४ साउन २०७७, विराटनगर । नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ । झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको सीमावर्ती क्षेत्रमा झडप भएको हो ।
शनिबार राति साढे ९ बजे गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो । सशस्त्र प्रहरीका अनुसार घरेलु हतियारसहित भारतीय गाउँबाट आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको हो । सो क्षेत्रमा रहेको सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो भने भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।
नेपालमा लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको सशस्त्र प्रहरीले बताएको छ । समावर्ती क्षेत्रमा रहेको मलाह टोलका भारतीय नागरिकले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको बताइएको हो । यहि टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको पनि बताइएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको छ ।
शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा तनाव भएको थियो ।
