एजेन्सी, २० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाको स्वतन्त्रता र राष्ट्रिय सुरक्षाका लागि विश्वयुद्धभन्दा पनि ठूलो खतरा भएको दाबी गरेका छन्।

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको जीवनशैली र मूल्य–मान्यतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीमार्फत साम्यवादको प्रभाव बढ्न सक्ने दाबी गरे।

उनले कम्युनिजमलाई प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बरमाथिको आक्रमण तथा सेप्टेम्बर ११, २००१ को आतंकवादी आक्रमणभन्दा पनि ठूलो खतरा भएको उल्लेख गर्दै अमेरिका कहिल्यै कम्युनिस्ट राष्ट्र नबन्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी सेनाको क्षमता र इतिहासको प्रशंसा गर्दै अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति निर्माण गरेको बताए। उनले दुई विश्वयुद्धमा अमेरिकाले विजय हासिल गरेको र शीतयुद्धपछि आफ्ना शत्रुहरू इतिहासको पानामा सीमित भएको दाबी पनि गरे।

ट्रम्पले आफ्नो भाषणमा भेनेजुएला र इरानबारे पनि टिप्पणी गर्दै अमेरिकाले आवश्यक परे कडा कदम चाल्न सक्ने संकेत गरे। साथै, अमेरिकाको २५० वर्षे इतिहासलाई उल्लेख गर्दै उनले अमेरिका विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र नागरिक भएको देश र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र भएको दाबी गरे।

ट्रम्पका यी अभिव्यक्तिले अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय समुदायमा थप बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्स चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, ४० वर्षीय सन्दिग्ध आक्रमणकारी थोमस जेकब स्यानफोर्ड घटनामा मारिएका छन् । उनले गाडी चर्चको ढोकामा ठोक्काएर अन्धाधुन्ध गोली चलाएका थिए र त्यसपछि पेट्रोल छर्केर गिर्जाघरमा आगो लगाएका थिए । ग्रान्ड ब्ल्याङ्कका प्रहरी प्रमुख विलियम रेनीले घटनास्थलमा थप शव भेटिएको जानकारी दिए। आगलागीले चर्च पूर्ण क्षति भएको र अझै केही बेपत्ता हुनसक्ने बताएका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीले ज्वलनशील पदार्थ प्रयोग गरी चर्चमा आगो लगाएको पुष्टि भएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र बाँकी सातको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै दुईवटा अमेरिकी झण्डा राखिएको ट्रक फेला परेको छ। प्रहरीले आक्रमणकारीको घर र फोन अभिलेखको अनुसन्धान अघि बढाइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा “सन्दिग्ध व्यक्ति मारिएका छन्, तर अझै धेरै कुरा पत्ता लगाउन बाँकी छ” भनेका छन् ।

एजेन्सी /न्यूयोर्क । न्यूयोर्कको म्यानह्याटनको व्यस्त क्षेत्र मिडटाउनस्थित ३४५ पार्क एभेन्यूमा सोमबार साँझ भएको गोलीकाण्डमा अफ-ड्युटी एनवाईपीडी अफिसरसहित चार जनाको ज्यान गएको छ । आक्रमणकारी एक्लै थिए र पछि सोही भवनको ३३औँ तलामा आत्महत्या गरेका थिए, स्रोतहरूले जनाएका छन् ।

घटना साँझ करिब ६:३० बजे घटेको हो । आक्रमणकारी एक लामो बन्दूक र शरीरमा बुलेटप्रुफ ज्याकेट लगाएर भवनभित्र प्रवेश गरेका थिए । सुरक्षामा खटिएका एक अफ-ड्युटी प्रहरीलाई उनले गोली हानी हत्या गरेपछि अन्य तीन सर्वसाधारणलाई पनि गोली हानेका थिए ।

एनवाईपीडी कमिश्नर जेसिका टिशले सामाजिक सञ्जाल ‘X’ मा लेखेकी छन् :
“हाल अवस्था नियन्त्रणमा छ र आक्रमणकारीलाई निष्क्रिय बनाइएको छ ।”

उक्त भवनमा ब्ल्याकस्टोन कम्पनी र नेशनल फुटबल लिग (NFL) को मुख्य कार्यालय पनि रहेको छ । घटनापछि भवनभित्रका कर्मचारीहरूलाई प्रहरीको निगरानीमा सुरक्षित रुपमा बाहिर ल्याउने काम भइरहेको छ । कतिपयलाई अझै पनि shelter-in-place को सूचनाअनुसार रहन भनिएको छ । ३२औं तलामा रहेका कर्मचारीहरूले ढोका थुन्न कुर्सीहरू पल्टाएर बारिकेड बनाएको एक फोटो सार्वजनिक भएको छ । घाइते प्रहरीलाई वेल कोर्नेल मेडिकल सेन्टर पुर्‍याइयो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे । अन्य घाइतेलाई बेल्भ्यु अस्पताल लगिएको छ ।

सुरक्षा क्यामेराले आक्रमणकारीको तस्बिर खिचेको छ जसमा उनी हातमा लामो बन्दूक बोकेर भवनबाहिर हिँडिरहेको देखिन्छ । प्रहरीले आक्रमणकारी किन ३३औँ तलामा पुगे भन्ने अनुसन्धान गरिरहेको छ  । उनी विशेष रूपमा त्यहीँ जान चाहन्थे वा संयोगले त्यहाँ पुगे भन्ने विषयमा अझै पुष्टि हुन बाँकी छ ।

घटनाको प्रत्यक्षदर्शी जेसिका चेनले: “म र ढोकाबीच एक पल्टिएको कुर्सी मात्र थियो । मैले आमाबुबालाई सन्देश पठाएँ । त्यो क्षणको डर र अन्योल शब्दमा बयान गर्न सकिन्न ।”

प्रहरीले जनतालाई ईस्ट ५२औँ स्ट्रिटको पार्क एभेन्यूदेखि लेक्सिङ्टन एभेन्यूसम्मको क्षेत्र नजिक नजान अनुरोध गरेको छ ।