भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

लामिछानेलाई परिवारको जिम्मा, आज काठमाडौं अदालतमा

लामिछानेलाई परिवारको जिम्मा, आज काठमाडौं अदालतमा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । काठमाडौैमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ अदालतमा उपस्थित हुने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरी हिरासतबाट रिहा भएका थिए । उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् ।

लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले बताए ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, मीना गुरूङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिवादी लीला पछाईँले भने धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ । अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

 


Thali Mobile Pvt.Ltd.