सुनकोशीको बहाव बढेपछि दुई बेलिब्रिज हटाइयो
खोटाङ–तराई सीधा यातायात सम्पर्क विच्छेद
फोक्सिङटार र बङ्शिलाघाट दुवै मार्ग प्रभावित
स्थानीयलाई लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता
पक्की पुल निर्माणमा ढिलाइ भएको गुनासो
तत्काल स्थायी समाधानको माग
खोटाङ, ४ जेठ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्। फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो।
मौसम परिवर्तनसँगै सुनकोशीमा पानीको सतह बढेपछि गत वैशाख २७ गतेबाट बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले जानकारी दिएका छन्। खोटाङको बराहपोखरी गाउँपालिका(५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको हो ।
यस बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवतजावतमा सुविधा दिएको थियो। बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाएपछि अब करिब छ महिना झोलुङ्गे पुलमार्फत पूर्वी तराईका जिल्ला आवतजावत गर्नुपर्ने बाध्यता पुनः दोहोरिएको स्थानीय युवराज मगरले जानकारी दिएका छन्।
बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाख बजेटमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो। यसलाई जडान गर्ने र निकाल्ने ठेक्का गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित रु ५७ लाख बजेटमा लिएको हो।
बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि रु १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी कालिका(वेदांसी जेभीले सम्झौता गरेको छ। विसं २०७९ मङ्सिर १ गते सम्झौता गरेर निर्माण सुरु गरिएको भए पनि मोटरेबल पुल निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती भएको आरोप स्थानीयले लगाएका छन् ।
अर्कोतर्फ, फोक्सिङटारको अस्थायी बेलिब्रिज जेठ ३ गतेबाट पूर्णरूपमा यातायात बन्द गरेर निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले जानकारी दिएका छन्।
सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल-गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको थियो। फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने र निकाल्ने ठेक्का एमएरएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी(३ उदयपुरले मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ९६ लाख ७७ हजार ९३७ मा लिएको हो।
खोटाङको खोटेहाङ गाउँपालिका(९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५, आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो। निर्माण सम्पन्न भएर सञ्चालनमा आएको वर्ष दिन नपुग्दै बाढीले बगाएपछि फेरि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्था आएको हो।
सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन्। उनले ‘फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाएपछि पूर्वी तराईका जिल्लाबाट खोटाङ भित्रिने यातायातका साधन घुर्मी-कटारी हुँदै जयरामघाट तारेर ल्याउनुपर्नेहुन्छ, खोटाङ्गे जनताका लागि यो घुमाउरो बाटो हो’ भन्दै आफ्नो धारणा राखेका छन्।
उनले मध्यपहाडी लोकमार्गमा पर्ने घुर्मी(कटारी हुँदै जयरामघाट तारेर ल्याइने दैनिक उपभोग्यवस्तुको मूल्यसमेत वृद्धि हुने भएकाले यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी रहेको बताएका छन्। फोक्सिङटारमा बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन।
दिक्तेल-गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माणका लागि अर्थमन्त्रालयले गत वर्षको चैतमा रु ३५ करोड बजेट सुनिश्चित गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिएका थिए। रासस
खोटाङ, २५ माघ । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसी नदीस्थित बंशिलाघाटमा बेलिब्रिज जडान गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ (पौवासेरा) र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ (चौदण्डीगढी) को सिमानामा पर्ने बंशिलाघाटमा अस्थायी बेलिब्रिज राखिएको हो ।
पक्की पुल निर्माणमा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा ५१.८१ मिटर लामो र ४.१ मिटर चौडाइ भएको बेलिब्रिज जडान गरिएको हो । सुनकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि आवश्यक परेमा निकालेर राख्ने गरी जडान गरिएको उक्त बेलिब्रिज माघ २४ गतेदेखि सञ्चालनमा आएको छ ।
आगामी जेठ महिनासम्म सञ्चालन हुने यो बेलिब्रिज गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपैयाँमा जडान गरेको हो । कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको पहलमा आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ८७ लाख रुपैयाँमा खरिद गरिएको बेलिब्रिज बंशिलाघाटमा राखिएको हो ।
बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङ र भोजपुरका केही पालिकाका नागरिकलाई उदयपुरको बेलटार हुँदै इटहरी, विराटनगर र धरानलगायत सहरसम्म सहज आवतजावतको बाटो खुलेको छ । विशेषगरी खोटाङको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाका नागरिकले बंशिलाघाट हुँदै नुनदेखि सुनसम्मका सामग्री भित्र्याउने गर्दै आएका छन् । साथै काठ, सुन्तला, अलैंची, अम्लिसो, तेजपातलगायतका स्थानीय उपज यही नाका प्रयोग गरी बाहिर पठाउँदै आएका छन् ।
बंशिलाघाटको दुवै किनारामा कच्ची सडक निर्माण भइसकेको र मालबाहक सवारी साधनको ओहोरदोहोर भइरहे पनि पुल नहुँदा नागरिक उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य थिए । यसअघि बंशिलाघाटमा झोलुङ्गे पुलबाट मात्रै आवतजावत हुँदै आएको थियो । स्थानीय बासिन्दाको दैनिक बाक्लो ओहोरदोहोर हुने सो झोलुङ्गे पुल जोखिमपूर्ण बन्दै आएको थियो ।
खोटाङ र उदयपुर जोड्ने यो दोस्रो बेलिब्रिज हो । यसअघि खोटेहाङ गाउँपालिका–९ (लिच्कीराम्चे) र उदयपुरको रौतामाई गाउँपालिका–५ (आँपटार) जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालनमा आएको छ । २०८१ असोज १२ गते आएको बाढीले फोक्सिङटारको पक्की पुल बगाएपछि त्यहाँ बेलिब्रिज जडान गरिएको थियो ।
बंशिलाघाटमा पक्की पुल निर्माणका लागि एमएस कालिका–बेदांसी जेभी, काठमाडौंले ३३ महिनाभित्र काम सक्ने गरी २०७७ पुस २८ गते ठेक्का सम्झौता गरेको थियो । भ्याट र पीएससहित १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैयाँमा ठेक्का लागेको उक्त पुलको २०७९ पुस १ गते तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिलान्यास गरेका थिए । तर सम्झौताअनुसार काम अघि नबढ्दा आयोजना हाल अलपत्र अवस्थामा रहेको छ ।
मुख्य बुँदा
बाढीपहिरोले क्षति पुगेका सडक पुनर्निर्माणमा कुल १२ अर्ब ३८ करोड खर्च लाग्ने अनुमान।
यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र पुलका लागि १० अर्ब ६८ करोड।
मेची राजमार्ग सबैभन्दा धेरै क्षतिग्रस्त, पुनर्निर्माणमा डेढ अर्ब खर्च।
१७ स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड, नयाँ बेलिब्रिजमा ८० करोड, वैकल्पिक सडकमा एक अर्ब ५९ करोड।
मन्त्रि कुलमान घिसिङका अनुसार अवरुद्ध सडक सञ्चालन उच्च प्राथमिकतामा।
काठमाडौँ, २२ असाेज । गएको असोज १८, १९ र २० गतेका साथै त्यसअगाडिको बाढीपहिरोले क्षति पुर्याएका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँको अनुमान प्रस्तुत गरेको छ। यसअघि गएको वर्षको विपद्बाट क्षति पुगेका संरचनाको एक अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार, बाढीपहिरोबाट अवरुद्ध सडकको सञ्चालन उच्च प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका छन्।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा धेरै क्षति मेची राजमार्गमा भएको छ, जसको पुनर्निर्माणमा डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणगढ–मुग्लिन लगायतका राजमार्गको पुनर्निर्माणमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ, नयाँ बेलिब्रिज निर्माणमा ८० करोड रुपैयाँ, र वैकल्पिक सडक पुनर्निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
सङ्खुवासभा, १६ असार। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामाथि बेलिब्रिज जडान गरिएको छ ।
सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी आफ्नै बजेटबाट निर्माण सम्पन्न गरेको सो पुलको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले उद्घाटन गरे । करिब रु चार करोड ३९ लाखको लागतमा ३९ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो।
यसअगाडि स्थानीयवासी काठ र बाँसको फड्के प्रयोग गरी जोखिम मोलेर खोला तर्दै आएका थिए । अहिले पुल बनेसँगै सुरक्षित र भरपर्दो आवागमनको सुविधा पुगेको अध्यक्ष मेवाहाङले बताए । पुलसँगै सडकको दायाँबायाँ ग्याविन तारजाली भर्ने र ढुङ्गा ओछ्याउने कामसमेत सम्पन्न भइसकेको छ ।
पुल निर्माणपछि मांतेवा, याफू र ताम्कु गाउँका करिब तीन हजारभन्दा बढी बासिन्दालाई खाँदबारी सदरमुकाम आवतजावत गर्न सहज भएको छ । छिमेकी बुम्लिंगटार क्षेत्रका स्थानीयवासीलाई सङ्खुवासभातर्फको यात्रा थप सहज र सुरक्षित बनेको छ । रासस