जुम्ला, ९ कार्तिक । बजारमा कोदोको पिठोको माग बढ्दै गए पनि जुम्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ । रैथाने बालीका रूपमा रहेको कोदो खेतीप्रति नयाँ पुस्ताको आकर्षण घट्नु र खेतीयोग्य जमिन बाँझिँदै जानुले यसको उत्पादनमा कमी आउन थालेको हो ।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार पछिल्लो समय जिल्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या घटिरहेको छ । बजारमा कोदोको पिठोको माग उच्च रहे पनि उत्पादन बढाउन तथा खेती विस्तार गर्न पर्याप्त ध्यान पुग्न नसकेको उनको भनाइ छ ।
जिल्लाका तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती बढी हुने गरेको छ । तर, पछिल्लो समय किसान तरकारी तथा नगदे बालीतर्फ आकर्षित हुँदा परम्परागत कोदो खेती ओझेलमा पर्दै गएको तिला–५ का वडाध्यक्ष ललित शाहीले बताए ।
तिला गाउँपालिका–१ राराका अगुवा किसान नर रावतले लोपोन्मुख अवस्थामा पुग्न लागेको कोदो खेतीको प्रवर्द्धनमा सम्बन्धित निकायले पर्याप्त चासो नदिएको गुनासो गरे ।
कोदो खेती घट्दै गए पनि बजारमा यसको पिठोको माग भने बढिरहेको छ । स्थानीय बजारमा कोदोको पिठो प्रतिकिलो २०० रुपैयाँमा बिक्री हुने गरेको व्यापारी अर्जुन बुढाले बताए । विशेषगरी आन्तरिक पर्यटकले कोदोको पिठो रुचाउने भएकाले यसको माग बढिरहेको उनको भनाइ छ ।
जिल्लामा उत्पादित रैथाने बाली हराउँदै जान थालेपछि किसानले चिन्ता व्यक्त गरेका छन् । परम्परागत रूपमा कोदो खेती गर्दै आएका पाका पुस्ताले मात्रै यसलाई निरन्तरता दिइरहेका छन् । युवा पुस्ताको कृषि पेसाप्रति घट्दो आकर्षणका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रमसमेत बढेको छ ।
स्थानीय व्यापारीका अनुसार एक दशकअघिसम्म ग्रामीण क्षेत्रका उच्च भेगमा व्यापक रूपमा कोदो खेती हुने गरेको थियो । अहिले खेतीको क्षेत्र र उत्पादन घट्दै गए पनि बजारमा यसको माग भने बढिरहेको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जुम्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको थियो । जिल्लाका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कार्यालयले जनाएको छ ।
बजारमा माग हुँदाहुँदै पनि उत्पादन घट्ने क्रम जारी रहेकाले रैथाने बालीको संरक्षण, खेती विस्तार र युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम आवश्यक देखिएको छ ।
