बुढीगण्डकीको बाढीले सखाप पार्‍यो शान्तिबजार, ५८ घरधुरीको बिचल्ली !

बुढीगण्डकीको बाढीले सखाप पार्‍यो शान्तिबजार, ५८ घरधुरीको बिचल्ली !

गोरखा, ९ कार्तिक। बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले घर, खेतबारी, खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण र पशुपन्छी बगाएपछि स्थानीय बासिन्दा घरबारविहीन भएका छन् ।

स्थानीय राजकुमार खत्रीका अनुसार शान्तिबजारमा ५८ घरधुरी रहेका छन् । बाढीले बस्तीका अधिकांश घर बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ । घरभित्र रहेका सामान बगाएका छन् भने कतिपय पुरिएका छन् । बाढीअघि बुढीगण्डकी नदी बस्तीको अर्कोपट्टिबाट बग्ने गरे पनि अहिले घरआँगनबाटै नदी बगिरहेको उनले बताए ।

‘पूरै ध्वस्त भयो, केही छैन । ५८ घरधुरी रहेको हाम्रो बस्तीमा एउटा पनि घर काम लाग्ने अवस्थामा छैन । निकाल्न सकिने भनेको जस्तापाता मात्रै हो,’ खत्रीले भने, ‘धान, कुखुरा, टिभी, फ्रिज सबै नष्ट भएका छन् । अहिले हामीसँग केही बाँकी छैन ।’ बाढीबाट विस्थापित परिवारलाई तत्काल बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको पालमा अहिले २८ घरधुरीका परिवार बसिरहेका छन् । अन्य परिवारले भने साना टहरा बनाएर अस्थायी रूपमा आश्रय लिइरहेका छन् । प्रभावित परिवारले सरकारले छ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने घोषणा गरेको जानकारी पाएको खत्रीले बताए । तर, घरसँगै दैनिक जीवनयापनका आधारसमेत गुमेपछि प्रभावित परिवारलाई सामान्य अवस्थामा फर्कन कठिन हुने देखिएको छ ।

बाढीले घरमा मात्र नभई कृषि र पशुपालनमा निर्भर परिवारको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ । स्थानीय घारे गुरुङका अनुसार बाढीले उनको दुई रोपनी जमिनमा लगाइएको खेती नष्ट गरेको छ । बाख्रा, गाई र कुखुरापालनबाट जीविकोपार्जन गर्दै आएका गुरुङलाई बाढीले थप आर्थिक संकटमा पारेको छ । ‘मेरो दुई रोपनी जमिनको खेती गयो । अरू क्षतिको त हिसाब नै छैन,’ गुरुङले भने ।

घर, खेतबारी र पशुपन्छी गुमाएपछि शान्तिबजारका बासिन्दाको आम्दानीको स्रोतसमेत बन्द भएको छ । घरबारविहीन परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा र सरसफाइका सामग्री आवश्यक देखिएको छ । विस्थापित परिवारको पुनःस्थापनाका लागि क्षतिको यकिन विवरण सङ्कलन, सुरक्षित बसोबासको व्यवस्था र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।्र

बाढी प्रभावित शान्तिबजारका बासिन्दा अहिले अस्थायी आश्रयमा दिन बिताइरहेका छन् । घर र सम्पत्ति गुमाएका उनीहरू राहतसँगै सुरक्षित आवास र भविष्यमा यस्ता विपद्बाट जोगिने दीर्घकालीन व्यवस्थाको प्रतीक्षामा छन् ।

 


Thali Mobile Pvt.Ltd.