भर्खरै : Sorry, your browser does not support inline SVG.

बेइजिङ, ५ जेठ । चिनियाँ प्रविधि कम्पनी शाओमीले आगामी १० वर्षमा स्मार्टफोन चिप विकासका लागि ५० अर्ब युआन (झण्डै ७ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ।

कम्पनीको स्थापनाको १५औं वार्षिकोत्सवको अवसरमा शाओमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत लेई जुनले सामाजिक सञ्जालमार्फत यस योजनाको जानकारी दिएका हुन्। उनले चिप निर्माणलाई शाओमीको भविष्यको रणनीतिक प्रविधि विकासमा एक नयाँ अध्यायको रूपमा वर्णन गरेका छन्। स्मार्टफोन, स्मार्ट होम उपकरणदेखि विद्युतीय गाडी निर्माणसम्म संलग्न शाओमी चीनकै एक प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो।

शाओमीले सन् २०१७ मा पहिलोपटक आफ्नै चिप ‘Surge S1’ उत्पादन गरेको थियो, तर प्राविधिक जटिलता र वित्तीय अवरोधका कारण परियोजना रोकिएको थियो। त्यसपछि कम्पनीले स्मार्ट डिभाइस र विद्युतीय गाडी उत्पादनतर्फ ध्यान केन्द्रित गरेको थियो। हाल चीन र अमेरिका प्रविधिको क्षेत्रमा आत्मनिर्भरता र नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेका बेला शाओमीको यो लगानी घोषणा आएको हो।

चीन सरकारले पनि आफ्ना प्रविधि कम्पनीहरूलाई विदेशी आपूर्तिकर्तामाथिको निर्भरताबाट मुक्त गराउँदै आफ्नै चिप उत्पादनमा केन्द्रित हुन लगातार दबाव दिँदै आएको छ।

हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रविधिको क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औँल्याएका थिए। यस्तो सन्दर्भमा शाओमीको यो लगानी चिनियाँ प्रविधि उद्योगलाई सशक्त बनाउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।