काठमाडौं, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे इरानविरुद्ध थप सैन्य कारबाही गरिने चेतावनी दिएका छन्। उनले इरानले आक्रमणलाई निरन्तरता दिए गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अमेरिकी सेनाले इरानका मिसाइल, ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। उनका अनुसार यो कारबाही युद्धविराम उल्लंघन र इरानद्वारा एक तेल ट्यांकरलाई निशाना बनाइएको घटनाको जवाफस्वरूप गरिएको हो।

ट्रम्पले इरानले बारम्बार युद्धविराम उल्लंघन गरिरहेको आरोप लगाउँदै आवश्यक परे अमेरिका थप सैन्य कदम चाल्न पछि नहट्ने चेतावनी दिए। उनले परिस्थितिमा सुधार नआए इरानले अत्यन्त गम्भीर परिणाम सामना गर्नुपर्ने दाबी पनि गरेका छन्।

अमेरिका–इरानबीच बढ्दो तनावका कारण मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरिरहेको छ।

काठमाण्डौ, १४ जेठ । एशियाली शेयर बजार हिजो मिश्रित देखिए पनि प्रविधि (टेक) शेयरमा आएको तीव्र उछालका कारण केही बजारमा मजबुत वृद्धि देखिएको छ।

कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधि कम्पनीहरूको शेयरमा आएको उल्लेखनीय वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको विश्लेषण गरिएको छ। लगानीकर्ताहरू एआई क्षेत्रमा बढ्दो लगानीका कारण उत्साहित देखिएका छन्। यसैबीच, अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनाप्रति लगानीकर्ताहरू सावधानीपूर्वक आशावादी बनेका छन्।

मध्यपूर्वमा तनाव कम गर्ने प्रयासस्वरूप वार्ता जारी रहे पनि परिस्थितिमा पूर्ण स्थिरता आएको छैन। हालै युद्धविरामको रिपोर्ट सार्वजनिक भए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि क्षेत्रीय तनाव पुनः बढेको छ। इरानले अमेरिकाले युद्धविराम तोडेको आरोप लगाउँदै खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य फेरि बढेको छ, जसले ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ। लगानीकर्ताहरूले आगामी राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन्।

काठमाडौं, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका सर्तप्रति आफू अझै सन्तुष्ट नभएको बताएका छन्। उनले सम्झौता हुन नसके अमेरिकाले पुनः सैन्य कारबाही गर्नसक्ने चेतावनीसमेत दिएका छन्।

ट्रम्पका अनुसार द्वन्द्व अन्त्यका लागि तेहरान सम्झौता गर्न इच्छुक देखिए पनि अहिलेसम्म कुनै अन्तिम सहमति हुन सकेको छैन। “उनीहरू जसरी पनि सम्झौता गर्न चाहन्छन्। मलाई लाग्दैन उनीहरूसँग अन्य विकल्प छ,” मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग उनले भने।

उनले थपे, “अहिलेसम्म कुरा मिलिसकेको छैन र हामी सन्तुष्ट छैनौँ। तर पछि हुन सक्छौँ। कि त सम्झौता हुनुपर्छ, नत्र हामीले यो विषयलाई टुंगोमा पु¥याउनुपर्ने हुन्छ।”

यसअघि इरानी सरकारी टेलिभिजनले एउटा कथित मस्यौदा सम्झौताको विवरण सार्वजनिक गरेको थियो। उक्त मस्यौदामा हर्मुज जलडमरुमध्य पुनः खोल्ने तथा त्यस क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुने उल्लेख गरिएको थियो। तर ह्वाइट हाउसले त्यसलाई “पूर्ण रूपमा कपोलकल्पित” भन्दै अस्वीकार गरेको छ।

गत सातादेखि दुवै पक्षले वार्तामा प्रगति भएको संकेत दिएपछि छिट्टै सम्झौता हुनसक्ने चर्चा चलेको थियो। तर तेहरानले तत्काल सम्झौता हुने अवस्था नरहेको स्पष्ट पारेको छ भने ट्रम्पले आफ्ना वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि वार्तामा “केही प्रगति र चासो” देखिएको बताएका छन्। उनका अनुसार आगामी केही घण्टा वा दिनभित्र थप प्रगति हुन्छ वा हुँदैन भन्ने स्पष्ट हुनेछ। ट्रम्प र रुबियो दुवैले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका भए पनि दुई देशबीच कुन–कुन विषयमा असहमति कायम छ भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

तेहरान, १३ जेठ । अमेरिका र इरानबीच जारी तनाव फेरि चर्किएको छ। इरानले अमेरिकाले आफ्नो भूमिमाथि नयाँ हवाई आक्रमण गरेर युद्धविरामको ‘गम्भीर उल्लङ्घन’ गरेको आरोप लगाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सोमबार दक्षिणी इरानमा इरानी क्षेप्यास्त्र अखडा तथा खानीहरू राख्न प्रयोग भइरहेका डुङ्गाहरूलाई लक्षित गर्दै ‘आत्मरक्षाका लागि सीमित आक्रमण’ गरिएको जनाएको छ।

इरानको परराष्ट्र मन्त्रालयले भने होर्मोजगान क्षेत्रमा भएको यो कदमलाई ‘आक्रामक र अनुचित’ भन्दै यसको परिणामको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिएको छ। रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज नजिकको क्षेत्रमा भएको यो घटनाले विश्व ऊर्जा बजारसमेत प्रभावित हुने चिन्ता बढाएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इरानको इस्लामिक गणतन्त्रले कुनै पनि दुष्ट गतिविधिको जवाफ नदिई छोड्ने छैन र आफ्ना नागरिकको सुरक्षामा कुनै सम्झौता गर्ने छैन।”

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त आक्रमण भएपछि सुरु भएको युद्ध अप्रिल ८ मा युद्धविराम सहमतिमा पुगेको थियो। यद्यपि, सोमबारको घटनाले फेरि तनावलाई उत्कर्षमा पुर्‍याएको छ। सेन्टकमले आफ्ना सैनिकमाथि हुन सक्ने सम्भावित खतरालाई रोक्न आक्रमण गरिएको दाबी गरे पनि सटीक स्थान खुलाएको छैन। अमेरिकी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास नजिकको क्षेत्र निशानामा परेको हुनसक्ने बताइएको छ।

इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बास क्षेत्रमा ठूला विस्फोटका आवाज सुनिएको जानकारी दिएका छन्। त्यसपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी ड्रोन खसालेको तथा एउटा फाइटर जेटमाथि फायर गरिएको दाबी गरेको छ।यो घटनाक्रम भइरहँदा युद्धविराम लम्ब्याउने तथा दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता जारी रहेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले सम्झौता सम्भव रहेको तर अझ केही समय लाग्ने बताएका छन्।

यता राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा सम्झौता नजिक पुगेको संकेत गरे पनि पछि आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको खुलासा गरेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावित समझदारीमा ६० दिन युद्धविराम थप्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समेटिएको छ।

इरानले भने वार्तामा केही प्रगति भएको स्वीकार गरे पनि तत्काल सम्झौता हुने अवस्था नरहेको स्पष्ट पारेको छ। तेहरानले विदेशमा रोक्का राखिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने मागलाई मुख्य प्राथमिकता बनाएको छ। हाल कतारको दोहामा कतारी मध्यस्थकर्तामार्फत वार्ता जारी रहेको बताइएको छ। इरानी केन्द्रीय बैंकका गभर्नरले पनि सोमबारको छलफलमा भाग लिएर रोक्का सम्पत्तिका विषयमा कुराकानी गरेको स्रोतहरूले बताएका छन्।

विशेषगरी होर्मुज जलमार्ग र उच्च संवर्धित युरेनियमको भण्डारण वार्ताको मुख्य विषय बनेको छ। विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति हुने यो जलमार्गमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय समुदायको चासो समेत तीव्र बनेको छ।

काठमाडौं, ४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समय घर्किँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई छिटो निर्णय लिन आग्रह गर्दै ढिलाइ गरे परिणाम गम्भीर हुने संकेत गरेका हुन्।

ट्रम्पले लेखेका छन्, “उनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको लागि केही पनि बाँकी रहने छैन। हरेक कुराको एउटा समय सीमा हुन्छ।”

उनको पछिल्लो अभिव्यक्तिलाई अमेरिका र इरानबीच जारी तनाव तथा युद्धविराम सम्बन्धी वार्तासँग जोडेर हेरिएको छ। ट्रम्पले अमेरिकाले अघि सारेको प्रस्तावमा सहमत हुन इरानमाथि दबाब सिर्जना गर्ने प्रयास गरेको विश्लेषण गरिएको छ।

उता, इरानी सञ्चारमाध्यमहरूले भने द्वन्द्व अन्त्यका लागि तेहरानले प्रस्तुत गरेको पछिल्लो प्रस्तावप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया नदिएको आरोप लगाएका छन्। गत अप्रिलको सुरुवातमा युद्धविराम घोषणा हुनुअघि पनि ट्रम्पले इरान सम्झौतामा सहमत नभए “सभ्यता नै समाप्त हुने” चेतावनी दिएका थिए।

यसै साताको सुरुमा समेत उनले तेहरानका मागहरू पूर्ण रूपमा अस्वीकार्य रहेको उल्लेख गर्दै युद्धविराम गम्भीर संकटमा रहेको बताएका थिए। अमेरिका र इरानबीचको मुख्य विवादको केन्द्र इरानको आणविक कार्यक्रम बनेको छ।

यद्यपि, ट्रम्पले शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गर्न सहमत भए आफू त्यसलाई स्वीकार गर्न तयार रहेको संकेत दिएका छन्। यसलाई उनले यसअघि राख्दै आएको “पूर्ण रूपमा आणविक कार्यक्रम बन्द गर्नुपर्ने” अडानबाट केही पछि हटेको रूपमा हेरिएको छ।

काठमाडौं, २५ बैशाख । हर्मुज जलडमरुमध्य क्षेत्रमा बढ्दो तनावबीच अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाका तीन डेस्ट्रोयर सुरक्षित रहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ती युद्धपोतहरूमा कुनै क्षति नभएको दाबी गरेका हुन् ।

अमेरिकी सैन्य स्रोतका अनुसार इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित गरिएको थियो । अमेरिकी सेनाले ती आक्रमणहरूलाई सफलतापूर्वक निष्क्रिय पार्दै आवश्यक प्रतिकारात्मक कदम चालेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजहरू सुरक्षित रहेको उल्लेख गर्दै इरानी आक्रमणकारी पक्षलाई भने उल्लेखनीय क्षति पुगेको दाबी गरेका छन् । उनले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा प्रतिक्रिया दिइने चेतावनीसमेत दिएका छन् ।

ट्रम्पले इरानलाई छिटो कूटनीतिक सम्झौतामा आउन आग्रह गर्दै थप कडा कदम चालिन सक्ने सङ्केत गरेका छन् । विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा चिन्ता थपिएको छ ।

अमेरिकी अधिकारीहरूले आफ्नो सेनाले सुरक्षा गर्न पूर्ण क्षमता राखेको जनाउँदै परिस्थिति थप जटिल बनाउन नचाहेको बताएका छन् । यस क्षेत्रको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट निगरानी गरिरहेको जनाइएको छ ।

काठमाडौँ, २२ बैशाख । अमेरिकाले नौसैनिक अभियान तीव्र बनाएपछि खाडी क्षेत्रमा तनाव थप बढेको छ। यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) को सरकारी तेल ट्यांकरमा आक्रमण भएको छ।

युएईको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी ले जनाएअनुसार सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमाथि फुजैराह तेल बन्दरगाहमा आक्रमण भएको हो। आक्रमणपछि ठूलो आगलागी भएको र तीन जना घाइते भएका छन्।

युएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन निष्क्रिय पारेको जनाएको छ। अमेरिका–इरानबीचको युद्धविरामपछि पहिलो पटक युएईमा ‘मिसाइल अलर्ट’ बजाइएको पनि उल्लेख गरिएको छ।

हाल स्थिति नियन्त्रणमा रहेको र सर्वसाधारणलाई सामान्य गतिविधि गर्न अनुमति दिइएको बताइएको छ। यद्यपि आक्रमणको स्रोतबारे औपचारिक पुष्टि नभए पनि इरानमाथि आशङ्का गरिएको छ। तर इरान ले भने युएईलाई निशाना बनाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

यसअघि इरानले स्ट्रेट अफ होर्मुज मा देखिने कुनै पनि सैन्य जहाजलाई निशाना बनाउने चेतावनी दिँदै आएको थियो। फुजैराह उक्त जलमार्गभन्दा बाहिर, युएईको पूर्वी तटमा अवस्थित छ। त्यसैबीच ओमान को बुखा क्षेत्रमा पनि आवासीय भवनमा आक्रमण भएको खबर आएको छ।

यसअघि अमेरिकाले सात वटा इरानी साना डुङ्गामाथि आक्रमण गरेको दाबी गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले उक्त कारबाही पुष्टि गरे पनि इरानले भने त्यसलाई अस्वीकार गर्दै ‘गलत प्रचार’ भएको जनाएको छ।

काठमाडौँ, ८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविराम सकिनुअघि कडा चेतावनी दिएका छन् । बुधबार साँझ युद्धविरामको समयसीमा सकिँदै गर्दा ट्रम्पले समयमै सम्झौता नभए युद्धविराम थपिने सम्भावना अत्यन्त न्यून रहेको बताएका हुन् ।

‘धेरै असम्भव छ,’ उनले द जोन फ्रेडरिक्स शो मा भने, ‘इरान वार्ताको टेबुलमा आउनैपर्छ । यदि आएन भने उनीहरूले पहिले कहिल्यै नदेखेका समस्या सामना गर्नेछन् । त्यो युद्ध उनीहरूले कहिल्यै कल्पना नगरेको हुनेछ ।’

यसबीच कूटनीतिक गतिविधि पनि तीव्र पारिएको छ । सीएनएनका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स सहित शीर्ष अधिकारीहरू सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा छन् । तर तेहरानले भने हालसम्म कुनै औपचारिक वार्ता नभएको स्पष्ट पारेको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकामाथि युद्धविरामको नाममा दबाब र धम्की दिएको आरोप लगाउँदै दबाबमा कुनै सम्झौता नगर्ने अडान व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै इरानले सम्झौता नगरेसम्म अमेरिकी नौसेनाले लगाएको समुद्री नाकाबन्दी नहटाउने बताएका छन् । उनका अनुसार उक्त नाकाबन्दीका कारण इरानले दैनिक करिब ५०० मिलियन डलर (झन्डै ४२०० करोड रुपैयाँ) बराबरको आर्थिक क्षति व्यहोर्दै आएको छ ।

यसैबीच क्षेत्रीय रूपमा सैन्य गतिविधि पनि बढ्दो क्रममा रहेको छ । इराकी कमाण्डर अबु महदी अल–जाफरीले आफ्ना लडाकुहरू सैन्य कारबाही पुनः सुरु गर्न तयार रहेको बताएका छन् । जटिल परिस्थितिका बीच एकातिर कूटनीतिक प्रयास जारी रहे पनि अर्कोतर्फ सम्भावित द्वन्द्वको जोखिम बढ्दै गएको देखिएको छ ।