इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् ।
विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । सन् २०२० को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् । उनले नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने उल्लेख गरेका छन् ।