भर्खरै : Sorry, your browser does not support inline SVG.

मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना

मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना

काठमाडौँ, १० असार । देशभर मनसुनी वायु विस्तार हुने क्रम जारी रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

मनसुनको प्रभावका कारण हाल देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ । मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था रहने चेतावनी दिएको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिनको अनुभव हुन सक्ने जनाइएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.