मध्यपुर, ११ भाद्र । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपाली जनता अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र गैरसरकारी संस्था (एनजिओ)बाट सचेत रहनुपर्ने बताएका छन् । २७ औँ विविध भाषा साहित्य सम्मेलन आयोजक समितिद्वारा मध्यपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय देशमा भएका ध्वंसात्मक गतिविधिहरू योजनाबद्ध भएको दाबी गरेका हुन् ।
एनजिओ र आइएनजीओहरू साम्राज्यवादी देशहरूको आर्थिक हतियार भएकाे र आर्थिक सहायताको नाममा साना र कमजोर राष्ट्रहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने कार्य गरिरहेकाे बताए । भाद्र २३ र २४ गते भएका आन्दोलन एक-दुई दिनको तयारीले सम्भव नभएकाे बताउँदै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट निर्देशित हुन सक्ने बताए । उनले नेपाली नागरिकहरूले कहिल्यै पनि सिंहदरबार, सर्वोच्च अदालत र अख्तियार जस्ता प्रमुख संस्थाहरूमा आगजनी गर्न नसक्ने उल्लेख गर्दै यस्ता गतिविधिहरू विदेशी प्रभावमा कार्यरत तत्वहरूबाट सम्भव भएको बताए ।
नगर-प्रमुख प्रजापतिले इतिहासमा युगोस्लाभिया र सोभियत संघको विघटनमा एनजिओ र आइएनजिओहरूको संलग्नता रहेको उदाहरण दिँदै नेपालमा पनि यस्तै खतरा बढिरहेको चेतावनी दिए । नेपालका वर्तमान मन्त्रीहरूको पृष्ठभूमिले पनि विदेशी प्रभाव झल्काइरहेको उनले तर्क छ ।
त्यसैगरी कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य अनुराधा थापा मगरले चुनावमा पैसा, पद र शक्तिको लोभ देखाएर कार्यकर्तालाई राजनीति सिकाउने प्रवृत्तिले देशमा समस्या ल्याएको बताइन् । उनले नयाँ पुस्ताको आक्रोश र विद्रोह स्वाभाविक भए तापनि त्यसको प्रयोग गरेर नेपालमाथि स्वार्थपूर्ति गर्ने तत्वहरूबारे जनता चनाखो हुनु पर्ने आग्रह गरिन् ।

कार्यक्रममा विविध भाषा साहित्य समाजका सल्लाहकार सूर्यराम श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रले जनताको हित गर्न नसकेको भन्दै समाजवादी गणतन्त्र स्थापनाको आवश्यकता औँल्याए । साथै, उनले देशभक्तिपूर्ण साहित्य लेखनमा युवा पुस्तालाई सक्रिय हुन आह्वान गरे ।
आयोजक समितिका अनुसार २७ औँ विविध भाषा साहित्य सम्मेलन आगामी कार्तिक ५ गते मध्यपुरथिमी नगरपालिका – ५, तुलाननीमा आयोजना हुने छ। सम्मेलनमा भिन्तुना र्याली, साहित्यिक सत्र र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छन् ।


