का. रोहितले व्यक्तिको सीप, ज्ञान र क्षमता जनताको हितमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
राजनीतिमा अध्ययन, अनुसन्धान र व्यावहारिक अनुभवलाई महत्त्व दिनुपर्नेमा जोड दिनुभयो ।
विदेशी रोजगारीमा युवाको बढ्दो निर्भरता र देशका उद्योगको अवस्थाप्रति चिन्ता व्यक्त गरियो ।
४६औँ नेपालभाषा साहित्य तःमुंज्यामा कथा र कविता विधाका उत्कृष्ट सर्जकलाई पुरस्कृत गरियो ।
दुईदिने सम्मेलनमा साहित्यिक वाचन, सांस्कृतिक प्रस्तुति र विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
भक्तपुर, ८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले व्यक्तिमा भएका सीप, ज्ञान र क्षमतालाई देश र जनताको हितमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । राजनीतिमा लाग्ने व्यक्तिले अरूको भनाइमा मात्रै भर नपरी आफैँ अध्ययन, अनुसन्धान र अनुभवबाट ज्ञान हासिल गर्नुपर्ने उहाँको भनाइ छ ।
भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा शुक्रबारदेखि सुरु भएको ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको शनिबार सम्पन्न समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले राजनीति गर्ने व्यक्ति अनुसन्धानकर्ता पनि हुनुपर्नेमा जोड दिनुभयो । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ आयोजित दुईदिने साहित्य सम्मेलनमा उहाँले राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टी सदस्यताका आधारमा मात्रै नभई उसको योग्यता, ज्ञान, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्ने बताउनुभयो ।
हरेक व्यक्तिको आफ्नै व्यक्तित्वअनुसार सीप र क्षमता हुने उल्लेख गर्दै उहाँले ती क्षमतालाई जनपक्षमा उपयोग गर्न निरन्तर प्रयास गर्नुपर्ने बताउनुभयो । भारतीय साहित्यकार प्रेमचन्द र चिनियाँ साहित्यकार लुशुन कुनै राजनीतिक दलमा आबद्ध नभए पनि देश र जनताको पक्षमा साहित्य सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो ।
साहित्य अध्ययनले विभिन्न देशका जनताको जीवनशैली, कला, संस्कृति, भूगोल र वातावरण बुझ्न सहयोग गर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले स्वदेशी तथा विदेशी साहित्यको निरन्तर अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । नेपालभाषा, नेपाली वा अंग्रेजी जुनसुकै भाषा बोले पनि शुद्ध र शिष्ट रूपमा बोल्न जान्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले युवाविद्यार्थीलाई कुनै न कुनै खेलकुदमा सहभागी भई स्वास्थ्य राम्रो राख्न तथा विद्यालय तहदेखि नै प्राविधिक शिक्षामा दक्ष बनाउनुपर्ने बताउनुभयो । विदेशी रोजगारीमा युवाको बढ्दो निर्भरताप्रति चिन्ता व्यक्त गर्दै उहाँले मानव संसाधन विदेश पठाउनु र भौतिक वस्तु विदेशमा बिक्री गर्नु फरक विषय भएको उल्लेख गर्नुभयो ।
देशका उद्योगहरू निजीकरण तथा बिक्री गरिनु र मित्रराष्ट्रहरूले सहुलियतमा उपलब्ध गराएका सामग्रीको दुरुपयोग हुनुजस्ता कारणले अहिलेको आर्थिक तथा सामाजिक अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । उहाँले राजनीति भनेको देश र जनताको हितमा काम गर्नु, जनताका समस्याबारे छलफल गर्नु र त्यसको समाधानका लागि नेतृत्व गर्नु भएको बताउनुभयो ।
सहकारी ठगीका घटनाबारे चर्चा गर्दै उहाँले जनतालाई वास्तविक सहकारी र ठगी गर्ने सहकारीबीचको भिन्नता बुझाउन राजनीतिक कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले देश गलत दिशातर्फ गइरहेको भन्ने जनमतप्रति चर्चा गर्दै विगत ३५ वर्षदेखि भइरहेका देशहितविपरीतका गतिविधि रोक्न नसकिएको बताउनुभयो ।
उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले २०५४ सालमा ‘एक घर, एक स्नातक’को अवधारणा अघि सारिएको स्मरण गर्दै अहिले भक्तपुरमा ‘एक घर, एक स्नातकोत्तर’को अवस्था देखिनु खुसीको विषय भएको बताउनुभयो । सुवालले प्रतिगमनविरोधी आन्दोलन, दोस्रो जनआन्दोलन र जनपक्षीय संविधान निर्माणका क्रममा नेमकिपाले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
उहाँले भारतीय एकाधिकार पुँजी तथा अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको पार्टीले विरोध गर्दै आएको पनि बताउनुभयो ।सम्मेलनको दोस्रो दिन किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वांङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रमुख अतिथि बिजुक्छेँले कथा र कविता विधामा उत्कृष्ट स्थान हासिल गर्ने सर्जकलाई पुरस्कार वितरण गर्नुभयो । कविता विधामा शकुन्तला महर्जन प्रथम, हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो हुनुभयो । कथा विधामा कमलकेशरी थुयाजू प्रथम, सूर्यनारायण फाँजू द्वितीय, श्रीया पहिजू तृतीय र एलके सुन्दर चौथो हुनुभयो ।
दुई दिनसम्म प्रस्तुत गरिएका विभिन्न सांस्कृतिक विधाका नतिजा केही दिनपछि सार्वजनिक गरिने आयोजक समितिका प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक बलराम गोसाईले जानकारी दिनुभयो । विजयी प्रस्तोताहरूलाई छुट्टै कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने उहाँले बताउनुभयो ।
सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएका थिए । नयाँ पुस्ताका सर्जकले प्रतियोगितात्मक रूपमा सिर्जना प्रस्तुत गरेका थिए भने वरिष्ठ साहित्यकार तथा आमन्त्रित सर्जकले पनि रचना वाचन गरेका थिए । साहित्यिक कार्यक्रमसँगै गीत, संगीत, नाटक, ख्याल, नृत्य र गीतिनाटकजस्ता सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
सम्मेलनको पहिलो दिन तःमुंज्याको मुखपत्रका रूपमा प्रकाशित ‘तःमुंज्या ख्वपौं’ विमोचन गरिएको थियो । हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक पनि सार्वजनिक गरिएको थियो । सोही दिन युवा कवि दामोदर सुवाल, ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तककी लेखिका विणा जोशी र वरिष्ठ नर्स दयालक्ष्मी जोशी (वैद्य) लगायतलाई सम्मान गरिएको थियो ।
नेपाल संवत् ११४६ को अवसरमा आयोजित सम्मेलनको उद्घाटन शुक्रबार सांस्कृतिक गुरु तथा ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गर्नुभएको थियो । नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याउँदै आएको आयोजकले जनाएको छ ।
सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहेको ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याका अध्यक्ष उकेश कवांले जानकारी दिनुभयो ।
