भर्खरै : Sorry, your browser does not support inline SVG.

रण बहादुरका पाँच कविता

रण बहादुरका पाँच कविता

१. आतङ्कवादी

तिमी फगत दास हौ
अधिकार नमाग्नू
केवल दायित्व निर्वाह गर्नू !

अन्यथा,
सत्ताधर्म नमानेको अभियोगमा
आतङ्कवादी घोषणा हुनेछौ
राष्ट्रिय अधिपतिहरूबाट ।

२. सुरुवात

डढ्छ, लुछिन्छ
काटिन्छ र कुल्चिन्छ घरीघरी
र पनि पलाउँछ, जाग्छ
र हाँस्छ पालुवा
र त
फेरि त्यहीँबाट सुरुवात हुन्छ
एउटा नयाँ जिन्दगी !

३. जित

जल्ने जलाउने
रुने रुवाउने
हाँस्ने हँसाउने
या यस्तै अनेकन
खेलहरू खेलिनेछन् प्रेममा !

खेल,
जोसुकैले जस्तोसुकै खेलोस्
हार त दुबैको निश्चित छ ।

४. बाटो र यात्री

तिम्रा दु:खले
तय गरेको यात्रालाई
पदचापहरूले बाटो पछ्याउँदै
सार्थक बनाइदिन्छन् !

भुइँछापहरू नमेटिँदासम्म
बिनासित्ति पीडा भोगिरन्छन्
बिचरा बाटोहरू ।

५. अन्तिम न्याय

न्यायले अन्याय गरिरहेपनि
न्यायले अन्यायसँग
अन्तिम न्यायको याचना गर्‍यो !

मलाई,
शिक्षण अस्पतालको बाकसबाट निकालेर
आर्यघाटको चिता माथी चढाइयोस् !
फेरि तिमीलाई
म जस्ता नन्द प्रसादहरूलाई
राख्ने ठाउँ पनि त खाली गर्नुछ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.