अबुजा, नाइजेरिया। नाइजेरियाको नाइजर राज्यको सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कूलबाट अघिल्लो महिना अपहरण गरिएका थप १ सय ३० जना बालबालिका सुरक्षित रूपमा मुक्त भएका छन्।
नाइजेरियन सरकारले यो जानकारी दिएको छ। यसअघि यही महिनाको सुरुमा १ सय जना बालबालिका रिहा भइसकेका थिए। अपहरणमा परेका बालबालिकाको वास्तविक संख्या प्रारम्भमा स्पष्ट हुन कठिन भएको थियो, र केही विद्यार्थी आक्रमणकै बेला भागेर घर पुगेको राष्ट्रसंघले जनाएको छ।
प्रारम्भिक विवरण अनुसार ३ सय १५ जना बालबालिका हराइरहेका भनिएको थियो, तर अन्ततः सबै बालबालिका सुरक्षित रूपमा फेला परेका छन्। अल जजिराको रिपोर्टअनुसार, अपहरण घटनापछि बालबालिकाको सुरक्षा, पहिचान र स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ।
विशेषज्ञहरूले नाइजेरियामा बढ्दो सामूहिक अपहरणले सुरक्षा अवस्थालाई गम्भीर बनाएको विश्लेषण गरेका छन्। अपहरण कसले गरेको र बालबालिकाको रिहाइ कसरी सम्भव भयो भन्ने विषय हालसम्म सार्वजनिक गरिएको छैन।
नाइजेरियामा फिरौतीका लागि संगठित आपराधिक समूहहरूले प्रायः यस किसिमका अपहरणको घटना अन्जाम दिने गरेका छन्। सुरक्षा निकायहरूले बालबालिकाको रिहाइ र आगामी सुरक्षा सुनिश्चित गर्न विशेष कदम चाल्ने तयारी गरिरहेका छन्।
कञ्चनपुर, ४ कार्तिक । यदि विपीन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पूरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला ।
दुई वर्षदेखि विपीनको सकुशल रिहाइको प्रतिक्षामा बसेका नेपालीले एक हप्ताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो । हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीको आज बिहान महाकाली नदीमा रहेको भुजेलाघाटमा अन्त्येष्टि भएको छ ।
जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । त्यसपछि सशस्त्र प्रहरी बलको एक टुकुडीले विपीनलाई सलामी अर्पण गर्यो । इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल–हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपीनको हत्या गरेको हो ।
विपीन जीवित नरहेकोबारे जानकारी गएको असोजको अन्तिम हप्ता मात्रै हमासले सार्वजनिक गरेको थियो । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपीनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए । त्यही क्रममा हमासले इजरायलमा आक्रमण गर्नुका साथै विपीनलाई अपहरण गरी लगेको थियो ।
विपीनको खोजीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दबाव बढाइए पनि अन्ततः उनी जीवित नभएको हमासले बताएको थियो । विभिन्न प्रक्रिया पूरा गरी हिजो दिउँसो काठमाण्डौ ल्याइएको विपीनको शव साँझ अबेरमा महेन्द्रनगरमा रहेको घरमा पुर्याइएको थियो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठूलोबुवा रामदत्त जोशीले दागबत्ती दिए ।
नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए । राजदूत नेतृत्वको टोली शवसँगै काठमाण्डौबाट विपीनको अन्त्येष्टिसम्म सहभागी भयो । विपीनको काजक्रिया ठूलाबुवा रामदत्त जोशीले गरिरहेका परिवारजनको भनाइ छ ।
शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपीनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । रासस
मुख्य बुँदा
गुल्मीको पृथ्वी माविका ८ विद्यार्थीले अपहरणमा परेको झूटो हल्ला फैलाए
हराएको भनिएको छात्र करिब आधा घण्टापछि भेटियो
प्रहरी, शिक्षक र स्थानीय गरी करिब ३०० जना खोजीमा परिचालित
गृहकार्य नगरेको कारण अपहरणको बहाना बनाएको खुलासा
विद्यार्थीलाई अभिभावकको जिम्मा लगाइयो, विद्यालयमा पढाइ नियमित
गुल्मी, १८ भाद्र । मदाने गाउँपालिका–६ को पृथ्वी माविका शिक्षक देविराम भुसाललाई हिजो बिहान विद्यालय समयमा एक स्थानीयबासिन्दाले फोन गर्दै भन्नुभयो, ‘तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन् । आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन रु” त्यतिबेला विद्यालयमा बैठक चलिरहेको थियो ।
शिक्षक भुसालले यो विषय बैठकमा जानकारी गराउनुभयो । त्यसपछि विद्यालयका चार जना शिक्षक विद्यार्थी खोज्दै ककेदेउराली नजिकै पुग्नुभयो । शिक्षकले कक्षा ५ सम्म पढ्ने सात जना विद्यार्थी रुने, काम्ने, डराउने जस्तो अवस्थामा देख्नुभयो । विद्यार्थीले आफूहरूसँगै आएका एक जना साथीलाई मोटरसाइकलमा आएका व्यक्तिले अपरहरण गरेको भन्न भ्याए ।
त्यसपछि शिक्षकहरूले विद्यालयका सबै शिक्षकलाई बोलाए । सबै मिलेर विद्यार्थीको खोजी थालियो । झन्डै आधा घण्टापछि ११ बजेतिर एक पौवामा अपहरणमा परेका भनिएका छात्र भेटिए । प्रहरी, विद्यालय र स्थानीयबासिन्दालाई अब अपहरणकारी खोज्नु थियो । बालक अपरहणमा परेको सूचना छिनभरमै फैलियो ।
अपहरणकारी खोज्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोट दह, प्रहरी चौकी धुर्कोट वस्तु, प्रहरी चौकी बर्बोट, प्रहरी चौकी मर्भुङलगायत ठाउँका छ समूहमा २० जना प्रहरी खटिए । त्यसैगरी विद्यालयका सबै शिक्षक, कक्षा ९ देखि १२ सम्मका झन्डै एक सय ५० जना छात्रहरू, स्थानीय, पालिकाका कर्मचारी गरी तीन सय जना भन्दा बढी नागरिक अपरहरणकारी खोज्नका लागि परिचालन भए । घटनाको विषयमा बुझ्नका लागि प्रहरी र शिक्षकले विद्यार्थीलाई छुट्टछुट्टै सोधखोज गरिरहेका थिए ।
आठैजना विद्यार्थीले घटनाका विषयमा फरकफरक तर्क गरेपछि प्रहरीलाई घटनाका विषयमा शङ्का लाग्न थाल्यो । पछि बुझ्दै जाँदा विद्यार्थीले गृहकार्य नगरेका कारण अपहरणमा परेको बाहाना बनाएको खुलासा भयो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बालबालिकाले यसरी बहाना बनाउलान् भन्नेतर्फ नसोचिएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक मदन कुँवर क्षेत्रीले घटनाबारे विज्ञप्ति निकालेर गृहकार्य नगरेका कारण विद्यार्थीले बहाना बनाएको बताउनुभएको छ । पछि विद्यार्थीलाई विद्यालय, प्रहरी, गाउँपालिका र स्थानीयको रोहवरमा अभिभावकको जिम्मा लगाइयो । हिजो दिनभर तनाव भए पनि आजदेखि विद्यालयमा नियमित पढाइ सञ्चालन हुने विद्यालयले जनाएको छ । रासस