काठमाडौँ, १७ चैत्र । यातायात व्यवस्था कार्यालय एकान्तकुना बाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ टोलीले ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा अवरोध सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको पाइएपछि उक्त कारबाही गरिएको हो।
यसैबीच, नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले राजकुमार अर्याल लाई पनि पक्राउ गरेको छ। उहाँलाई धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
केपी शर्मा ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन
माइतीघर–बबरमहल क्षेत्रमा तनाव, सडक अवरुद्ध
टायर बालेर र डिभाइडर तोडफोड
केही स्थानमा प्रहरीसँग झडप
सिंहदरबार आसपास कडा सुरक्षा व्यवस्था
ओली शिक्षण अस्पतालमा उपचाररत
रमेश लेखक प्रहरी हिरासतमा
काठमाडौँ, १४ चैत्र । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेका कार्यकर्ता तथा सुभेच्छुकहरूले काठमाडौँसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेका छन्।
काठमाडौँको माइतीघरदेखि बबरमहल–बिजुलीबजार क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ। माइतीघरमा भेला भएका एमालेका विभिन्न जनसङ्गठनमा आबद्ध कार्यकर्ताहरूले अध्यक्ष ओलीको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले सडकका डिभाइडर तोडफोड गर्दै टायर बालेका कारण सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। उनीहरूले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन्। केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने सिंहदरबार आसपास कडा सुरक्षा व्यवस्था गरिएको छ।
गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयअनुसार सरकारले आज बिहान अध्यक्ष ओलीलाई पक्राउ गरेपछि एमालेले दिउँसोदेखि प्रदर्शन सुरू गरेको हो। प्रदर्शन काठमाडौँबाहेक विराटनगर, पोखरा लगायतका शहरमा पनि फैलिएको छ।
पक्राउपछि अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ। आकस्मिक कक्षमा प्रारम्भिक परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको अस्पतालले जनाएको छ।
त्यस्तै, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। सार्वजनिक बिदा परेकाले उनीहरूलाई भोलि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
काठमाडौँ, १४ चैत्र । नवलपरासीको बर्दघाट नगरपालिका–४ घिउखोलामा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
आज बिहान ना ७ ख ९३९८ नम्बरको ट्रक र लु २ ख २३५१ नम्बरको बस दुर्घटनामा परेका हुन्। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये तीन जनालाई जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नवलपरासी पश्चिमका डीएसपी विरदत्त पन्तका अनुसार ज्यान गुमाउनेमध्ये रोल्पाको बागमाराका गोबिन बुढाको मात्रै पहिचान खुलेको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ। मृतकहरूको शव परासी अस्पतालमा राखिएको छ।
घाइते १५ जनामध्ये १३ जनाको लुम्बिनी सिटी अस्पताल बुटवल र दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
देशभरबाट १४ जना लागुऔषधसहित पक्राउ
काठमाडौँ, झापा, बर्दिया, सिरहा, दाङ, कैलाली, कञ्चनपुर, सुनसरी लगायत स्थानबाट पक्राउ
खैरो हेरोइन, पोलेन, ट्याब्लेट र गाँजा बरामद
धरानबाट १७ किलो गाँजा सहित दुई जना पक्राउ
नियमित गस्ती र चेकजाँचका क्रममा नियन्त्रण
थप अनुसन्धान जारी
काठमाडौँ, १३ चैत्र । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार र बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित नरसिंह चोकको सिटी हेभन होटलबाट खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादव पक्राउ परेका छन्।
यसैगरी काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना र लहान नगरपालिका–३बाट एक जना पक्राउ परेका छन्।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जना, लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक जना र बेलौरी नगरपालिका–८ पचुईबाट दुई जना पक्राउ परेका छन्।
यस्तै धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जना तथा धरान उपमहानगरपालिका–२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
काभ्रेपलाञ्चोक, १३ चैत्र । काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार दिउँसो बनेपा नगरपालिका–८ जनागल क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा यात्रुवाहक बस तथा पानी ट्याङ्करका चालकहरू नशाको अवस्थामा भेटिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकको सहयोगमा ड्रग्स किटमार्फत परीक्षण गरेको थियो।
प्रहरीले शंकास्पद ३९ सवारी चालकलाई जाँच गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको छ। पक्राउ पर्नेमा महानगर बसका २६ वर्षीय समिर तामाङ र २० वर्षीय रोहित घतानी विश्वकर्मा, पुण्यवती यातायातका ३८ वर्षीय समिर महत, मयुर यातायातका ३२ वर्षीय महेश चौधरी र पानी ट्याङ्करका चालक २६ वर्षीय सुगम भुजेल रहेका छन्।
उनीहरूले सार्वजनिक सडकमा सयौँ यात्रुको ज्यान जोखिममा राख्दै नशाको अवस्थामा सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार गोप्य सूचनाका आधारमा यो अभियान सञ्चालन गरिएको हो। पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।
काठमाण्डौ, १२ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सार्वजनिक गर्ने दस्तावेजमा समावेश छन्: भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, दबाबबीच रोकिएको जाँचबुझ आयोगको प्रतिवेदन हालै सञ्चारमाध्यममार्फत बाहिरिएको थियो। प्रतिवेदनले भदौ २३ गते भएको सरकारी दमनलाई केन्द्रित गरेर कारबाही सिफारिस गरेको छ भने भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनसहित ऐतिहासिक धरोहरमा भएको विध्वंस घटनालाई कम प्राथमिकतामा राखेको देखिएको छ।
प्रतिवेदनमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ। आयोगले ठोस प्रमाणको अभाव, छोटो कार्यादेश, र सुरक्षा निकायहरूबाट अपेक्षित ‘इन्टेलिजेन्स रिपोर्ट’ नपाएको कारण कसैलाई पनि अभियोजन सिफारिस गर्न नसकेको जनाएको छ।
जाँचबुझ आयोगले नवयुवा आन्दोलनमा भएको हिंसात्मक घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई मुलुकी अपराध संहिताअनुसार अलग-अलग कसुरमा कारबाही सिफारिस गरेको छ।
‘अपरेशन ३६५’ अन्तर्गत थप १० मोटरसाइकल नियन्त्रणमा
स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने सवारी कारबाहीमा
पोखरामा ध्वनी प्रदूषणविरुद्ध प्रहरीको कडाइ
हालसम्म ४१४ सवारी र ३६ व्यक्ति कारबाहीमा
कानुनी प्रक्रिया अगाडि बढाइएको
पोखरा, ११ फागुन । पोखरामा ध्वनी प्रदूषण नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चर्को आवाज निकाल्दै शान्ति सुव्यवस्थामा खलल पुर्याउने गतिविधि बढेको गुनासो आएपछि अभियानलाई कडाइ गरिएको हो।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमाथि हाल कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
‘अपरेशन ३६५’ अन्तर्गत अहिलेसम्म ४१४ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन नगर्न र ध्वनी प्रदूषण नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने जनाएको छ।
त्रिभुवन विमानस्थलबाट २८,९०० अमेरिकी डलरसहित तीन जना पक्राउ
काठमाडौँ र सिन्धुपाल्चोकका व्यक्ति संलग्न
चीनको ग्वाङझाउ जाँदै गर्दा पक्राउ
दुई जनाबाट १०/१० हजार, एकबाट ८,९०० डलर बरामद
अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइयो
काठमाडौँ, ६ फागुन । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौँको नागार्जुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा लिसङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनीहरू चाइना साउदर्न एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीनको ग्वाङझाउ जाँदै गर्दा पक्राउ परेका हुन् ।
प्रहरीले अनिता र सङ्गीताको साथबाट १०/१० हजार अमेरिकी डलर तथा विनोदको साथबाट ८ हजार ९०० अमेरिकी डलर बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।