काठमाडौँ, १० असार । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा आज पनि तातो लहर (हिटवेभ) को अवस्था कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी रहने सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि पछिल्ला केही दिनदेखि गर्मीको प्रभाव निरन्तर देखिएको छ।
यता, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।
त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
देशका विभिन्न भागमा एकातिर तातो लहर र अत्यधिक गर्मीको प्रभाव देखिँदा अर्कोतर्फ पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
