ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् । निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् ।

ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले सार्वजनिक गरेको आधिकारिक नतिजाअनुसार ९९.८ प्रतिशतभन्दा बढी मतगणना सम्पन्न हुँदा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत ल्याएका छन् । यसअघि अक्टोबर ४ मा सम्पन्न पहिलो चरणको मतदानमा फ्लाभियो बोल्सोनारोले अग्रता लिएका थिए । तर दोस्रो चरणमा लुलाले मत परिणाम आफ्नो पक्षमा पार्दै जित हासिल गरेका हुन् ।

सन् १९८८ मा ब्राजिलमा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेको उम्मेदवारले दोस्रो चरणमा निर्वाचन जितेको यो पहिलो घटना भएको विवरणमा उल्लेख छ । पछिल्लो समय ल्याटिन अमेरिकाका अर्जेन्टिना, चिली र कोलम्बियाजस्ता देशमा दक्षिणपन्थी नेताहरूको राजनीतिक प्रभाव बढिरहेका बेला ब्राजिलमा लुलाको जितलाई महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ ।

लुलाले यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि सन् २०२३ मा पुनः राष्ट्रपति बनेका उनले अब चौथो कार्यकालका लागि नेतृत्व गर्नेछन् । निर्वाचनमा जित हासिल गरे पनि लुलासामु संसद्मा बलियो उपस्थिति रहेको दक्षिणपन्थी गठबन्धनसँग सहकार्य गर्नुपर्ने र विभाजित जनमतलाई सम्बोधन गर्नुपर्ने चुनौती रहनेछ ।

 


Thali Mobile Pvt.Ltd.