२६ साउन २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त विवरण जानकारी दिदै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।
उनीहरुमध्ये ८० जनाको मृत्यु भएको छ भने १६ हजार ४९३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र १४० जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिसकिएको बताए । आज मात्रै ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
भिडियाे हेर्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/3213210185382965/
बाँकेमा चिकित्सकसहित १५ जनामा कोरोना पुष्टि
बाँकेमा दुईजना चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज मेडिकल कलेजका २५ र ३४ वर्षीय महिला चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षणमा नेपालगन्जका ४७ वर्षीय पुरुष र १९ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ । नेपालगन्जको वडा प्रहरी कार्यालयका ३०, ३७ र ३८ वर्षका तीनजना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा प्रहरी कार्यालयबाटै संकलन गरिएको स्वाबको नमूना परीक्षणमा वडा प्रहरी कार्यालय ठेगाना लेखिएकी १० वर्षीया बालिका, नेपालगन्ज उपमहानगरपालिका ५ का ३१ वर्षीय पुरुष र १२ वर्षी बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णालीमा संक्रमितको संख्या २००० नाघ्यो
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितिको संख्या दुई हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ छन् । प्रदेशका ३ जिल्लामा गरी २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका १७ जना, सल्यानका ६ जना र सुर्खेतका एकजना रहेको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यस्तै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८८० पुगेको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको ६ भने ११७ जना आइसोलेसनमा रहेका छन् ।
प्रदेश ५ मा सबैभन्दा धेरै
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १ सय ६६ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् । तीन वटा प्रदेशमा गरी १ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । प्रदेश ५ मा सबैभन्दा धेरै संक्रमित होम आइसोलेसनमा छन् । त्यहाँ मात्र १ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।
प्रदेश १ मा १५ र कर्णाली प्रदेशमा ६ जना होम आइसोलेसनमा छन् । प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने कुनै पनि संक्रमित होम आइसोलेसनमा छैनन् ।आइसोलेसनमा रहने संक्रमितको संख्या बढिरहँदा सरकारले त्यही अनुसार अस्पतालहरुको क्षमता बढाउन सकेको छैन । सीमित क्षमताकै कारण सरकारले होम आइसोलेसनको अवधारणा ल्याएको हो ।
