भर्खरै : Sorry, your browser does not support inline SVG.

देवी माध्यमिक विद्यालयमा अभिभावक अभिमुखीकरण सम्पन्न, ‘असल अभिभावकत्व’मा गहिरो आत्ममन्थन

देवी माध्यमिक विद्यालयमा अभिभावक अभिमुखीकरण सम्पन्न, ‘असल अभिभावकत्व’मा गहिरो आत्ममन्थन

भक्तपुर, १९ माघ । चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित देवी माध्यमिक विद्यालयमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘असल अभिभावकत्व’ विषयमा आयोजित कार्यक्रममा करिब डेढ घन्टासम्म उत्प्रेरक तथा परामर्शकर्ता कमल सिलवालले सहजीकरण गरेका थिए ।

कार्यक्रमभर अभिभावकहरू पूर्ण रूपमा एकाग्र रहँदै सहभागिता जनाएका थिए । सहजीकरणका क्रममा सिलवालका व्यवहारिक उदाहरण र भनाइले हलमा सहज हाँसो समेत ल्यायो । तर त्यो हाँसो केवल मनोरञ्जनका लागि मात्र नभई अभिभावकहरूको दैनिक व्यवहार र पारिवारिक अभ्यासप्रतिको आत्ममूल्याङ्कनको क्षण बनेको देखिन्थ्यो ।‘बच्चा चुप लागोस् भनेर मोबाइल दिने हामी नै पछि भन्छौँ – मेरो बच्चा मसँग बोल्दैन,’ भन्ने भनाइले धेरै अभिभावकलाई गम्भीर सोचमा डुबाएको थियो ।

सिलवालले विद्यालय र घरको भूमिकालाई स्पष्ट पार्दै भने, “विद्यालय परीक्षणशाला हो भने घर वास्तविक प्रयोगशाला हो ।” उनका अनुसार शिक्षकले मार्गदर्शन गरे पनि बालबालिकाको चरित्र, अनुशासन, व्यवहार र मानसिक स्वास्थ्यको आधार घरमै निर्माण हुन्छ । अंक, परीक्षा र प्रतिस्पर्धामा मात्र केन्द्रित सोचले बालबालिकालाई अनावश्यक दबाबमा पार्ने र आत्मविश्वास कमजोर बनाउने उनले बताए । उनले अभिभावकहरूले अन्जानमा गर्ने गम्भीर गल्तीमध्ये तुलना गर्ने प्रवृत्तिलाई प्रमुख समस्या औँल्याए । “छिमेकीको छोरा, मामाघरको छोरी वा सामाजिक सञ्जालमा देखिने बालबालिकासँग तुलना गर्दा बालबालिकाको आत्मबल क्रमशः कमजोर हुँदै जान्छ,” उनले भने, “यसको असर तत्काल नदेखिए पनि दीर्घकालीन रूपमा सोच, निर्णय क्षमता र व्यवहारमा गहिरो प्रभाव पर्छ ।”

त्यसैगरी, डर, धम्की र कुटपिटलाई अनुशासनको माध्यम ठान्ने सोचप्रति उनले प्रश्न उठाउँदै समाधान सजाय नभई संवाद, समझदारी र विश्वासबाट सम्भव हुनेमा जोड दिए । “डरले बालबालिका केही समय शान्त हुन्छन्, तर सुधार हुँदैन,” उनको भनाइ थियो । अन्तरक्रियात्मक विधिबाट सञ्चालन गरिएको कार्यक्रममा अभिभावक शिक्षाको अभावका कारण धेरै बालबालिका घर र विद्यालय दुवै ठाउँमा दबाबपूर्ण जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै सिलवालले आमाबाबुलाई बालबालिकाको मनोविज्ञान र सिकाइसम्बन्धी ज्ञान आवश्यक रहेको बताए ।

कार्यक्रममा देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले अभिभावकहरूलाई समस्या पर्दा मात्र नभई बालबालिकाको शैक्षिक तथा व्यवहारिक प्रगतिबारे बुझ्न पनि नियमित रूपमा विद्यालयसँग सम्पर्कमा रहन आग्रह गरे । चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यातले शिक्षाको गुणस्तर सुधार विद्यालयको मात्र दायित्व नभई घर, विद्यालय र समुदायको साझा जिम्मेवारी भएको बताए। घरमै संस्कार, अनुशासन र संवादको वातावरण बने मात्र विद्यालयका प्रयास प्रभावकारी हुने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक–शिक्षक संघका प्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो । विद्यालयले यस्ता अभिभावक उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया सहभागी अभिभावकहरूले दिएका छन् । अभिमुखीकरणले आत्ममन्थन र जिम्मेवारीबोध गराएको तथा बालबालिकासँगको सम्बन्धलाई नयाँ दृष्टिले हेर्न सहयोग पुगेको उनीहरूको भनाइ छ ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.