होर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा

होर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा

एजेन्सी । इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ । लेबनानमा जारी इजरायली आक्रमणलाई कारण देखाउँदै इरानको संयुक्त सैन्य कमाण्डले शनिबार सरकारी टेलिभिजनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो ।

इरानले अमेरिका र इरानबीच हालै भएको शान्ति समझदारीको पहिलो शर्त नै लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि रोक्नु रहेको दाबी गरेको छ । तर इजरायलले लेबनानमा आक्रमण जारी राखेको भन्दै तेहरानले वासिङ्टनमाथि प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको आरोप लगाएको छ । गत जुन १७ मा अमेरिका र इरानबीच युद्ध अन्त्य तथा होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक समझदारी भएको बताइएको थियो । उक्त समझदारीमा लेबनानमा शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने विषय पनि समावेश रहेको जनाइएको छ ।

यद्यपि त्यसपछि पनि इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको आरोप छ । केही दिनअघि अमेरिका तथा अन्य मध्यस्थकर्ताको पहलमा इजरायल र लेबनानबीच युद्धविराम घोषणा गरिएको भए पनि त्यो लामो समय टिक्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रिपोर्टअनुसार इजरायली सेनाले ड्रोन तथा तोपखानामार्फत दक्षिणी लेबनानका क्षेत्रमा आक्रमण गरेको थियो, जसमा कम्तीमा १६ जनाको मृत्यु भएको बताइएको छ । त्यसपछि इरानले कडा प्रतिक्रिया जनाउँदै होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको हो ।

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशको सुरक्षामा कुनै सम्झौता नगर्ने बताएका छन् । उनले गाजा र लेबनानमा इजरायलका सैन्य अभियान जारी रहने स्पष्ट पारेका छन् । होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिन्छ । विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

यद्यपि अमेरिकी अधिकारीहरूले हालसम्म जलमार्ग पूर्ण रूपमा बन्द भएको पुष्टि गर्ने सैन्य गतिविधि नदेखिएको बताएका छन् । यस विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.