भर्खरै : Sorry, your browser does not support inline SVG.

पराजय भएर घर फकिन्न भन्ने कसम खाएका थियौं : संगीता

पराजय भएर घर फकिन्न भन्ने कसम खाएका थियौं : संगीता

भन्नेले जीवनको अर्थ अनेक थरी लगाएपनि जीवन संघषको यात्रा हो । मानव जीवन एकनासले चलिरहन्छ भन्ने लाग्दैन । विभिन्न उतारचढाव आउनु नै निरन्तर जीन्दगीको अविचल यात्रा हो । राजनैतिक परिधि भित्र त झन एकैनास जीवन रहदैन र रोकिदैन पनि । तर अन्तिम यात्रामा जीवनले विश्राम लिन्छ तर मानिसको पुनर्जन्म कहिल्यै हुदैन । तर आस्था, विचार भने जीवित रहन्छ । जीवन छ रत सबथोक छ । हांसो छ, खुसी छ । सुख दुःख सब थोक छ । यही भित्र छ वास्तविक जीन्दगीले बाचुन्जेल रमाउन रक्ने तागत ।

साेचनीय कुरा के छ भने हामीले कस्तो जीवन जिउने ? माक्र्स, ऐंगेल्स, लेनिन, स्तालिन र माओको जीवन जस्तै जिउने कि ? हिट्लर मुसोलिनीको जस्तो जीवन जिउने ? यहि भित्र समेटिएको छ वर्गिय जीवन जिउने आधार । एकल जीवन जिउने या समग्र जीवन जिउने यहिबाट थाहा हुन्छ ।

बाल्यावस्था र महान सपना सजाएको दिन
के खाँउ के लाँउ भन्ने अवस्थाको परिवारमा मेरो जन्म नभएपनि निम्न वर्गिग परिवारमा जन्म भएकाले केहि असहज र अप्ठयारो परिस्थितिको सामना त गर्नु परेको थियो नै । म सानै थिए । २०५८ असार ६ गतेका दिन आफन्तसंगै म मकै गोड्न बारीमा गएकी थिए । आफ्नो मकै गोडेर सकिएपछि सारदा दिदीको बारीमा गयौं । त्यहि बेला एक जना दाई काधमा झोला बोकेर आउनु भयो । त्यो दाईसंग दिदी सारदाको पहिले नै परिचय भएको रहेछ । बहिनी यति बेला मकै बारीमा दिन विताउने होइन, तपाईको खाँचो क्रान्तिमा छ भनेर दिदीसंग धेरै कुरा सुनाउनु भयो ।

म र दिदी सारदाले एकनास सुनिरयौं । क्रान्तिका कुरा त सुनेकी थिए तर त्यसमा आवद्ध मानिससंग पहिलो पटक भेट भयो । त्यो दाइसंग दिदी सारदाको धेरै पटक भेट भएको रहेछ । पार्टीमा जानेकुराको निर्णय पनि भैसकेको रहेछ । मलाई थाहा थिएन । त्यो दाईको नाम अजय रहेछ । तिमी पनि क्रान्तिमा जानु पर्छ बहिनी भनेर मलाई पनि भन्नु भयो । फेरी भेट्ने वाचा गरिन दिदीले । त्यसरी नै दिन वित्दै गए । दाइ र दिदीका कुराबाट म पनि प्रभावित भए । जाने निधो भयो तर कहाँ जाने थाहा थिएन । केहि दिन पछि मकै गोड्न छोडेर दिदीको घर गएें । दिदीले सबै सामान तयारी गरेर बसेकी रहिछन् । दिदी पार्टीमा जाने कुरा घरमा सबैलाई थाहा रहेछ ।

घरपरिवारबाट विदा मागेर हामी तिन जना त्यांहाबाट हिडयौं । हिड्न त हिडियो तर मनमा अप्ठयारो लागि रयो । किनकी म आफ्नो घरबाट नगएर दिदीको घरबाट गएकी थिए । म संग लगाएको एकसरो लुगा वाहेक अरु थिएन । न त परिवारलाई खबर नै गरेकी थिए । दाइले सान्तवना दिदै पीर नगर नानी उतै किनौला भन्नू भयो । असार महिनाको सिमसिमे पानी कुहिरोले छप्पकै छोपेको थियो । जाँंदा गाउँका मान्छेले देख्लान भन्ने डर पनि कुहिरोले छेकिदियो । सल्लेरी पाखो हुदै एउटा गाउँमा पुग्यौं । त्याहाँ जाँदा जनमिलिसिया कमरेडहरुसंग भेट भयो । दिदीले लालसलाम कमरेड भन्दै सवै जनासंग हात मिलाइन् र मलाई पनि त्यसै गर नानी भनिन् । खुसी भए सवै जना । हामीलाई महिला फर्मेशनमा पठाए । महिला कमरेड आउनु भयो परिचय भयो अनि अव फर्मेशन पुरा भयो भन्नु भयो ।

sangita bipanaफर्मेशनमा सबै खुसीसाथ बस्यौं । कोही गीत गाउँदै थिए, कोही मादल बजाउँदै त कोही लेख्न पढ्न थाले । कमाण्डर कमरेड आउनु भयो । नानीहरुलाई भोक लाग्यो होला भन्दै खाना खान बोलाउनु भयो । मेरा लागि सबै कमरेडहरु अपरिचीत हुनुहुन्थ्यो । सवै जना रमाउदै थिए भने मलाई नरमाईलो लागेको थियो । घरको याद आयो । बुबा आमाले थाहा पाए होलान् । चारैतीर कति खोजे होलान् । के गर्नु के गर्नु भईरहयो मनमा । कहिल्यै घर छोडेर बाहिर नगएकी म बाबाले थाहा पाएर खोज्न आउनु भयो भने के गरौंला ? के भनौंला मनमा डर त्रासले सतायो । पार्टीमा लागेका महिलाले भाषण गरेको, क्रान्तिकारी गीत गाएको र महिलाहरुले बन्दुक बोकेर हिडेको देखेर म पनि यसरी नै हिड्न पाएको भए भन्ने लाग्थ्यो । सानै देखिको रहर थियो बन्दुक बोक्ने अनि भाषण गर्ने ।

आज म त्यही ठाउँमा आएकी छु तर बन्दुक बोक्न कति समय कुर्नु पर्ने हो थाह थिएन । मन सान्त पार्न जानी नजानी बन्दुक त समाएकी छु तर मनमा अनेकन तरंग एकपछि अर्को रुपमा आइनै रहे । झम्मक साँझ प¥यो सबै कमरेडहरुले दोस्रो शेल्टर जाने तयारी गर्दै थिए । मलाई र दिदीलाई जनमिलिसियाको ड्रेस दिएर लगाउन अनुरोध गर्नु भयो । त्यस्तो कपडाको ड्रेस कहिल्यै नलगाएकोले अप्ठयारो लाग्यो । हुनत हाम्रो घरमा आउने जनसेनाका साथीहरुले लगाएको सम्झीए । यस्ता ड्रेसमा सजिएर घरमा खाना खान आउने दाई दिदी त कति आँउथ्ये आँउथ्ये । सौभाग्य आज म पनि त्यस्तै ड्रेसमा सजिन पाँउदा खुसी लाग्यो । अलि बच्चै हुनेबेला पुलिस बनेर खेलेको सपना पुुरा भयो जस्तो लाग्यो । सबै तयारी भयौ भनेर कमाण्डरले भन्नु भयो । सबैले तयारी छौं भन्नु भयो । सबै जना लाईनमा उभियौं ।

लाईनमा महिला कमरेडहरुलाई अगाडी लाउनुस् भन्ने आदेस आयो । लाईनको सबभन्दा अगाडी म थिँए । अनि दिदी सारदा क्रमस लाईनमा उभियांै । कमाण्डरले अब जाने ठाउँको बारेमा जानकारी गराउन भयो । हातमा बन्दुक थमाउदै बोक्न सिकाउनु भयो । दश पन्ह्र मिनेटको रोलकल पछि हामी त्याहाँबाट अघि बढ्यौं । रात त्यसमाथि असार महिनाको सिमसिमे पानी, सानो गारेटो बाटो भएकाले हिड्न अति अप्ठ्यारो तै पनि गाह्रो नमानि हिडियो । ‘कुहिरोमा हराएको काग’ झै हराएको थियो मन । दोस्रो शेल्टरमा पुगेको पत्तै भएन । स्थानीय पार्टीका कमरेडसंगको भेट र लालसलाम भन्दै बस्नको हतारो । राम्रै बन्दोवस्तीको व्यवस्था थियो त्यहाँ । राती सेन्ट्रि मिलाएर सुत्ने बानी पर्नु थियो ।

पहिलो पटक सेन्ट्री बसेकाले होला बिच बिचमा निदाए छु । दोस्रो सेन्ट्रीलाई उठाँए र सुतें । त्यो दिन, त्यो रात जनयुद्धको पहिलो रात अनि पहिलो अभ्यास । पहिलो अनुभुति बालापनको छुट्टै अनुभुति गरियो । त्यसपछि सपना जस्तो संसार अनौठो अनि बेग्लै संसारमा हराए । रात बित्यो उज्यालो भयो । सबै जना उठेर मिरमिरेमा रोलकल सुरु भयो । स्कुलमा गोडा फाट सत्रक भनेको याद यहाँको लाइनले देखाउथ्यो । सानै भएर होला रोलकलमा जहिले पनि अगाडि नै उभिनु पथ्र्यो । दिनहरु यसरी वित्दै गए । जनता र देश प्रतिको माया अनि शोसक सामन्त प्रतिको घृणाले ठाउँ ओगड्दै लग्यो । क्रमशः

४ असार २०७७ 

 


Thali Mobile Pvt.Ltd.