काठमाडौँ, २६ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि गत शनिबार (चैत २३, २०८१) भएको निर्वाचनको मतगणना तेस्रो दिनमा प्रवेश गरेको छ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालका अनुसार खसेका मतमध्ये अझै ३५ सय मत गणना गर्न बाँकी छ। काठमाडौँ बार, उच्च अदालत बार र ललितपुर बारको मतगणना बाँकी रहेको उनले बताए। बुधबार पनि मतगणना नसकिने र भोलि चैत २८ सम्ममा गणना पूरा गरी मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेकाे छ।
शनिबार भएको मतदानमा ९,९९६ योग्य मतदातामध्ये ७,००० भन्दा बढी मत खसेको थियो। पछिल्लो मतगणनाअनुसार लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानलले मतान्तर फराकिलो बनाएको छ। दोस्रो दिनको अन्तिम परिणाममा कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको लोकतान्त्रिक–प्रगतिशील गठबन्धनले सबै पदमा दोब्बर अग्रता कायम गरेको छ।
लोकतान्त्रिक–प्रगतिशील गठबन्धनका अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले २हजार ८ सय ८२ मत प्राप्त गरेका छन् भने विपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायीको व्यावसायिक कानुन व्यवसायी गठबन्धनका रमनकुमार श्रेष्ठले १ हजार ४ सय ८२ मत पाएका छन्।
महासचिवमा पनि लोकतान्त्रिक–प्रगतिशील गठबन्धनका केदार कोइरालाले २,८६० मत हासिल गरेका छन् भने व्यावसायिक कानुन व्यवसायी गठबन्धनका यज्ञमणि न्यौपानेले १ हजार २ सय ३८ मत प्राप्त गरेका छन् ।
सबै पदमा सत्तापक्षीय नेकपा (एमाले) निकट पीपीएलए र नेपाली कांग्रेस निकट डीएलएको गठबन्धनका उम्मेदवार अगाडि छन्। देशभर ९,९९७ योग्य मतदाता रहेकोमा करिब ८० प्रतिशत अर्थात् ७ हजार ९ सय ९५ मत खसेको थियो। बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।