चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
१५० गणक, २८६ ग्रिडमा क्यामेरा मार्फत गणना
चितवन–पर्सा ब्लक, बाँके, बर्दिया र शुक्लाफाँटा पनि समावेश
प्रत्येक बाघको पाटा अनुसार संख्या छुट्याइने
३ महिना लगाएर गणना, पश्चात् गैँडा गणना
चितवन, ३ पुस । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उनले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए । उनले भने, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।”
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताए । उनका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने छ ।
चितवन–पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको उल्लेख गर्दै सूचना अधिकारी मगरले यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए ।
“योसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार-चार वर्षमा बाघ गणना गरिँदै आइएको छ”, मगरले भने । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका उनले जानकारी दिए ।
ग्रिडहरू बीचभागमा पर्ने स्थानमा गणना गर्ने प्राविधिक क्याम्प (शिविर) सथापना गरी गणकका लागि बस्ने व्यवस्था गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । गणकहरूले भूगोल अनुसार आठदेखि १२ सम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने उहाँले जानकारी दिए ।
“ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, सूचना अधिकारी मगरले भने । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए ।
“हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स (समूह) यो हो भने दोस्रो बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यसलाई एउटै ब्लक बनाइने छ”, उनले भने ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।
बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो । रासस
मुख्य बुँदा
आठ दिनको उपचारपछि सानो खैरो गिद्ध पुनर्जीवित
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा प्रकृतिमा फर्काइयो
लामो दूरीको यात्रामा पानी र आहाराको कमीका कारण बिरामी भएको अनुमान
खुट्टामा जडान गरिएको ‘जे १६’ स्याटेलाइट ट्यागबाट उडान मार्गको पुष्टि
‘अत्यन्तै सङ्कटापन्न’ सूचीमा रहेको प्रजाति
कञ्चनपुर, २७ साउन । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य दुर्लभ थियो ।
“टाउको झोक्राएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरेका थियौँ”, सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीले भने, “गिद्धको अवस्था हेर्दा बाँच्ला जस्तो लागेकै थिएन, उपचारसँगै स्याहारसुसार र आहारमा ध्यान दिइएपछि तन्दुरुस्त भयो ।”
गिद्धलाई निकुञ्जको सुरक्षित स्थानमा लगेर छाड्दा दुई–तीन पाइला हिँड्दै उडेको देखेर निकै खुसी लागेको उनले बताए । “उडेको दृश्य निकैबेर नियाल्यौँ”, उनले भने, “केही बेरको उडानपछि गिद्ध अस्नाको रुखमा पखेटा फिँजाउँदै बसेको दृश्य क्यामेरामा कैद गर्न भ्यायौँ ।”
सामुदायिक वनका पदाधिकारीले वन क्षेत्रमा गत साउन १९ गते बिरामीको अवस्थाको गिद्ध देखापरेपछि डिभिजन वन कार्यालय कैलालीमा खबर गरेका थिए । त्यसपछि गिद्धको उद्धार गरी उपचार गरिएको थियो । बिरामी परेको गिद्धको बर्दिया राष्ट्रिय निकुञ्जस्थित प्रकृति संरक्षण कोष (एनटिएनसी) का भेटेरिनरी चिकित्सक विकल्प कार्कीसहितको टोलीले आठ दिनसम्म उपचार गरेका हुन् ।
पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट प्राकृतिक विचरणका लागि उडेको गिद्ध भारतका विभिन्न बस्ती हुँदै कैलालीको लम्की पुगेर बिरामी परेका अवस्थामा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन० का चरा विज्ञ हिरुलाल डगौराले बताए ।वर्षात्को समयमा झुन्डबाट छुट्टिएर लामो दूरी तय गर्दा अर्ध वयस्क सानो खैरो गिद्ध पर्याप्त पानी, आहारा नपाउँदा रगतको कमी भई बिरामी परेको हुनसक्ने उनले बताए । गिद्धको बाह्य चोटपटक लागेको भने नरहेको उनले जानकारी दिए।
“गत असार २७ गते नवलपुरबाट उडेको गिद्ध सुरुको पाँचदेखि सात दिनसम्म कपिलवस्तुको गैडहवा वन तथा रेस्टुरेन्ट क्षेत्रमै विचरण गरेको पाइएको छ”, उनले भने, “त्यसपछि गिद्धले कपिलवस्तुको गैडहवाबाट विचरणका लागि भारतको बहराइच, लखिमपुर, टिकुलिया, सीमावर्ती क्षेत्र भजनी हुँदै मसुरियासम्म पुगेर फर्किने क्रममा लाँलीगुरास वनमा बिरामी अवस्थामा फेला परेको हो ।”
गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट टयाग ‘जे १६’ ले उक्त गिद्धले पूर्वी नवलपरासीको जटायु रेष्टुरेन्टबाट उडान भरेको पुष्टि भएको चरा विज्ञ डगौराले बताए। नेपाल पक्षी संरक्षण सङ्घको तथ्याङ्कअनुसार विगत केही वर्षअघि रेष्टुरेन्टकै एक डङ्गुर गिद्धले भारतको पश्चिमी क्षेत्रसहित पाकिस्तानसम्म विचरणका लागि उडान गरेको थियो । नेपाल पक्षी संरक्षण सङ्घ र सबडिभिजन वन कार्यालय लम्कीको टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गिद्धलाई सुरक्षित क्षेत्रमा छाडेको डगौराको भनाइ छ ।
“गिद्ध उपचारपछि स्वस्थ र तन्दुरुस्त छ”, उनले भने, “पुनः पुरानै वासस्थानमा फर्कनेमा विश्वस्त छौँ ।” गिद्धमा जडान गरिएको रेडियो कलरको सहायताले जिपिएस ट्र्याकिङ गरी अवस्थाबारे अध्ययनको कार्य निरन्तर जारी रहने उनले उल्लेख गरे । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले यस प्रजातिको गिद्धलाई अति सङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ । रासस
कञ्चनपुर, ३१ असार। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइएको हो ।
नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको सङ्ख्या एक सय ८४ रहेको पाइएको छ । गत वर्ष गरिएको गणनामा तोपचराको सङ्ख्या दुई सय १३ रहेको थियो । “घाँसे मैदान विनाश नै सुनौलो तोपचराको विनाशको प्रमुख कारणका रूपमा रहेको छ”, उनले भने “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन् ।”
उनका अनुसार घाँसे मैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्दछन् । संरक्षण क्षेत्र बाहिर रहेका ती क्षेत्र नासिदै गएका छन् । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदानमात्र बाँकी छ । सुनौलो तोपचराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्ध रूपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन्”, उनले भने।
अर्को सुनौलो तोपचरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उनको भनाइ छ । निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्ले बसाइँसराइका कारणले पनि यस चराको सङ्ख्या घट्नुमध्येको एक कारण हुनसक्ने बताउछन् । निकुञ्जभित्रको घाँसेमैदानको बासस्थानमा पहिलेको भन्दा केही फरक नरहेको उनी बताउछन् ।
उनका अनुसार सुनौलो तोप चरा तराई क्षेत्रमा मात्र पाइने चरा हो । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन् । सुनौलो तोपचरा विश्वमै दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको छ । यस चराले मेदेखि सेप्टेम्बरसम्म प्रजनन गर्ने गर्दछ ।
नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सुनौलो तोपचराले निकुञ्जको घाँसेमैदानका बीच भागमा गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको चराविज्ञ डगौराले बताए । “रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ”, उनले भने, “तोपचरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।”
सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । त्यसपछि निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । निकुञ्जमा किसानको साथीका रूपमा रहेको सुनौलो तोपचराले कीराफट्याङ्ग्रा खान मन पराउँछ । निकुञ्जका सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ । निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको छ ।
निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोपचराको गणनाको कार्य गरेका हुन् । निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोपचरा गणनाको कार्य गरिएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोपचरासँगै चार सय बढी प्रजातिका चरा पाइन्छन् । रासस