काठमाडौँ, २६ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान आवश्यकता अनुसार लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय हितका विषयमा अन्य दलहरूसँग संवाद र समझदारी गर्न एमाले सकारात्मक रहेको स्पष्ट पारेका हुन् ।
अध्यक्ष ओलीले देशले अझै पनि विभिन्न गम्भीर चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै लोकतन्त्र र संविधान संकटमा परेको दाबी गरे । उनले जननिर्वाचित सरकारको सट्टा संविधानको मर्म विपरीत अनिर्वाचित शक्ति हाबी भएको आरोप लगाए । समाजमा अराजकता, निषेध र हिंसाको खतरा अझै कायमै रहेको भन्दै उनले त्यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाइरहेको बताए । उनले राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य हस्तक्षेप र वैदेशिक चलखेलको जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । राष्ट्रिय हितको रक्षा गर्न थप चुनौतीहरू देखा परेको भन्दै त्यसको सामना गर्न जिम्मेवार राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष ओलीले देशमा केही पनि प्रगति नभएको भन्दै जबरजस्ती नकारात्मक भाष्य निर्माण गरिएको आरोप पनि लगाए । यस्तो प्रवृत्तिले विशेष गरी युवापुस्तामा निराशा र अन्योल पैदा गरेको भन्दै त्यसलाई चिर्न गम्भीर पहल आवश्यक रहेको उनले बताए । समाजमा फैलिएको भ्रम र द्विविधा हटाउन संविधानका पक्षधर तथा लोकतान्त्रिक शक्तिहरूबीच निरन्तर संवाद हुनुपर्नेमा उनले जोड दिए।
यही सन्दर्भमा अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई न्यूनतम समझदारी र सहकार्यका लागि औपचारिक आह्वान समेत गरेका छन्। उनले एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भए पनि संविधान, लोकतन्त्र र राष्ट्रिय हितजस्ता साझा मुद्दामा मिल्न सक्ने शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए।
पार्टीको आगामी कार्यदिशाबारे प्रस्ट पार्दै ओलीले संविधान मिचिएको वर्तमान अवस्थालाई सुधार्न र मुलुकलाई सही दिशामा लैजान सबै जिम्मेवार राजनीतिक दलहरू साझा दायित्वका साथ एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
