भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

काठमाडौँ, १ माघ । नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन भएसँगै गगन थापा र शेरबहादुर देउवा नेतृत्वका दुई समानान्तर केन्द्रीय कार्यसमिति आमनेसामने आएका छन्। पार्टीको झन्डा र चुनाव चिह्न ‘रुख’ कसले पाउने भन्ने विषयमा उत्पन्न विवाद अब निर्वाचन आयोगमा पुगेको छ।

संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको र विशेष महाधिवेशन पक्षधरले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेसँगै कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद चर्किएको हो। दुवै पक्ष आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा पुगेका छन्।

थापा पक्षले ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन प्रक्रिया अघि बढाएको जानकारीसहित गत मंगलबार नै निर्वाचन आयोगमा पत्र बुझाएको छ। नवनिर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्न आज अर्को पत्र पठाउने तयारी गरिएको जनाइएको छ।

यता, संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको निर्णयसहितको पत्र आयोगमा पठाएको छ। उक्त पत्रमा विशेष महाधिवेशन आयोजना नभएको र त्यससम्बन्धी कुनै दाबी आएमा त्यसलाई वैधानिक नमान्न आग्रह गरिएको छ।

निर्वाचन आयोगले दुवै पक्षका पत्र प्राप्त भइसकेको र राजनीतिक दलसम्बन्धी विवादमा आयोगको बैठक बसेर निर्णय गरिने जनाएको छ। माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय भएकाले त्यसअघि नै निर्णय गर्नुपर्ने दबाब आयोगमाथि रहेको छ।

राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ९ अन्तर्गतको दफा ४३ मा दलभित्र वा दुई वा दुईभन्दा बढी दलबीच उत्पन्न विवादको निरूपण आयोगबाट हुने व्यवस्था छ। आयोगको निर्णयप्रति असन्तुष्ट भए अदालत जाने व्यवस्था पनि ऐनमा गरिएको छ।

काठमाडौं, २७ मंसिर । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा सुरु हुँदैछ । उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल तथा ६ वटा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको अतिथि सत्कार समितिले जनाएको छ ।

समितिका सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको भए पनि उद्घाटन समारोहमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुने भएका छन्। खड्काको सचिवालयले यसको पुष्टि गरेको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आमन्त्रण गरिएको थियो । तर, प्रचण्डको सट्टा पार्टीका नेता देव गुरुङ सहभागी हुने भएका छन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार सुर्खेतमा पार्टीको एकता सन्देश सभा रहेकाले गुरुङ उद्घाटन समारोहमा जान लागेका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी हुने छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ पनि उद्घाटन समारोहमा उपस्थित हुने जनाइएको छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि आमन्त्रण गरिएको भए ता पनि उनले कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएका छन् । जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत निमन्त्रणा गरिएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउत भने काठमाडौं बाहिर रहेकाले सन्देश पठाउने जनाइएको छ ।

अतिथि सत्कार समितिका अनुसार नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एसोसिएसन, नेपाल उद्योग परिसंघ लगायत ६ वटा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू पनि उद्घाटन समारोहमा सहभागी हुँदैछन् ।

 

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार दिउँसो महाराजगञ्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ।

ओली देउवालाई भेट्न विशेष रूपमा महाराजगञ्ज पुगेका थिए। देउवा सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, आगामी सहकार्यका सम्भावना र पार्टीगत अवस्थाबारे समेत अनौपचारिक कुराकानी भएको बताइएको छ।

भेटमा दुवै नेताका पत्नीहरू देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्यसमेत सहभागी रहेका थिए।

भेटवार्ता करिब केही समय चलेको र विशेष एजेन्डा भने सार्वजनिक गरिएको छैन। नेपाली राजनीतिमा लामो समयदेखि प्रभावशाली दुवै नेताबीचको यो भेटलाई राजनीतिक वृत्तले सञ्चार, सहकार्य तथा शक्ति-सन्तुलनका सम्भावित संकेतका रूपमा हेरिएको छ।

काठमाडाैं, ६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसअघि पटक – पटक स्थगित हुँदै मंसिर ४ का लागि बोलाइएको बैठक फेरि सारिएपछि आज बस्न लागिएको हो । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा ७ वटै प्रदेश सभापतिहरू सहभागी हुनेछन् । गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषय मुख्य एजेण्डा बनेको छ । यसबारे केन्द्रीय सदस्यहरूबीच मतभिन्नता कायमै छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा उपनिर्वाचन भन्दा पहिले नै अर्थात् पुस महिनाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानमा छन् । त्यसका विपरीत सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले उपनिर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने तर्क गरिरहेका छन् ।
नियमित महाधिवेशन सम्भव नभए ५५ प्रतिशत प्रतिनिधिको भावना अनुसार विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव पनि थापा – शर्मा पक्षले अघि सारेका छन् ।

केन्द्रीय सदस्यहरूको आधिकारिक वक्तव्यक्रम कात्तिक २७ गते नै सकिए पनि, सहमतिको प्रयास गर्दै बैठक पटक – पटक सारिँदै आएको हो ।

आजको बैठकले महाधिवेशनको मितिबारे ठोस निर्णय लिन्छ कि पुनः अनिश्चितता कायम रहन्छ भन्नेमा सबै नेताकाे नजर त्यसमै केन्द्रित छ ।

 

 

 

 

हेटौंडा, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि आज हेटौंडा पुगेर राजीनामा दिने तयारी भएको हो ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको रोहवरमा बानियाँ र लामाबीच संयुक्त छलफल भएको थियो । सो छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापतिको उपस्थितिमा सहमति भएपछि लामा राजीनामा दिन तयार भएको जानकारी दिए । उनका अनुसार, “मुख्यमन्त्री लामाले दुई सर्तमा राजीनामा दिने सहमति जनाउनुभयो । पहिलो, उहाँले १४ साउनमा नियुक्त गर्नुभएका तीन मन्त्रीलाई सपथ गराउनु पर्ने र दोस्रो, सरकार लामापक्षको सहमतिमा सञ्चालन हुनुपर्ने ।”

मुख्यमन्त्री लामाले प्रमुख सचेतक रहँदाको समयमा गोविन्द लम्साल,  माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूलाई गत बुधबार नै सपथ गराउने तयारी भए पनि सत्ता साझेदार नेकपा एमालेको असहमतिको कारण सो प्रक्रिया रोकिएको थियो । बिहीबारका लागि पुनः तय गरिएको सपथसमेत प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक बिरामी परेर काठमाडौं जानुले सम्भव हुन सकेन ।

चित्रकारले बताएअनुसार, “प्रदेश प्रमुख हेटौंडा फर्किएपछि राजीनामा सिधै बुझाइनेछ,  नत्र मुख्यमन्त्री कार्यालयमा पत्र दर्ता गरिनेछ ।”  लामाले राजीनामा दिएसँगै नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन् । एक वर्षअघि एमाले–कांग्रेसबीच भएको सहमतिअनुसार नेतृत्व फेर्ने पालोअनुसार अब कांग्रेसको पालो सुरु हुँदैछ ।

बानियाँले अब आठ महिना सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि आगामी फागुनमा एमालेलाई सत्ता हस्तान्तरण गरिने एमालेले स्पष्ट गरिसकेको छ ।