काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै टी २० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । माथियु वाडेले १७ बलमा ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलको यात्रा तय गराएका हुन् । लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम ओभर बाँकी छँदै अस्ट्रेलियाले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।
यसअघि पाकिस्तानले खेल जित्नका लागि १ सय ७७ रनको चुनौती दिएको थियो । पाकिस्तानबाट मोहम्मद रिजवानले ६७, बाबर आजमले ३९ र फकर जमानले अविजित ५५ रन बनाएका थिए । यस्तै अस्ट्रेलियाका मिसेल स्टार्सले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १ विकेट लिए ।
जवाफी ब्याटिङ थालेको अस्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शुन्यमै गुमाएको थियो । डेभिड वार्नरले ४९ रनको पारी खेलेपनि १०.१ ओभरमा सदाब खानको बलमा मोहम्मद रिजवानले उनलाई क्याचआउट गरेका थिए । दबाबमा रहेको अस्ट्रेलियाले १२.२ ओभरमा आफ्नो ५ विकेट गुमाइसकेको थियो ।
पाकिस्तानबाट सदाब खानले ४ र साहिन शाह अफ्रिदीले १ विकेट लिए । फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ भने इङल्यान्डलाई हराएर न्युजिल्यान्डले फाइनल यात्रा तय गरेको छ ।

