२६ साउन २०७७ काठमाडौं । उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने भएका छन् ।
उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बताए ।
कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भइरहेको र मजदुरहरुको दैनिक आवत जावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दे उद्योग तथा कलकारखानाभित्रै क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । काठमाण्डौ उपत्यकामा अत्यन्त घनावस्ती रहेकाले कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दूहरुमा अत्यन्त कडाई गर्न सरकारलाई अनुरोध गर्ने निर्णय समेत फोरमले गरेको छ ।
