बाराको ३ नं पुल क्षेत्रमा अतिक्रमण हटाइयो
३५ घरधुरी हटाइए, मात्र २ घर सुकुमबासी भएको प्रारम्भिक दाबी
वन, निकुञ्ज र सडक क्षेत्रमा अतिक्रमण गरी बसोबास
अधिकांशको हेटौँडा र पथलैयामा अन्यत्र घर रहेको भेटिएको
चार दशकदेखि बसेका संरचना हटाइए
बारा/पर्सा, २ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा चार दशकदेखि रहेको अतिक्रमण हटाइएको छ। डिभिजन वन कार्यालय बाराको नेतृत्वमा स्थानीय प्रशासन, प्रहरी, पर्सा राष्ट्रिय निकुञ्ज, वनरक्षक तथा सडक डिभिजन कार्यालय हेटौँडाको संयुक्त टोलीले अतिक्रमण हटाएको हो।
वन कार्यालयका अनुसार वनदेवी सामुदायिक वन तथा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रसहित सडक क्षेत्र अतिक्रमण गरी बसेका ३५ घरधुरी हटाइएको छ। तीमध्ये प्रारम्भिक अध्ययनमा केवल दुई घरधुरी मात्र वास्तविक सुकुमबासी भएको देखिएको बताइएको छ।
वन अधिकृत ललन राउतका अनुसार सबै घरधुरीलाई यसअघि नै अन्यत्र बसोबास भए/नभएको जानकारी गराउन भनिएको थियो। अहिले हटाइएका अधिकांशको सामान हेटौँडातर्फ लगिएको छ।
डिभिजन वन अधिकृत सुजित कुमार झाका अनुसार धेरैजसो परिवारको हेटौँडा र पथलैयामा समेत घरजग्गा रहेको पाइएको छ। उनले वन ऐनले अतिक्रमणलाई मान्यता नदिने भएकाले कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइएको बताए।
स्थानीयले भने घर हटाउनुअघि समय माग गरेका थिए। तर सडक डिभिजन कार्यालय र वन कार्यालयले पूर्वसूचना जारी गर्दै पथलैया–अम्लेखगञ्ज–चुरियामाई क्षेत्रसम्मका अवैध संरचना हटाउन निर्देशन दिएको थियो।
वडा नं २२ का वडाध्यक्ष शेखरकाजी रुम्बाका अनुसार केहीले वैकल्पिक जग्गा उपलब्ध गराइदिन माग गरेका छन्। शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने कार्य साँझ ६ बजेसम्म चलेको थियो।
