२८ साउन २०७७ सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बन भएका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएकाे हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६ जना प्रहरी कर्मचारी निलम्बितमा परेका हुन । सवारी चालकसंँग विभिन्न बहानामा रकम लिएको पाइएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौडामा झिकाइएर थप छानबिन गर्न निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाले बताए । निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार जवान छन् ।
निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् । यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले बताए ।
निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतका संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन छ । ड्युटीमा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
काममा खटिएका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस दिन खोज्ने व्यक्तिलाई घुसवापतको रकमसहित पक्राउ गरी कानूनबमोजिम कारवाहीको दायरामा ल्याउने एक प्रहरी कर्मचारीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत समेत गरेको छ । आर्थिक प्रलोभनमा नपरी काममा इमान्दारी प्रदर्शन गर्ने अस्थायी ट्राफिक प्रहरीचौकी भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओमनारायण महतोलाई पुरस्कृत गरिएको हो ।rss
