शुक्लाफाँटा नगरपालिकाको कुखुरा फार्ममा फाउल पोक्स सङ्क्रमण पुष्टि
वडा नं ८ का किसान प्रभावित
फाउल पोक्स सङ्क्रामक भाइरल रोग
कुखुरामा दाना, फोका, कमजोरी र अण्डा उत्पादन घट्ने लक्षण
मानिसमा नसर्ने रोग
अन्य फार्ममा फैलिन नदिन सतर्कता अपनाउन आग्रह
कञ्चनपुर, ४ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ। नगरपालिकाको वडा नं ८ मा सञ्चालन गरिएको कुखुरा फार्ममा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो।
नगरपालिकाको पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो, जसलाई एभिन पोक्स पनि भनिन्छ। सङ्क्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने जस्ता लक्षण देखिने उनले जानकारी दिए।
उनका अनुसार केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुनसक्ने जोखिम रहन्छ।
फाउल पोक्स सङ्क्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले बताए। “यस्ता औषधि कुखुरालाई खुवाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ र मृत्युदर घटाउन सहयोग पुग्छ,” उनले भने।
अन्य कुखुरा फार्ममा उक्त रोग फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। फाउल पोक्स सङ्क्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण, लामखुट्टे तथा अन्य कीरामार्फत फैलिने जनाइएको छ। समयमै नियन्त्रण नगरेमा किसानलाई ठूलो आर्थिक क्षति हुनसक्ने पशुपन्छी शाखाले चेतावनी दिएको छ।
पशुपन्छी शाखाले किसानलाई सङ्क्रमित कुखुरालाई अन्य कुखुराबाट अलग राख्न, फार्मको सरसफाइमा ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न तथा आवश्यक परेमा फाउल पोक्सविरुद्धको खोप लगाउन आग्रह गरेको छ। साथै रोगको शङ्का लागेमा ढिलाइ नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ।
फाउल पोक्स मानिसमा नसर्ने रोग भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने पशु चिकित्सक पाण्डेयले स्पष्ट पारे। बाह्य क्षेत्रबाट आयात गरिएका कुखुराका चल्लाबाट सो रोग फैलिएको हुनसक्ने आशङ्का गरिएको छ।