ३ करोड १० लाख रुपैयाँ लुटिएको छ।
मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डमाथि आक्रमण गरी नगद लुटेर भागेका थिए। घटनामा संलग्न अन्य व्यक्ति छन् वा छैनन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं, १८ पुस । काठमाडौं उपत्यकाका विभिन्न होटलहरूमा ग्राहकको मागअनुसार युवती सप्लाइ गर्ने अवैध धन्दामा संलग्न एक युवकलाई अदालतको आदेशपछि कारागार चलान गरिएको छ । युवती सप्लाइ गरेको अभियोगमा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीलाई केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा) पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको बिहीबारको इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई कारागार चलाइएको हो । प्रहरीका अनुसार कार्कीले आफ्नै निजी कार प्रयोग गरी युवतीहरूलाई उपत्यकाका विभिन्न होटलहरूमा पुर्याउने र त्यसबापत ठूलो रकम असुल्ने गरेको पाइएको छ । उनी ठमेल, गौशाला, गोंगबु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ ।
कार्कीलाई प्रहरी वृत्त गौशालाले २० मंसिर मा सरस्वतीनगरबाट पक्राउ गरेको थियो । उनीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । अनुसन्धानका क्रममा कार्कीले होटलमा ग्राहक खोज्ने व्यक्तिहरू, होटलका स्टाफ तथा ट्याक्सी चालकहरूसँग निरन्तर सम्पर्क राख्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनले करिब ५० जना युवतीका तस्बिरहरू ट्याक्सी चालक, होटलसँग सम्बन्धित व्यक्ति तथा ग्राहक खोज्ने एजेन्टहरूलाई उपलब्ध गराउने गरेको पाइएको छ ।
कार्कीविरुद्ध दुई जना युवतीले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा आफूहरूलाई प्रलोभनमा पारेर जबर्जस्ती यौनधन्दामा लगाइएको उल्लेख छ । १९ मंसिर मा ती दुई युवतीलाई कार्कीले बागमती बीएसी ०९४८ नम्बरको आफ्नै कारमा राखी काठमाडौं महानगरपालिका–९ विजयचोक पुर्याएर ग्राहकसँग सम्पर्क गराइदिएको र आफु बेपत्ता भएको प्रहरीको भनाइ छ ।
पीडित युवतीहरूले जानकारी दिएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो । त्यसपछि परेको उजुरीका आधारमा कार्कीलाई २० मंसिर मा कालोपुल क्षेत्रबाट पक्राउ गरिएको थियो ।
एजेन्सी । अष्ट्रेलियाको क्यानबेरास्थित एसीटी सुप्रिम कोर्ट ले नेपाली युवक अभिषेक तिमल्सिना (३१) लाई युवतीमाथि बलात्कार गरेको अभियोगमा ३ वर्षको जेल सजाय सुनाएको छ । अष्ट्रेलियाली समाचार संस्था एबीसी न्युजका अनुसार, अदालतले तिमल्सिनालाई बलात्कारका दुई आरोप तथा सहमति बिना गरिएका चार अश्लील कार्य मा दोषी ठहर गरेको हो ।
यो घटना नोभेम्बर २०२२ मा क्यानबेराको वेस्टफिल्ड बेलकन्नन भित्र रहेको एक आर्ट पसलमा भएको थियो । तिमल्सिना पसलमै काम गर्थे र सामान किन्न आएकी ग्राहकलाई सटर बन्द गरी नियन्त्रणमा लिएर सहमति बिना चुम्बन, फोटो खिच्ने तथा कपडा फेर्न लगाउने जस्ता गतिविधि गरेका थिए । समाचारअनुसार, उनलाई पसलको पछाडिको कोठामा लगेपछि महिलाले प्रतिरोध गरे पनि तिमल्सिनाले दुई पटक बलात्कार र धेरै पटक अश्लील दुर्व्यवहार गरेका थिए ।
एसीटी सर्वोच्च अदालतकी न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले योजनाबद्ध रूपमा वातावरण तयार पारेको उल्लेख गर्दै, पसलको रोलर ढोका बन्द गर्नु र ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गर्नु पीडितलाई थप जोखिममा पारेको निर्णयमा उल्लेख छ । तिमल्सिना नेपालमै हुर्किएका हुन् र १२ महिनाभन्दा बढी जेल परेमा उनी निर्वासनको जोखिममा पर्ने बताइएको छ ।
यो मुद्दा Positive Consent Law (एसीटी) अन्तर्गत अदालतमा परीक्षणमा पुगेको पहिलो केस समेत हो ।
भक्तपुर, २२ कात्तिक । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मध्यपुरथिमि राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी तथा तोडफोडमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुर जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेजुका अनुसार पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोथिमि बस्ने २३ वर्षीय सागर मगर, रामेछाप घर भई हाल सानोथिमि मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र सानोथिमि बस्ने २४ वर्षीय संजितकुमार ठाकुर रहेका छन्।
प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो। पक्राउ परेकाहरूले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मध्यपुरथिमि राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी तथा तोडफोड गरेका थिए।
डीएसपी जवेजुले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी, सोही आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न कारागारबाट फरार भएका थप पाँच जना कैदीबन्दीलाई समेत पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको पनि उनले जानकारी दिए।
मुख्य बुँदा
मकवानपुरको भीमफेदी कारागारमा हाल १,०२३ जना कैदीबन्दी रहेका छन्।
तीमध्ये सबैभन्दा बढी लागुऔषध मुद्दाका ३८० जना र जबरजस्ती करणी मुद्दाका २९६ जना।
कर्तव्य ज्यान मुद्दाका १४९ जना कैदीसहित यी तीन अपराधमा मात्रै ८२५ जना (८०%) कैदी।
कुल कैदीमध्ये ९९० पुरुष र ३३ महिला, जसमा ७० जना विदेशी नागरिक।
हेटौँडाबाट मात्रै १८९ जना कैदी, जसले सहरी क्षेत्रमा अपराध दर उच्च देखाउँछ।
ग्रामीण क्षेत्रका कैदीमा लागुऔषध ओसारपसारमा संलग्नहरूको संख्या उल्लेख्य।
हेटौँडा, कार्तिक १८ । मकवानपुरको भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणी मुद्दाका कैदीबन्दीको संख्या अत्यधिक रहेको पाइएको छ। नेपालका प्रमुख कारागारहरूमध्ये गनिने भीमफेदी कारागारमा हाल १ हजार २३ जना कैदीबन्दी छन्।
कारागार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैदीबन्दीहरू संलग्न अपराधको प्रकृति हेर्दा लागुऔषध, जबरजस्ती करणी र कर्तव्य ज्यानका घटनाका कैदीको संख्या सर्वाधिक रहेको छ।
तथ्यांकअनुसार सबैभन्दा धेरै लागुऔषध मुद्दामा स्वदेशी र विदेशी गरी ३८० जनाले कैद भुक्तान गरिरहेका छन्। त्यसपछि जबरजस्ती करणी मुद्दाका २९६ जना र कर्तव्य ज्यान मुद्दाका १४९ जना रहेका छन्। यी तीन अपराधमा मात्र ८२५ जना कैदी रहेका छन्, जुन कुल संख्याको झन्डै ८० प्रतिशत हो।
अन्य अपराधहरूमा चोरीमा ४४ जना, डाँकामा २८ जना, मानव बेचबिखनमा १५ जना र ज्यान मार्ने उद्योगमा १२ जना छन्। हातहतियार, संगठित अपराध र बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि कैदीहरू रहेका छन्।
भीमफेदी कारागारमा ९९० पुरुष र ३३ महिला कैदी छन्। तीमध्ये ७० जना विदेशी नागरिक रहेका छन्, जसले प्रायः लागुऔषध, चोरी र जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका छन्।
जिल्लागत विवरणअनुसार ४६५ जना मकवानपुरकै विभिन्न स्थानीय तहका हुन्। सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाबाट १८९ जना (कुलको ४१%) रहेका छन्। त्यसपछि राक्सिराङ गाउँपालिकाबाट ५० जना, मनहरीबाट ४६ जना र कैलाश गाउँपालिकाबाट ४२ जना कैदी रहेका छन्।
कारागार प्रशासनका अनुसार ग्रामीण क्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्नता बढ्दै गएको देखिन्छ, जसले सामाजिक र आर्थिक कारणसहितका गम्भीर विमर्शको आवश्यकता औंल्याउँछ।