भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो ।

निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

“यहाँ बाघका लागि खाना र वासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटाभित्र रहेका ठुलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउँछन् । ‘शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्,’ उनले भने ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न सके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् । रासस

 


Thali Mobile Pvt.Ltd.