भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताए । “फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो÷भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो”, उनले भने, “साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।” पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेको भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् ।

पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् । “यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन्”, उनले भने, “पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन् ।” उनले यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको बताए ।

पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् ।

पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए ।

“पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन्,” उनले भने, “पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन् ।” उनले पछिल्लो समय पुल अवलोकनका लागि दैनिक दुई–तीन सय जना पुग्ने गरेका बताए ।

महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ । रासस

 


Thali Mobile Pvt.Ltd.