भर्खरै : Sorry, your browser does not support inline SVG.
फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु |

मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिए । उनका अनुसार विगत तीन महिनादेखि पुल निर्माण सुरु गरिएको हो । असी मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर हुने भएको छ । डबल स्पानको उक्त पुल सामान्य पुलभन्दा लामो भएकाले दुईवटा स्पान बनाएर निर्माण गर्न थालिएको हो ।

पुल निर्माणका लागि २०७९ भदौमा लुम्बिनीरप्राकृतिक जेभी काठमाडौँसँग सम्झौता भएको थियो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकैपटक पाँच पुल निर्माणका लागि सम्झौता भएको भए पनि हालसम्म पर्वत खण्डको तमादीखोलामा मात्र पुल निर्माण सम्पन्न भएको छ । दोस्रो पुल निर्माण सुन्दरेखोलामा सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर मिश्रले जानकारी दिए ।

इञ्जिनियर मिश्रका अनुसार रु नौ करोड ५० लाखको लागतमा निर्माण हुने सो पुलको निर्माणअवधि आगामी भदौसम्म छ । निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न भनिएको छ । हालसम्म पुलको एकतर्फका पिलरको काम सम्पन्न गरी अर्कातर्फको भागमा काम भइरहेको छ । समग्रमा अहिलेसम्म १० प्रतिशत जति प्रगति भएको छ ।

उक्त खोलामा पुल निर्माण नहुँदा दुई वर्षअघि बाढीले बगाएर दुई जनाको ज्यान गएको थियो । हिउँदयाममा सहज रूपमा यातायात सञ्चालन हुने भए पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ । यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङका साथै रुकुमका लागि सवारीसाधन आवतजावत गर्दछन् ।

अत्यधिक सङ्ख्यामा र उच्च भारवहन क्षमताका सवारीसाधन सो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबलभन्दा बलियो, टिकाउ उच्च भारवहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको इञ्जिनियर मिश्रको भनाइ छ । पर्वतमा अझै दुई पुल निर्माणको काम बाँकी छ । मोदी गाउँपालिकाको पातीखोला र मोदीखोलामा दुईवटा पुल निर्माण गरिने भएको हो ।

कार्यालय प्रमुख शम्भु आचार्यका अनुसार मोदीखोलामा ६२ मिटर र पातीखोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२–५२ मिटर लामो दुईवटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको उनले बताए ।

उक्त निर्माण कम्पनीले बागलुङको काठेखोलामा पनि मोटरेबल पुल निर्माण गर्न लागेकाले सबै मोटरेबल पुलको लागत रु ४४ करोड १५ लाख रहेको कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ । रासस

 

 


Thali Mobile Pvt.Ltd.