काठमाडौं । अदालतको फैसलालाई स्वागत गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) समक्ष उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि शुक्रबार लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन । सर्वोच्च अदालतको फैसलाको स्वागत गर्ने प्रतिक्रिया दिएका दिदै उनले भने ‘सर्वोच्चको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु’, सर्वोच्च भन्दा माथिल्लो निकाय पनि कुनै छ र ? भन्दै प्रश्न समेत गरे
लामिछानेले अदालतको फैसलासँगै आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत नरहेको बताए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । उनले जम्मा एक महिना २ दिन मात्रै कार्य सम्पादन गर्ने अवसर प्राप्त गरेका छन् ।
