काठमाडौँ, २७ चैत । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति (चैत २६, २०८१) भएको भीषण आगलागीमा २७ वटा घर जलेर नष्ट भएका छन्। आगलागीबाट ७ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको सुरुवात मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको ग्यास सिलिन्डर विस्फोट भएपछि भएको स्थानीयले बताएका छन्। विस्फोटबाट फैलिएको आगोले बजार क्षेत्र नै सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गर्दै आएका थिए ।
अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट भएको क्षति ७ करोडभन्दा बढी भएको प्रारम्भिक अनुमान रहेको र पीडितहरूबाट यथाशीघ्र क्षतिको विवरण सङ्कलन गरिने जानकारी दिएका छन् । उनका अनुसार आगो करिब सवा सात बजे सुरु भएको थियो र पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, सुरक्षाकर्मीको टोली खटिएको थियो।
आगलागीमा पसलसहित घरमा रहेका नगद, सामान, अन्नपात र अन्य मूल्यवान् वस्तु जलेर नष्ट भएका छन्। पीडितहरूले तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन्। यो घटनाले अछामको मुख्य व्यापारिक केन्द्रमा ठूलो प्रभाव पारेको छ। स्थानीय प्रशासनले क्षतिको पूर्ण विवरण तयार पार्न र पीडितहरूलाई सहयोग गर्न पहल थालेको छ।