एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा वार्ता गरेका छन् । यस पटक ट्रम्प र जेलेन्स्कीबीच तालमेल देखिएको छ ।
पत्रकारहरूसँगको भेटमा ट्रम्पले युद्धविरामबारे भने, “अमेरिका कुनै पनि शान्ति सम्झौतामा सुरक्षा ग्यारेन्टी दिन सहभागी हुनेछ । तर तत्काल युद्धविराम सम्भव छैन ।” बैठककै क्रममा ट्रम्पले पुटिनलाई करिब ४० मिनेट फोन गरेका थिए । क्रेमलिनका अनुसार, सो वार्तामा पुटिनले १५ दिनभित्र जेलेन्स्कीसँग प्रत्यक्ष भेट गर्न सहमति जनाए ।
युरोपेली नेताहरूको पहलमा भएको वार्तामा युक्रेनलाई अमेरिकी–युरोपेली सुरक्षा ग्यारेन्टीबारे छलफल भयो । जेलेन्स्कीले युरोपको लगानीमा ९० अर्ब डलरका अमेरिकी हतियार खरिद गर्ने योजना सार्वजनिक गरे । साथै, युक्रेन आफैंले ड्रोन उत्पादन गर्ने र अमेरिकाले त्यसको केही भाग खरिद गर्ने पनि उनले बताए । जेलेन्स्कीले भने, “युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउँछु, तर जमिनको साटफेर स्वीकार्दिनँ । युद्ध जारी रहँदा राष्ट्रपति चुनाव सम्भव छैन।”
ब्रिटिश प्रधानमन्त्री किर्स स्टार्मरले जेलेन्स्कीलाई ट्रम्पसँग कूटनीतिक व्यवहार गर्न विशेष सल्लाह दिएका थिए । त्यसकै आधारमा जेलेन्स्की यसपटक युद्धकालीन पोसाक छाडेर सुटमा देखिएका थिए । तर, रूसले भने युक्रेनमा नाटो देशका सैनिक तैनातीलाई कडाइका साथ अस्वीकार गर्ने चेतावनी दिएको छ ।
जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार, आगामी दुई साताभित्र पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेट सम्भावना बढेको छ ।