भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

काठमाडौँ, २९ चैत्र । सहकारी क्षेत्रमा बढ्दो संकटलाई ‘प्रणालीगत विफलता’ भन्दै सर्वोच्च अदालतले पीडितहरूको बचत सुरक्षित गर्न ऐतिहासिक निर्देशनात्मक आदेश जारी गरेको छ । अदालतले सहकारीका दोषी पदाधिकारी तथा ऋण अपचलनकर्ताको सम्पत्ति जफत गरेर पीडितलाई रकम फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले ‘सहकारी पीडित राहत कोष’ स्थापना गर्न आदेश दिँदै जफत गरिएको सम्पत्ति, सहकारी शुल्क र सरकारी बजेटमार्फत पीडितलाई राहत उपलब्ध गराउन भनेको छ । राहत वितरणमा एकल महिला, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ । अदालतले सहकारीको नियमन प्रणालीमा कमजोरी औंल्याउँदै पारदर्शिता, अनुशासन र उत्तरदायित्व सुनिश्चित गर्न ८ बुँदे निर्देशन दिएको छ । समस्याग्रस्त सहकारीहरूको राष्ट्रिय डिजिटल सूची सार्वजनिक गर्ने, शंकास्पद सञ्चालकको सम्पत्ति रोक्का गर्ने, र ठूला सहकारीमा विशेष लेखापरीक्षण अनिवार्य गर्ने आदेश दिइएको छ ।

यसैगरी, सहकारी संस्थाहरूको मासिक वित्तीय विवरण अनलाइन प्रणालीमार्फत सार्वजनिक गर्न, सदस्यलाई मोबाइल वा एसएमएसबाट आफ्ना खाताको जानकारी उपलब्ध गराउन, र नियमनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच स्पष्ट कार्यविभाजन गर्न निर्देशन दिइएको छ । अदालतले सहकारी शासन सुधारमा पनि जोड दिँदै एउटै परिवारका सदस्यहरूको प्रभुत्व रोक्न, पदाधिकारीको कार्यकाल सीमा निर्धारण गर्न र वित्तीय साक्षरता अनिवार्य गर्न भनेको छ । साथै विगत १० वर्षका सहकारी घोटालाहरू छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्न र सहकारी मुद्दाको छिटो सुनुवाइका लागि विशेष इजलास गठनको सुझाव दिएको छ ।

कानुनी सुधारतर्फ अदालतले सहकारी ऐन संशोधन गरी निक्षेप बीमा अनिवार्य गर्ने, पदाधिकारीको व्यक्तिगत जिम्मेवारी स्पष्ट पार्ने र ठूला सहकारीमाथि कडा नियमन गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सर्वोच्चको यो निर्णयले सहकारीलाई बैंकसरह सुरक्षित बनाउने तर बैंक नबनाउने सन्तुलित दृष्टिकोण प्रस्तुत गरेको छ । साथै, पीडितको बचत फिर्ता गराउन राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ ।

 

बैतडी, २९ चैत्र । बैतडीमा सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ । पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायक क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएका सामानसहित बोलेरो पिकअप र ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामानको कुल मूल्य रु २१ लाख ८ हजार ८१० रहेको छ । सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका अनुसार आज बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा खटिएको टोलीले उक्त सामान फेला पारेको हो । टोली सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नेतृत्वमा परिचालन गरिएको थियो ।

बरामद गरिएको सामानमा २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री तथा अन्य किराना सामग्री रहेका छन् । प्रहरीले सुपप्र ०१–००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१–००२ त ५०९० नम्बरको ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । घटनामा संलग्न व्यक्तिहरू भने प्रहरी टोली देख्नासाथ फरार भएको जनाइएको छ ।

बरामद सामान तथा सवारीसाधनलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको छ ।

काठमाडौँ, १६ चैत्र । राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग गरिएको घोषणा गरिएको छ। युनियनका अध्यक्ष राजु ओलियाले आधिकारिक सूचनामार्फत युनियन भंग गरिएको जानकारी दिएका हुन्।

सूचनाअनुसार, सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीलाई समर्थन जनाउँदै युनियन विघटन गरिएको हो। गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निकायमा रहेका कर्मचारी युनियनहरू भंग गर्ने निर्णय गरेको थियो।

सोही निर्णयलाई कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियनले स्वयं भंग हुने निर्णय लिएको जनाएको छ।

युनियनले सरकारको सुधार योजनालाई स्वागत गर्दै प्रशासनिक प्रणालीलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

काठमाडौँ, ३ फागुन । उदयपुरको कटारीमा हावाहुरीका कारण दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

हिजो बेलुकी आएको तीव्र हावाहुरीका क्रममा रुख ढलेर लाग्दा कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी नगरपालिका–८ की मिनामाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक हावाले सुकेको सालको रुख ढल्दा चौधरीको ज्यान गएको हो। उक्त घटनामा रुखले लागेर पाँच जना घाइते भएका छन्। घाइतेहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

यस्तै कटारी नगरपालिका–८ मा घरमै बसिरहेका बेला हावाले भाँचिएको रुखको हाँगाले लागेर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। प्रि–मनसुनको समयमा दिउँसोपछि हावाहुरी, मेघगर्जन तथा चट्याङ पर्ने सम्भावना बढी हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीबाट हुने क्षति न्यूनीकरणका लागि घरको संरचना बलियो बनाउने, हावाहुरी चलेको बेला घरभित्र सुरक्षित बस्ने तथा यात्रा गर्दा सुरक्षित स्थानमा आश्रय लिनुपर्ने सुझाव दिइएको छ।हावाहुरीको समयमा रुख वरपर वा कमजोर संरचना भएका स्थानमा नबस्न पनि विज्ञहरूले आग्रह गरेका छन्।

रुकुम पूर्व, १५ माघ । लगातारको हिमपातका कारण बुधबारदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर परेको हिमपातका कारण सडकमा जमेको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

हिमपातका कारण सडकमा फसेका करिब ३०० यात्रुको बुधबार उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार आज बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउने काम तीव्र रूपमा सुरु गरिएको छ । उनका अनुसार रुकुम पूर्वतर्फको करिब तीन किलोमिटर सडक खण्डमा जमेको हिउँ हटाउने कार्य भइरहेको छ । बागलुङतर्फ पनि सडकमा परेको हिउँ पूर्ण रूपमा पन्छाएपछि मात्र मध्यपहाडी लोकमार्ग सञ्चालन हुने प्रहरीले जनाएको छ ।

काठमाडौंबाट रुकुम पूर्व, रुकुम पश्चिम तथा डोल्पाका लागि छुटेका बसहरू हिमपातका कारण पातिहाल्ना क्षेत्रमा अलपत्र परेपछि यात्रुहरूको उद्धार गरिएको थियो । उद्धार गरिएका यात्रुमध्ये केहीलाई रुकुम पूर्व ल्याइएको छ भने केहीलाई बागलुङको बुर्तिबाङ पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ ।

 

 

काठमाण्डौ, २५ पुष ।  हिउँदयाममा असावधानी बढेसँगै देशभर आगलागीका घटना तीव्र रूपमा बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति र हिजो गरी देशभर भएका १९ वटा विपद् सम्बन्धी घटनामध्ये १५ वटा आगलागीका रहेका छन् ।

यी घटनामा परेर ४८ जना घाइते भएका छन् भने १ जनाको ज्यान गएको छ । आगलागीका कारण करिब १० लाख १२ हजार रुपैयाँ बराबरको धनजनको क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही तथा रौतहटका दुई–दुई स्थानमा आगलागीका घटना भएका छन् । यस्तै बारा, कैलाली, कञ्चनपुर, अछाम र डडेल्धुरामा पनि आगलागीका घटना दर्ता भएका छन् ।

यसैबीच सोलुखुम्बु, ओखलढुङ्गा, म्याग्दी, रुकुम पूर्व र कालीकोटमा वन क्षेत्रमा डढेलो लागेको छ । हिउँदयाममा विद्युत् सर्ट सर्किट, परालको कुन्यूमा असावधानीवश आगो लाग्नु तथा गोठ र घरायसी प्रयोजनमा सावधानी नअपनाई आगो बाल्दा यस्ता घटना बढेको प्राधिकरणले जनाएको छ ।

आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि प्राधिकरणले आगो बाल्दा विशेष सावधानी अपनाउन, प्रयोगपछि आगो पूर्ण रूपमा निभाउन तथा ज्वलनशील पदार्थ सुरक्षित स्थानमा राख्न सबैमा आग्रह गरेको छ ।

काठमाडौँ, ५ पुष । वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले पुरानै शुल्क कायम गर्दै ६,५०० रुपैयाँ यथावत् राखेका छन्।

यसअघि स्वास्थ्य परीक्षण शुल्क ६,५०० रुपैयाँबाट बढाएर ९,५०० रुपैयाँ गराइएको थियो। तर शुल्क वृद्धिले गरिबी र विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार परेको भन्दै चौतर्फी आलोचना भएको थियो।

गत २०८१ मङ्सिरमा तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षण शुल्क ९,५०० रुपैयाँ कायम गरेका थिए। त्यसयता विरोधपछि सो शुल्क कार्यान्वयन रोकिएको थियो।

गत मङ्सिरमा पुनः शुल्क वृद्धि भएपछि नयाँ मन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णयमार्फत यसलाई खारेज गर्दै पुरानै ६,५०० रुपैयाँमा ल्याएका हुन्।

दाङ, लमही । दाङको लमहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियास्थित पुलबाट डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे खोलामा खसेको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये दुईजनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको र उनीहरूलाई थप उपचारका लागि बाहिर रिफर गर्ने तयारी भइरहेको छ।

बसमा ३८ जना सवार रहेको खुलेको छ। प्रारम्भिक बयानअनुसार बस चालकले पट्टा (शक) भाँचिएर दुर्घटना भएको बताएका छन्। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।