भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो ।लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो । लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयवासीलाई सहजतासमेत प्रदान गरेको छ ।

पूर्वीरुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ । सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताउनुभयो ।पुनमगर भन्नुहुन्छ, “सडक आएपछि त निकै सजिलो भयो, पहिले यहाँ यही गाउँमात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ, अहिले धेरै ठाउँबाट मान्छे घुम्न आउँछन्, हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्, यो गाउँ हाम्रो पुर्खादेखि नै यस्तै थियो, यहाँ धेरैजसो पुराना घरमात्रै छन्, यही घर अहिले धेरैले मन पराए ।”

लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुनमगर बताउनुहुन्छ । उहाँले पहिले आफूहरू नयाँ ठाउँमा सामान किनमेल गर्न पुगेको भन्दै अहिले धेरै मान्छे आफ्नै गाउँमा घुम्दै आउँदा खुसी लागेको बताउनुभयो । गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उहाँको भनाइ छ ।“पहिले हामीहरू नुन, तेल र चामल ल्याउन एक साता लगाएर दाङ तुल्सीपुर पुग्थ्यौँ, त्यतिबेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेलाई धेरै समस्या थियो, तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो”, पुनमगरले भन्नुभयो, “अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्, केही मान्छेहरू त एक–दुई दिन बसेर घुमेर जान्छन् ।”स्थानीय सुनकुमारी पुनमगर सडकले गाउँलेको जनजीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुहुन्छ । पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको भन्दै गाउँ घुम्न आउनेले स्थानीयस्तरमा उत्पादन भएका सामान किनेर लैजाने गर्दा गाउँलेको आयआर्जनमा टेवा पुगेको उहाँको भनाइ छ ।

“यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छे सामान किनेमले गर्न, केटाकेटी पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे, गाउँमा उत्पादन भएका सिमी, आलु बाहिर जान पाउँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले बाहिरबाट घुम्न आउनेले पनि सिमी किनेर लैजान्छन्, अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्, गाउँमा बुनेका कोक्रो, डालो, नाङ्लोसमेत किनेर लान्छन् ।”अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरिनेको सङ्ख्यामा कमी आएको बताउनुभयो । उहाँले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बूढापाकामात्रै हुने गरेको स्मरण गर्दै अहिले बजार गएर व्यापार व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताउनुभयो ।उहाँले गाउँलेको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै आफूहरूका कामलाई पनि बाहिरबाट आउने मान्छेले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताउनुभयो । गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिनसके धेरै पर्यटक भित्र्याउन सकिने विकको भनाइ छ ।

उहाँले भन्नुभयो, “यो सडकमा दैनिक धेरै गाडी गुड्छन्, त्यसमध्ये अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्, उनीहरूलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दोरहेछ, धेरैजसोले घरमा आएर तान बनाइ, रौँ प्रशोधन गरेको हेर्छन्, कोही त बारीमा पनि पुगेर काम गरेको हेर्ने गर्छन् ।”बागलुङबाट घुम्न गएका मिलन बुढामगरले लुकुम गाउँ निकै रमाइलो भएको हुँदा आफू चारपटक घुम्न गएको बताउनुहुन्छ । एकैनासले चिटिक्क मिलेर बनेका घर र यहाँका स्थानीयगवासीको मौलिक संस्कृति र रहनसहन मनपर्ने हुँदा आफू पटक–पटक लुकुम गाउँ घुम्न जाने गरेको बताउनुभयो । अहिले लोकमार्ग कालोपत्र भएपछि यहाँ आउन धेरै समय नलाग्ने बुढामगर बताउनुहुन्छ ।“पहिले बागलुङबाट रुकुम कमै मान्छेहरू पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँ नै लुकुम हो मेरो”, उहाँले भन्नुभयो, “यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन, विदेशीका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयवासीले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ ।”

 


Thali Mobile Pvt.Ltd.