भक्तपुर । आगामी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुरमा आयोजना हुने भनिएको भक्तपुर महोत्सव स्थगित भएको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि असर गर्न सक्ने र यसबाट नागरिकलाई सजकता अपनाउन भन्दै महोत्सव स्थगित गर्नु परेको नगरपालिकाले जनाएको छ ।
तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको जानकारी दिदै नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबैलाई कोरोनाको संक्रमबाट बच्न सर्तक रहन आग्रह गरेका छन्। नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, सरोकारवालालगायतका पक्षहरुसँग छलफल गरि महोत्सब सफल पार्ने तयारीको कामलाई तीव्र पारेको थियो ।
हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक नाँचगान, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रमको तयरी गरिरहेको थियो ।
पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवद्र्धन, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना सांस्कृतिक सङ्ग्रहालयको समेत व्यवस्था तथा रात्रिकालीन पदयात्रा सञ्चालन कामलाई अगाडि बढाउनुको साथै स्थानीय युवालाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालीम सञ्चालन गरेको थियो ।


